शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

म तिम्रो सपना पूरा गर्ने छैन

शुक्रबार, १९ असार २०७७, ०७ : ३७
शुक्रबार, १९ असार २०७७

तिम्रो सपना फुल्ने टाकुरादेखि
धेरै तल थियो  त्यो अन्तिम पदचिह्न
जहाँसम्म तिम्रा उमेरका पाइलाहरु
उक्लिन सकेँ ।

तिम्रो सपना र धोका बीचको दूरत्व नाप्न
मेरा तरुण पाइलाहरुलाई
उत्तरदायित्वका बोझिला जुत्ता पहर्याउन
अस्वीकार गरिरहेछु ।
हो बाउ !
म तिम्रो सपना पूरा गर्ने छैन ।

तिम्रो वीर्यमा मेरो जीवनको सूत्र
अनि नाक नक्साको वंशाणुसँगै
जात, धर्म पनि आएको हो
तर वीर्यमा सपना हस्तान्तरण हुन सक्दैन
जीवन जस्तै सपना पनि निजी हुन्छ
नितान्त निजी ।

सृष्टिले आफूलाई अभिव्यक्त गर्नु भनेको
  एउटा बिजबाट जीवन
प्रस्फुटित हुनु हो
तर
त्यो जीवनको मालिक्याइँ
न माटोको हुन्छ
न त त्यो पैतृक वृक्षको ।

एउटा वृक्षले आफ्नो मञ्जरीलाई
  दिन सक्ने नै छत्रछायाँ हो
  मौलाउन आफ्ना पातहरु खसाएर
  पोषण दिनसक्ने हो
  अनि आफ्ना हाँगाहरुमा
  अधिकारका केही जुरेलीहरुलाई
आशाका गुँड बनाउन दिन सक्ने हो
तर त्यो मञ्जरीलाई जरा गाँजेर
  बाँच्ने सिद्धान्त बलजफ्ती गर्न सक्दैन ।
हो ! त्यो मञ्जरी
त्यही वृक्षको विस्तार हो
तर जीवनको होइन
सपनाको होइन
ऊ पृथक छ, स्वच्छन्द छ
आफ्नै व्यक्तित्व लिएर आएको छ
छुट्टै अस्तित्व लिएर उभिएको छ ।

अनि एउटा वृक्षले
आफ्नो मञ्जरीलाई
आफूू हुनु दिन नै
निस्वार्थ प्रेम हो
अनि एउटा मञ्जरी
आफ्ना जराहरुमा उभिनु सक्नु
वृक्षको सार्थकता हो ।

तसर्थ
ऐ बाउ !
म तिम्रो सपना पूरा गर्ने छैन ।

–प्रभात ‘चिसो’ राई

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा