शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा समुदायभित्र छिर्‍यो कोरोना, संक्रमितको संख्या ११ सय नाघ्यो

शुक्रबार, १२ असार २०७७, १६ : ४४
शुक्रबार, १२ असार २०७७

रौतहट । विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरस रौतहटको समुदायमा प्रवेश गरेको छ । भाइरस समुदायमा प्रवेश गरेसँगै जिल्लामा संक्रमितको संख्या ११ सय नाघेको छ । जिल्लामा पहिलोपटक   क्वारेन्टिन बाहिर समुदायमा रहेका ३ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भएको छ ।  बिहीबार ३८ कोरोना संक्रमितमध्ये ३ जना क्वारेन्टिन बाहिर अर्थात समुदायमा घुमिरहेका मानिसमा संक्रमण देखिएको छ । 

गौर नगरपालिका वडा  ५ का २ पुरुष र इशनाथ नगरपालिका ३ का एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको रौतहटका सिडिओ वाशुदेव घिमिरेले बताए । अर्का ३० वर्षीय संक्रमित रौतहटको बोधिमाई नगरपालिकाको बंकुल चोकका पसले  हुन् । 

भारत बिहार मोतीहारी थानाक्षेत्र अन्तरगत कोरहीयाटोला घर भई उनी गौर ५ मा रहेको ससुराली बस्दै आएका थिए । गौरमा भेटिएका  संक्रमितमध्ये ईशनाथ नगरपालिका–२ घर भई गौर ५ बस्दै आएका एक १७ वर्षीय युवक पनि हुन् ।  काठमाडौंमा पीसीआर जाँच गराउँदा उनलाई संक्रमण पुष्टि भएको सिडिओ घिमिरेले बताए ।

तेस्रो संक्रमित ईशनाथ नगरपालिका वडा न ३ घर भई  वडाध्यक्षको सवारी चालाउँदै आएका २५ वर्षीय युवक हुन् । संक्रमण पुष्टि भएका सबैजनालाई गौरीशंकर यादव क्याम्पसमा रहेको आइसोलेसनमा राखिएको छ ।  उनीहरुको कन्ट्रयाक ट्रेसिङसमेत सुरु भएको छ । 

सिडिओ वासुदेव घिमिरेकाअनुसार १७ वर्षीय युवकको परिवारका सदस्यहरूको स्वाब संकलन भइसकेको र अन्य दुईजनाको परिवारको पनि संकलन गरिनेछ । बिहिवार साँझसम्म जिल्लामा कोरोना भाईरस संक्रमितको संख्या १ हजार ७७ रहेकोमा शुक्रवार थप ३८ जनामा संक्रमण पुष्टी भएसंगै संक्रमितको संख्या ११ सय १५ पुगेको छ ।

हाल ८ सय ३० जना जिल्लाका बिभिन्न क्वारेन्टाईनमा रहेका छन् भने कोरोना जितेर घर फर्किनेको संख्या ७ सय १५ पुगेको जिल्ला प्रशासन कार्यालयको तथ्याँकमा उलेख रहेको छ । स्वाब संकलन गरिएका मध्ये ११ सय ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको छ । सिडिओ घिमिरेले समुदायमा रहेका मानिसमा कोरोना संक्रमण देखिनु चिन्ताजनक भएको बताउँदै सजगता अपनाउन जिल्लावासीलाई आग्रह गरेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप