फागुनमा महाधिवेशन गराउने देउवाको बाचा, बाँकी कार्य कोरोनामा निर्भर
काठमाडौँ । नेपाली काँग्रेसले कोरोना सङ्क्रमणका कारण प्रभावित पार्टीको १४ औँ महाधिवेशन निर्धारित मितिमै गर्नेगरी छलफल अघि बढाएको छ । कोरोना सङ्क्रमणको जोखिमलाई मध्यनजर गरी गत ९ चैतबाट महाधिवेशनका गतिविधि स्थगित गरेको थियो ।
आइतबार पार्टी कार्यालय सानेपामा बसेको पदाधिकारी बैठकमा महामन्त्री पूर्णबहादुर खड्काले कार्यतालिका परिमार्जन गरी असार तेस्रो साताबाट महाधिवेशन गतिविधि अघि बढाउने प्रस्ताव ल्याएका छन् ।
आइतबार पदाधिकारी बैठकमा उक्त प्रस्तावमाथि पार्टीको निर्वाचन कार्यसमितिका सदस्यलाई राखेर काँग्रेस शीर्ष नेताहरुले ३ घण्टा छलफल चलाएको थिए । कोरोनाको बहानामा संस्थापन पक्षले महाधिवेशन सार्ने रणनीति बुनिरहेको भन्दै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्ष सशंकित थियो ।
तर बैठकमा सभापति शेबहादुर देउवाले पार्टीको १४औँ महाधिवेशन ०७७ फागुन ७ गते नै उद्घाटन गरी सफलतापूर्वक सम्पन्न गर्न चाहेको सुनाए ।
२०७८ मा हुने स्थानीय तहको निर्वाचनमा पार्टी केन्द्रित हुनुपर्ने भएकाले महाधिवेशन फागुन ७ गते उता सार्ने पक्षमा नरहेको देउवाले भनाइ थियो ।
महाधिवेशनका लागि दैनिक १८/२० घण्टा काम गरेर भए पनि तोकिएको मितिमा महाधिवेशन सम्पन्न गर्न कार्यतालिका परिमार्जन गरेर जाँदा समस्या नहुने बताएका थिए । तर वरिष्ठ नेता पौडेलले स्थानीय तहसम्बन्धी अधिवेशन पूर्वनिर्धारित समयमा गर्नेगरी अन्य कार्यलातिका मात्र परिमार्जन गर्नुपर्ने प्रस्ताव राखेका थिए ।
निर्वाचन कार्यसमितिका सदस्यहरुले पौडेलेको प्रस्ताव व्यावहारिक हुन कठिनाइ हुने बताएपछि बैठकमा सबै पदाधिकारीले सभापति देउवाको प्रस्तावमा समर्थन जनाएका थिए । महाधिवेशनको कार्यातालिका परिमार्जनमा सबै नेता सहमत भएपछि महामन्त्री खड्काले प्रस्तुत गरेको प्रस्ताव केन्द्रीय कार्यसमितिमा छलफलपछि अनुमोदन गराउने निष्कर्षमा पदाधिकारी बैठक पुगेको हो ।
प्रस्तावित परिमार्जित तालिका र जटिलता
असार मसान्तभित्र अन्तरिम पार्टी संरचना समायोजन गरी साउन मसान्तभित्र क्रियाशील सदस्यता वितरण र नवीकरण सक्ने परिमार्जित कार्यतालिकामा उल्लेख छ । अहिलेसम्म ५२ जिल्लामा मात्र अन्तरिम पार्टी संरचना समायोजनको काम पूर्ण रुपमा सकिएको छ ।
यसअघि क्रियाशील सदस्यता वितरणका सम्बन्धमा जिल्ला स्तरीय क्रियाशील सदस्यता प्रारम्भिक छानबिन समितिमा उजुरी र नवीकरण उपर उजुरी दिने अन्तिम अवधि २०७७ जेठ १५ गतेसम्म निर्धारण गरिएको थियो ।
परिमार्जित कार्यतालिकामा भादौ मसान्तभित्र क्रियाशील सदस्यताको सूची केन्द्रमा पठाउने, असोज मसान्तभित्र क्रियाशील सदस्यतामाथि उजुरी र कात्तिक मसान्तभित्र क्रियाशील सदस्यतामाथि पुनरावेदन दिन सकिने उल्लेख छ ।
यस्तै मङ्सिर २५ भित्र क्रियाशील सदस्यताको विवाद टुङ्ग्याउने र मङ्सिर मसान्तभित्र क्रियाशील सदस्यताको सूची निर्वाचन समितिलाई बुझाउने भनिएको छ । काँग्रेसमा यसलाई महाधिवेशनको जटिल प्रक्रियाका रूपमा हेरिन्छ ।
किनभने क्रियाशील सदस्यता नवीकरण र वितरण गरिसकेपछि त्यसमा उत्पन्न हुने विवादको व्यवस्थापन गर्न निकै समय लाग्छ ।
यतिबेला कोरोनाको महामारीले नयाँ क्रियाशील सदस्यता वितरणमा थप जटिलता थपिदिएको छ ।
काँग्रेसमा प्रत्येक वडामा नयाँ क्रियाशील सदस्यता वितरणका लागि त्यो वडाभरिका सबै क्रियाशील सदस्यलाई भेला गराएर को–कोलाई दिने भनेर छलफल गराउनुपर्छ । यता महाधिवेशनसम्म पुग्ने ६ वटा तहमा अधिवेशन गर्नुपर्ने कुरा पनि त्यतिकै चुनौती छ ।
काँग्रेसको नयाँ पार्टी संरचनाअनुसार स्थानीय स्तरमा मात्र ५ वटा अधिवेशन हुन्छन् । त्यसपछि मात्र सातवटा प्रदेशको अधिवेशनको प्रक्रिया सुरु हुन्छ र महाधिवेशनका लागि फागुन ७, ८, ९ र १० को मितिमा पुगिन्छ ।
त्यसका लागि वडादेखि प्रदेशसम्म अधिवेशनको मिति परिमार्जन गर्नुपरेको छ ।
सोहीअनुसार ०७७ पुस ६ मा वडा अधिवेशन, पुस ८ मा गाउँ र नगरपालिका अधिवेशन, पुस ११ मा प्रदेश सभा क्षेत्रीय अधिवेशन, पुस १३ मा (प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन) एक मात्रै प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेकामा जिल्ला अधिवेशनको मिति तोकिएको छ ।
यस्तै एकभन्दा बढी प्रतिनिधि सभा निर्वाचन क्षेत्र रहेका जिल्लाको अधिवेशन पुस १६ गते र प्रदेश अधिवेशन माघ ६ गते गर्नेगरी परिमार्जन प्रस्ताव ल्याइएको छ ।
काँग्रेसले यसअघि गाउँ र नगर वडा अधिवेशन २०७७ साल मङ्सिर ९ गते, गाउँ र नगरपालिका अधिवेशन मङ्सिर ११ गते, प्रदेश सभा क्षेत्रीय अधिवेशन मङ्सिर १५ गते, प्रतिनिधि सभा क्षेत्रीय अधिवेशन मङ्सिर १७ गते, जिल्ला अधिवेशन मङ्सिर २५ गते, प्रदेश अधिवेशन पुस १५ गतेका लागि तय गरिसकेको थियो ।
बाँकी कार्य कोरोनामा निर्भर
काँग्रेस केन्द्रीय समिति सदस्य रमेश लेखक परिमार्जित कार्यतालिका त्यति व्यावहारिक नभएको बताउँछन् ।
उनले भने, ‘यस्तो कोरोनाको महामारीमा क्रियाशील सदस्यता कसरी बाँढ्ने ? मूल समस्या यहाँनिर छ । तर भोलि केन्द्रीय कार्यसमितिमा यसबारे व्यापक छलफल हुन्छ । फागुनमा महाधिवेशन गर्ने कुरामा पार्टीभित्र एक मत भएकाले केही सहज हुने भने देखिन्छ ।’
यता केन्द्रीय सदस्य डा. मिनेन्द्र रिजालले अहिलेको प्रविधिलाई प्रयोग गरेर कोरोनाबाट सुरक्षित हुँदै काम अघि बढाउन सकिने बताए ।
उनले भने, ‘महाधिवेशन गर्ने हामी सबैको जिम्मेवारी हो । अहिलेको प्रविधिलाई प्रयोग गरेर कोरोनाबाट सुरक्षित हुँदै काम अघि बढाउनुपर्छ ।’ यसरी जाँदा अझै पनि समयमा महाधिवेश गर्न सकिने उनको बुझाइ छ ।
आइतबारको पदाधिकारी बैठकमा सहभागी नेता रिजालले भने, ‘समयमा अधिवेशन गर्नुपर्छ । अधिवेशनले पार्टीलाई पुनर्जीवन दिन्छ । अहिले पनि गर्न सकिन्छ । काम गर्दागर्दै कोरोनाको कारण केही कठिनाइ आए त्यो कठिनाइलाई त्यहीँ व्यवस्थापन गर्दै अघि बढ्नुपर्छ ।’
निर्वाचन समितिका संयोजक राधेश्याम अधिकारीले कोरोनाको आगामी प्रभावले तोकिएको मितिमा महाधिवेशन हुने कुराको निर्धारण गर्ने बताए ।
अधिकारीले भने, ‘क्रियाशील सदस्यता बाँड्ने काम कोरोनासँग प्रत्यक्ष सम्बन्धित भएर आउँछ । कोरोना बढ्ने घट्ने के हुन्छ, त्यसमा निर्भर हुन्छ । अहिले तीन चार महिना कोरोनाको कारणले सबै कुरा रोकिएको हो । कोरोना आगामी दिनमा कस्तो भएर जान्छ । कसैले भन्न सक्ने अवस्था छैन ।’
दशैँसम्म पनि कोरोनाले अहिलेको भन्दा खराब स्थिति निम्तियो भने आफूहरुलाई काम गर्न गाह्रो हुने उनले बताए ।
अधिकारीले भने, ‘त्यस्तो अवस्था आएन भने फागुन ७ गतेलाई डेटलाइन बनाएर काम गर्छौं । हिजोको बैठकमा हामीले गर्न सकेका काम कारबाही र हाम्रा कमजोरी बैठकमा सुनायौँ । उहाँहरुले (नेता) त्यसलाई हामी सम्बोधन गर्छौं भन्नुभएको छ । भोलि बस्ने केन्द्रीय समिति बैठकको डेटलाइनमा काम हुन्छ ।’
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
दीपेश पुन र नवीन अछामी कारागार चलान
-
दीपेश पुन छुटाउन ऋण खोज्दै साथी, भन्छन्– ४ लाख धरौटी जुटाउन सकेनौँ, कसैले ऋण पत्याए हुन्थ्यो
-
सिरियामा आइएसको आक्रमणमा २८ जनाको मृत्यु
-
आगो निभाउने क्रममा जलेर महिलाको मृत्यु
-
‘फास्ट ट्रयाक’का २ वटा सुरुङमार्ग २ महिनाभित्र ‘ब्रेक थ्रु’ हुने
-
इलाममा करेन्ट लागेर एक जनाको मृत्यु