शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

खुमलटारमा प्रचण्डको ब्रिफिङ : ओलीले पार्टी विभाजन गर्छु भन्नुभयो !

शुक्रबार, १९ असार २०७७, २२ : ०३
शुक्रबार, १९ असार २०७७

काठमाडौं । सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष तथा प्रधानमन्त्री केपी ओलीले आफूले कुनैपनि पद नछोड्ने बरु पार्टी नै फुटाउने अडान राखेका छन् ।

शुक्रबार अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसँगको संवादमा ओलीले यस्तो अडान दोहोर्‍याएका हुन् । 

ओली, प्रचण्ड, विष्णु पौडेल र जनार्दन शर्माबीच बालुवाटारमा भएको छलफलमा प्रचण्डले विविध कारण देखाउँदै दुवै पद छोड्न आग्रह गरेका थिए । 

बालुवाटारमा ओलीसँगको भेटवार्तापछि आफ्नै निवास खुमलटारमा केही सचिवालयका नेताहरुलाई बोलाएर प्रचण्डले भेटवार्ताबारे ब्रिफिङ गरेका थिए । त्यसक्रममा उनले कुनै सहमति हुन नसकेको नेताहरुलाई बताएका थिए ।  

प्रचण्डको ब्रिफिङलाई उदृत गर्दै वरिष्ठ नेता झलनाथ खनालले रातोपाटीसँग भने, ‘प्रचण्डले ओलीजीलाई दुवै पदबाट राजीनामा दिनुस्, पार्टीलाई मार्गदर्शन गर्नुस् भन्नुभयो । तर केपी ओलीले म दुवै पदबाट कुनैपनि हालतमा राजीनामा दिन्न बरु म आफै पार्टी विभाजन गर्छु भन्नुभयो ।’


यसअघि बिहीबारको स्थायी समिति बैठकले पार्टीभित्रको विवाद साम्य पार्न बैठक नै रोकेर दुई नेताबीच सहमति खोज्न समय दिइएको थियो । 

नेताहरुबीच विवाद कायमै रहेका बेला प्रम ओलीले बिहीबार स्थायी समिति बैठक र नेताहरुलाई छल्दै संसद अधिवेशन अन्त्य गर्ने निर्णय गरेका थिए । बिहीबार भएको दुई नेताबीचको कुराकानीमा पनि ओलीले दुवै पद नछाड्ने आवश्यक परे अरु विषयमा भने छलफल गर्ने बताएका थिए ।

मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति भण्डारीले बिहीबार दिउँसो संघीय संसद्को दुवै सदनको अधिवेशन अन्त्य गरेसँगै नेकपा स्थायी कमिटी बैठक पनि २ जनाले बोलेर स्थगित गरिएको थियो । 

स्थायी समिति बैठक शनिबार पनि बैठक बस्दैछ । त्यसअघि पुन ओली र प्रचण्डबीच सहमतिको प्रयास गरिने प्रचण्डनिकट स्रोतले जनाएको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप