बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

सूर्योदयको देशः जापान

सोमबार, २२ असार २०७७, १४ : ३०
सोमबार, २२ असार २०७७

जापान एसियाको सबैभन्दा धनी र विश्वकै विकसित राष्ट्रहरु मध्ये एक हो । यो प्रशान्त महासागरमा एसियाको पूर्वी भागमा रहेको छ । जापान मुख्य चार टापुले बने पनि त्यहाँ अन्य हजारौँ स–साना टापुहरु रहेका छन् । यसको क्षेत्रफल करिब ३७७,८३७ वर्ग किलोमिटर रहेको छ ।  जापानी भाषामा जापानलाई दाई निहोन वा निप्पोन भनिन्छ । यसको अर्थ ‘सूर्यको उत्पत्ति भएको ठाउँ’ हो । त्यही भएर जापानलाई सूर्योदयको देश पनि भनिन्छ । जापानको राष्ट्रिय झण्डामा पनि सेतो पृष्ठभूमिमा रातो सूर्यको नक्सा रहेको छ ।

जापानको सबैभन्दा ठूलो टापु होन्सु टापु हो । यो जापानको मुख्य टापु पनि हो । यहाँ जापानको जम्मा जनसंख्याको १÷३ भाग मानिस बसोबास गर्छन् । होकाइडो जापानको दोस्रो ठूलो टापु हो । यो उत्तरी भागमा अवस्थित छ । होकाइडो र होन्सु टापुलाई सानो सुगारु नालाले छुट्याएको छ । यो दुई टापुलाई अहिले संसारकै सबैभन्दा लामो सुरुङ्ग साइकेन सुरुङ्गमा रेलले जोडेको छ । त्यस सुरुङ्गको लम्बाई ५३.८ किलोमिटर रहेको छ ।

चार टापुहरु मध्ये सबैभन्दा सानो  टापु सिकोकु हो । यसलाई होन्सु टापुबाट जमिनमा आएको समुद्रले छुट्याएको छ । यो दुई टापुहरुलाई अवाजी टापु भएर जाने दुईवटा झोलुङ्गे पुलले जोड्छ । ती दुई पुलहरु मध्येको आकासी काइक्यो संसारकै सबेभन्दा लामो झोलुङ्गे पुल हो । यसको लम्बाई १.९९ किलोमिटर रहेको छ । यसको निर्माण  सन् १९९० मा पूरा भएको थियो । दक्षिणमा रहेको टापुलाई क्यासु भनिन्छ । यो जापानको दोस्रो धेरै जनसंख्या भएको टापु हो ।

हिमालय प्रदेश :

माउन्ट फुजियामा  https://upload.wikimedia.org

जापानको धेरै भागमा अग्लो हिमश्रृङ्खला रहेको छ । मुख्य खोलाको किनार र समुद्र तटमा केही समथर जमिन भएपनि धरैजसो भागमा अग्ला हिमालहरु र गहिरो उपत्यकाहरु पाइन्छन् । हिमश्रृङ्खला उत्तरदेखि दक्षिणतिर फैलिएको छ । केही स–साना हिमश्रृङ्खलाहरु भने पूर्वदेखि पश्चिमतिर फैलिएको पनि पाउन सकिन्छ । जापानको सबैभन्दा अग्लो हिमाल माउन्ट फुजियामा  (१२ऽ३८९.२ फीट/३,७७६ मिटर) हो । यो एउटा निष्क्रिय ज्वालामुखी पनि हो । पछिल्लो पटक सन् १७०७ मा यो विस्फोट भएको थियो । यहाँ जाडो मौसममा हिँउ पर्ने गर्छ । धार्मिक दृष्टिकोणमा पनि यो हिमाललाई जापानमा निकै महत्वपूर्ण मान्ने गरेको पाइन्छ । हजारौँ मानिस हरेक वर्ष यो हिमाल चढ्ने गर्छन् । जापानका धेरैजसो हिमालहरु ज्वालामुखीले नै बनेका छन् । करिब २०० वटा हिमालहरु ज्वालामुखीले बनेका छन् । ती मध्ये ५० त अहिले पनि सक्रिय रहेका छन् । तिनीहरु जुनै पनि बेला विस्फोट हुन सक्छन् ।

भूकम्प जाने क्षेत्र :

जापानको उत्तरमा रहेका टापुहरु संसारकै सबैभन्दा खतरनाक भूकम्प जाने क्षेत्रहरु हुन् । त्यहाँ हरेक दिन करिब ३ वटा भूकम्प जाने गर्छ । तर तिनीहरु हल्का हुने भएकोले धरै मानिसले यसबारे थाहा नै पाउँदैनन् । कहिलेकाहीँ भने त्यहाँ शक्तिशाली भूकम्प नै जाने गर्छ । सन् १९२३ मा राजधानी टोकियोमा गएको शक्तिशाली भूकम्पले करिब १५०,००० मानिसको मृत्यु भएको थियो ।

जनसंख्या :

जापानलाई ४७ सरकारी भागमा विभाजन गरिएको छ । जहाँ करिब १२ करोड ६५ लाख (सन् २०१८ को तथ्यांकअनुसार) मानिसहरु बसोबास गर्छन् । धेरै जसो मानिसहरु सहरी र तटीय क्षेत्रमा बसोबास गर्ने गरेको पाइएको छ ।

राजधानी टोकियो जापानको सबैभन्दा ठूलो सहर हो । त्यहाँको सबैभन्दा ठूलो व्यापारिक केन्द्र पनि भएको कारणले गर्दा त्यहाँ ८.१४ लाख मानिस बसोबास गर्ने गर्छन् । योकोहामा जापानको दोस्रो ठूलो सहर हो । जसको जनसंख्या करिब ३.५ लाख रहेको छ । अरु ७५ सहरहरुमा ६.५० लाख मानिसहरु बसोबास गर्ने गरेको पाइएको छ । बाँकी जनसंख्या जापानका अन्य क्षेत्रहरुमा फैलिएर रहेका छन् ।

भाषा :

जापानको राष्ट्रिय भाषा जापानी हो । यसलाई धेरै लिपीमा लेख्न सकिन्छ । पहिलोलाई कान्जी भनिन्छ । जुन चीनिया भाषामा लेखिन्छ । जापानी भाषालाई हिराकाना र काटाकाना लिपीमा पनि लेख्न सकिन्छ । जापानका मानिसहरु कपडा तथा कागजमा लेख्न निकै माहिर हुन्छन् । यस्तो कलाको टोकियोमा छुट्टै संग्राहलय नै राखिएको छ ।

उद्योग र कृषि

जापान एक सफल औद्योगिक राष्ट्र हो । जापानलाई जहाज, स्टिल गाडीको उत्पादनमा संसारकै सफल राष्ट्र मानिन्छ । यहाँबाट धेरै विद्युतीय समानहरु जस्तै टेलिभिजन, क्यामारा र घडी पनि निर्माण गरिन्छ ।

त्यहाँका किसानहरुको मुख्य उत्पादन भनेको धान हो । कृषिजन्य क्षेत्रफलको करिब ३ भागमा धानको उत्पादन गरिन्छ । गहूँ र जौं पनि त्यहाँको मुख्य उत्पादन रहेको छ । जापानका मानिसहरु धेरै माछा पनि खाने गर्छन् । त्यहाँ संसारकै सबैभन्दा ठूलो माछाको उद्योग रहेको छ ।

जापानको इतिहास :

जापानको इतिहासको बारेमा कोजिकी  नामक कितापमा लेखिएको छ । यो किताप सन् ७१२ मा लेखिएको थियो । यस कितापमा जापानको धर्म सिन्टोका किम्बदन्तीहरु समावेश गरिएको छ । यस कितापका अनुसार घामको सन्तान जिन्मुले इशापूर्व ६६० मा जापानको स्थापना गरेका थिए ।

Title Photo: https://www.state.gov

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप