बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज ११ अन्तर्राष्ट्रिय उडान

शनिबार, २० असार २०७७, ११ : २७
शनिबार, २० असार २०७७

विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि आज पनि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट ११ अन्तर्राष्ट्रिय उडान हुँदैछन् । यी उडनमध्ये नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) र हिमालय एयरलाइन्सका जहाज अवतरण हुने तालिका छ भने बाँकी अन्य एयरलाइन्सको काठमाडौँ विमानस्थलमा अवतरण गरेर पुनः फर्कने जनाइएको छ । 

नेपाल एयरलाइन्सका दुई जहाज साउदी अरेबियाको रियाद र दमामबाट आज बिहान काठमाडौँ अवतरण गरेका छन् । आजै नेपाल एयरलाइन्स दोहा र क्वालालम्पुर प्रस्थान गर्नेछन् ।

कुवेतबाट नेपाली लिएर आएको हिमालय एयरलाइन्स पनि बिहान काठमाडौँ आइपुगेको विमानस्थलले जनाएको छ । सोही एयरलाइन्सको जहाज आज राति कतारको दोहा र आबुधाबी उड्ने तालिका छ । 

यस्तै टर्किस एयरलाइन्स आज राति ९ बजे काठमाडौँ विमानस्थल अवतरण गरेर राति १०ः३० बजे इस्तानबुल फर्कने विमानस्थलले जनाएको छ । आजै मध्याह्न कतार एवरवेजले दोहा र जजीरा एयरवेजले कुवेतबाट नेपाली काठमाडौँ ल्याउनेछन् ।

अन्तर्राष्ट्रिय विमानस्थलमा शुक्रबार पनि विभिन्न मुलुकबाट नेपालीको उद्धारका लागि ११ अन्तर्राष्ट्रिय उडान भएका थिए । ती उडानबाट कूल ९१८ यात्रु नेपाल भित्रिएको विमानस्थलले जनाएको छ । 

कोभिड–१९ महामारीका कारण विभिन्न मुलुकमा अलपत्र नेपालीको चार्टर्ड उडान गरी नेपाल ल्याउन नेपालको तर्फबाट नेपाल एयरलाइन्स र हिमालय एयरलाइन्सले दैनिक पाँचदेखि छ वटासम्म उडान गरिरहेका छन् भने कतार एयरवेज, जजीरा एयरवेज, एयर अरेबिया, टर्किसलगाय  विदेशी एयरलाइन्सले नेपालमा चार्टर्ड उडान गरिरहेका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप