बुधबार, ०५ वैशाख २०८१
ताजा लोकप्रिय

लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति

शुक्रबार, १९ असार २०७७, १४ : ५९
शुक्रबार, १९ असार २०७७

काठमाडौं । लकडाउनका कारण पर्यटन तथा हवाई क्षेत्रमा ३४ अर्ब बराबरको क्षति भएको एक अध्ययनले देखाएको छ ।  नेपाल पर्यटन बोर्ड र नेपाल नागरिक उड्डयन प्राधिकरणले गरेको अध्ययनले लकडाउन सुरु भएपछि आजसम्म ३४ अर्ब क्षति भएको देखाएको हो । सरदर प्रतिमहिना १० अर्ब कारोबार मूल्यको प्रत्यक्ष क्षति भएको अध्ययनले देखाएको छ । सरकारले केही सेवा क्षेत्र खुला गरेपनि लकडाउनको अवधि साउन ७ गतेसम्म बढाएपछि अझै ७ अर्बको नोक्सानी बढ्न सक्ने अनुमान गरिएको छ ।

पर्यटन मन्त्रालयले पर्यटन क्षेत्रका कर्मचारी तथा पुनकर्जाका लागि ५ प्रतिशत ब्याजदरमा कोषबाट ऋण दिने व्यवस्था गरिएको जनाएको छ । लकडाउनको अवधिमा मन्त्रालयबाट भएका कार्य प्रगतिहरुको विषयमा जानकारी दिन आयोजित पत्रकार सम्मेलनमा दिइएको जानकारीअनुसार होटलका लागि भ्याट दाखिला गर्ने समय २ महिनाबाट बढाएर चार महिना पु¥याइएको छ ।

मन्त्रालयले हवाई जहाज पार्किङ शूल्कमा ७५ प्रतिशत, बहाल आयमा छुट र इजाजत तथा नविकरण दस्तुरमा लकडाउन अवधिको ५० प्रतिशत छुट दिन सरकारलाई सिफारिस गरेको छ । लकडाउनको अवधिमा विभिन्न विमानस्थलहरुमा सन्तोषजनक कार्यप्रगति भएको मन्त्रालयले जनाएको छ ।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा ३ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ९१ प्रतिशत काम भएको छ । यस्तै पोखरा अन्तर्राष्ट्रिय विमानस्थलमा लक डाउनको अवधिमा ९ प्रतिशत थप भौतिक प्रगति भइ अहिलेसम्म ५९ प्रतिशत प्रगाति भएको बताएको छ । त्रिभुवन विमानस्थलमा एप्रोन निर्माण, धावनमार्ग र रनवे निर्माण, टर्मिनल भवन निर्माण सम्पन्न भएको मन्त्रालयले जनाएको छ । निजगढ विमास्थल निर्माण क्षेत्रभित्रका रुख बुट्यानहरुको छपानका लागि रुख विरुवा गणनाको काम सुरु भएको छ । 

मन्त्रालयले ४१ किलोमिटर पदमार्ग, विभिन्न क्षेत्रमा फुटपाथ निर्माण, भ्यूटावर निर्माण सम्पन्न गरेको छ । यस्तै एकिकृत विद्युतीय सञ्जाल सम्बन्धि एप्लिकेसन निर्माणको काम पनि सकिएको छ । मध्यपूर्व र युरोप लगायत विभिन्न १७ मुलुकबाट मार्च २४ बाट ३० सम्म नेपाल वायुसेवा निगम लगायतका अन्य वायुसेवाहरुबाट २ सय १४ उडानमार्फत १६ हजार ६ सय ७२ नेपालीलाई उद्धार गरिएको छ । नेपालमा अलपत्र परेका १२ हजार ४ सय ८ जना विदेश प्रस्थान गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप