शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

नुवाकोट- टोलटोलमा पुगेर पढाउँदै शिक्षक

मङ्गलबार, २३ असार २०७७, १३ : ४६
मङ्गलबार, २३ असार २०७७

कोरोनाका कारण बन्द शैक्षिक संस्थाहरु लामो समयदेखि नखुलेपछि शिक्षकहरु टोलटोलमा पुगेर विद्यार्थी भेला गरी पढाउन थालेका छन् । 

रेडियो तथा अनलाइनबाट कक्षा सञ्चालन सबैतिर प्रभावकारी नहुने देखिएपछि कम्तीमा हप्तामा एक पटक टोलटोलमा पुगेर पठनपाठन गराउन थालिएको शिक्षकले बताएका छन् । 

विद्यालय सञ्चालन हुन नसक्दा घरमै बसिरहेका विद्यार्थीलाई थोरै भए पनि शैक्षिक वातावरण उपलब्ध गराउन गत सातादेखि टोलटोलमा शिक्षा कार्यक्रम लिएर अध्यापन गराइएको पञ्चकन्या गाउँपालिका –२ कविलासको राष्ट्रिय माविका शिक्षक रामेश्वर कुइँकेलले बताए ।  विद्यालयले आफ्ना विद्यार्थी आउने क्षेत्रलाई समेटी नौ  केन्द्र बनाएर पायक पर्ने विद्यार्थीलाई  हप्तामा एक दिनको दरले पठनपाठन गराउन थालेको हो ।

सदरमुकाम नजीकैको  अजिङ्गरे माविले पनि गाउँगाउँमा शिक्षक खटाएको छ । विदुर नगरपालिका– १३ स्थित सो माविले ६  समूह बनाएर शिक्षक खटाएको प्रधानाध्यापक मुकुन्द नेपालले बताए ।  विद्यार्थीहरुको तथ्याङ्क सङ्कलन गरी असार पहिलो सातादेखि नै समूह बनाएर शिक्षकलाई टोलटोलमा पठाएको नेपालको भनाइ छ । ‘६ वटा क्लस्टरमा २५ वटा टोल रहेका छन् । नगरपालिका भए पनि दुर्गम छ । मोटरसाइकलसमेत नजाने टोलहरु पनि उत्तिकै छन् । तैपनि विद्यार्थीसँग विद्यालयको कनेक्सन गराउने कार्य गरिरहेका छाँै’, प्रअ नेपालले भने। 

 विद्यार्थीको तथ्याङ्क संकलन गर्दा पाँच विद्यार्थीका घरमा रेडियो टिभी केही नभएको, ६४ विद्यार्थीका घरमा रेडियो मात्र भएको, ६४  विद्यार्थीका घरमा टिभी मात्र भएको, इन्टरनेटको पहुँच विद्यार्थीसँग मात्र भएको र कम्प्युटरसहितको सुविधा एक  विद्यार्थीसँग मात्र भएपछि टोलटोलमा पुग्नाको विकल्प नभएको प्रधानाध्यापक नेपालले बताए । 

 लामो समयको बन्दाबन्दीको कारण शैक्षिक संस्था ठप्प छन् । विद्यालय बन्द भएपछि विद्यार्थीको भविष्यप्रति अभिभावकमा चिन्ता थपिन थालेका बेलामा थोरै भए पनि शैक्षिक गतिविधि सञ्चालन हुनाले विद्यार्थीलाई सहज भएको अभिभावकको भनाइ छ । विद्यार्थीको हातमा पुगेको नयाँ पाठ्यसामग्रीअनुसार गृहकार्य गर्न लगाउने, सामान्य निर्देशन दिनेजस्ता कार्य सञ्चालन भइरहेको विद्यालयले जनाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप