शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

‘द न्यू नर्मल’ : कोभिड–१९ को 'असामान्य' परिस्थितिमा यसरी हुनेछ 'सामान्य' हवाई यात्रा

सुरक्षा प्रबन्धसहित बुद्ध एयरको परीक्षण उडान सम्पन्न (तस्विरमा हेर्नुहोस्)
बिहीबार, ११ असार २०७७, १६ : ३१
बिहीबार, ११ असार २०७७

कोरोनाभाइरसको महामारीले सबै क्षेत्रको गतिविधि ठप्प भएको छ । यो महामारी अझै नियन्त्रणमा आएको छैन, बरु अझै फैलिने क्रममा रहेको छ । नेपालमा पनि एक महिनाको अन्तरमा संक्रमितको संख्या १० गुणाले वृद्धि भएको छ । यस भाइरसविरुद्ध प्रभावकारी खोप नबनेसम्म मानिसको दैनिकी सामान्य अवस्थामा फर्कने सक्ने अवस्था देखिँदैन ।

नेपाल सरकारले तीन महिना लामो लकडाउन गरेर भाइरसको संक्रमणको फैलावटलाई नियन्त्रण गर्ने प्रयास गर्यो । तर, यसरी लकडाउन गर्दा आर्थिक गतिविधि नै ठप्प हुन पुग्यो । यसले दैनिक ज्यालादारी गर्नेदेखि ठूला व्यवसाय सबैलाई प्रभावित गर्यो । लकडाउनको अवधि बढ्दै जाँदा मानिस रोगले भन्दा भोकले मर्ने अवस्था सिर्जना हुन थालेपछि सरकारले अहिले लकडाउनलाई चरणबद्धरुपमा खुकुलो पार्न सुरु गरेको छ ।

लकडाउन खुकुलो भएपनि मानिसको जीवन सामान्य अवस्थामा फर्किसकेको छैन । भाइरसको महामारीको उपस्थितिमा अझै पनि सुरक्षाका उपायहरु अपनाएर दैनिकीलाई अगाडि बढाउनुपर्ने बाध्यात्मक अवस्था छ । यसलाई ‘न्यु नर्मल’ अर्थात् ‘नयाँ सामान्य’ अवस्था भनेर भनिन थालिएको छ ।

लकडाउनको मारमा परेको क्षेत्रमध्ये एक हो, नेपालको वायुसेवा क्षेत्र । अन्य क्षेत्रहरु खुलिसक्दा पनि अहिले आन्तरिक र वाह्य उडानहरु ठप्प छन् । केही उद्धार उडानहरु मात्र भइरहेका छन् । दैनिक करोडौँ क्षति ब्यहोर्नु परिरहेको यो क्षेत्रलाई पनि अब बिस्तारै खोल्नुपर्ने चुनौति रहेको छ ।

तर, भाइरसको संक्रमणको जोखिमका कारण पहिले कै जस्तै उडानहरु सञ्चालन हुनसक्दैनन् । उडान गर्दा सुरक्षाको उपाय आवश्यक हुन्छ । यही सन्दर्भमा नेपालको शीर्ष हवाई सेवा प्रदायक बुद्ध एयरले यो नयाँ परिस्थितिमा कसरी सुरक्षाको उपायहरु अपनाएर उडान सञ्चालन गर्न सकिन्छ भनेर परीक्षण उडान गरेको छ ।

नागरिक उड्डयन प्राधिकरणले उडान सञ्चालनका लागि प्रोटोकल तयार गर्दैछ । त्यही प्रोटोकलमा आधारित रहेर एयरलाइन्सहरुले उडान सञ्चालनको तयारीमा लागेका हुन् । यहीअनुसार बुद्ध एयरले आज परीक्षण उडान गरेको हो । आजको उडानमा सञ्चारकर्मी, बुद्ध एयरका कर्मचारी, नेपाल नागरिक उड्डयन प्राधिकरणका अधिकारीहरु रहेका थिए ।

परीक्षण उडानमा कसरी एक यात्रुले विमानस्थल प्रवेश गरेदेखि विमानमा पालना गर्नुपर्ने नियमहरु देखाइएको थियो । यसमा टर्मिनल भवनभित्र प्रवेश गर्दा तापक्रम जाँच गर्नेदेखि स्वास्थ्यको स्वघोषणा गर्नेसम्मका नियम छन् । यात्रुले स्वास्थ्यको स्वघोषणाको पत्र लिएर काउन्टरमा लगेर बोर्डिङ पास लिनुपर्छ । यात्रुले माक्स लगाउन अनिवार्य गरिएको छ भने सामाजिक दुरी कायम गर्न लगाइएको छ । यात्रुको सुरक्षाका लागि फेसशिल्ड एयरलाइन्स आफैले उपलब्ध गराउने छ जसको मूल्य टिकटमै समावेश गरिनेछ । जहाजमा यात्रुले आफ्नो परिचय खुलाउने अर्को फारम गर्नुपर्नेछ, जुन गन्तव्यमा पुगेर विमानस्थलको डेक्समा छाड्नुपर्नेछ । चालक दललाई सुरक्षा सामग्रीहरु दिइनेछ भने एयरलाइन्सले विमानलाई नियमितरुपमा डिस्इन्फेक्सन पनि गर्ने जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुवास श्रेष्ठ
सुवास श्रेष्ठ

सुवास श्रेष्ठ रातोपाटीका फोटो पत्रकार हुन् ।

लेखकबाट थप