बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

जनकपुरधाम उपमहानगर प्रमुखविरुद्ध वडा अध्यक्षहरुको विरोध प्रदर्शन

शुक्रबार, १२ असार २०७७, १७ : १४
शुक्रबार, १२ असार २०७७

जनकपुर । जनकपुरधाम उपमहानगरपालिकाका नगर प्रमुख लालकिशोर साहले ५ औँ नगरसभा अवैधानिक तरिकाले सम्पन्न गरेको भन्दै असन्तुष्ट वडाध्यक्षहरुले आजदेखि चरणवद्ध सडक संघर्ष सुरु गरेका छन् । असन्तुष्ट वडाध्यक्ष, कार्यपालिका सदस्य र वडा सदस्यहरुको बिरोधका बावजूद साहले घोषितरुपमा नगरसभा गर्न नसकेपनि बहुमतलाई बेवास्ता गर्दै अल्पमतका आधारमा अवैधानिक ढंगले नगरसभा सम्पन्न भएको भन्दै सामाजिक सञ्जालमा पोष्ट गरेपछि वडाध्यक्षहरुले शुक्रबारदेखि चरणबद्द विरोधका कार्यक्रमहरु घोषणा गरेका हुन् । असन्तुष्ट वडाध्यक्षहरुले नगरप्रमुख साहले जनकपुरमा शुक्रबार गोप्यरुपमा नगरसभा गरेको अरोप लगाउँदै त्यसको चर्को विरोध गरेका छन् ।

असन्तुष्ट वडाध्यक्षहरुले जनक चोकबाट विरोध र्यालीको आयोजना गरि नगर परिक्रमा गरेका थिए । जनक चोकबाट निकालिएको विरोध र्याली रामचोक, महावीर चोक, सोनारपट्टी, जानकी मन्दिर, शिवचोक, भानुचोक हुँदै पुनःजनक चोकमा पुगी कोणसभामा परिणत भएका थियो ।

कोणसभामा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर ९ का वडाध्यक्ष परमेश्वर साहले नगरप्रमुख  साहले आफुले गरेको अकुत भ्रष्टाचार लुकाउनका लागि फर्जी हस्ताक्षर गराएर नगरसभा गराएको आरोप लगाए । नगरसभा गराउनका लागि लचकता अपनाए पनि नगर प्रमुखले आफूहरुसँगको वार्तामा हैकमवादी चरित्र देखाएको उनले आरोप लगाए ।

त्यस्तै वडानम्बर ७ का वडाध्यक्ष जानकीराम साहले नगरप्रमुख साहले अवैधानिक तरिकाले नगरसभा सम्पन्न गरेकोले आफूहरुले बाध्य भएर भण्डाफोरसहित सडकबाट आन्दोलन सुरु गरेको बताए । वडा नम्बर ४ का वडाध्यक्ष सुदर्शन सिंहले आफ्नो अवैधानिक नगरसभालाई वैधानिकता प्रदान गर्नका लागि मेयर साहले वडाध्यक्ष तथा वडा सदस्य एवम् कार्यपालिका ससदस्यहरुलाई पैसा खर्चेर किनेको आरोप लगाए ।

वडा नम्बर ५ का वडाध्यक्ष मनोज साहले नगरप्रमुख साहलाई बहुमत साबित गर्न चुनौती दिए ।  यता, असन्तुष्ट वडाध्यक्षहरुले गोप्यरुपमा अवैधानिकरुपमा गरेको नगरसभाबाट पारित गरेका योजना तर्जुमा लगायतका कुराहरु सार्वजनिक नगरेकाले सडक आन्दोलनदेखि अदालतसम्म जाने तयारी गरेका छन् ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप