शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

सडक विस्तारमा नेपाली सेनाको अवरोध

सोमबार, २९ असार २०७७, १५ : १०
सोमबार, २९ असार २०७७

भक्तपुर । नेपालका धेरै स्थानमा सडक निर्माणको कार्यमा सक्रिय नेपाली सेनाले भक्तपुरमा भने समन्वय नगर्दा वर्षौदेखि स्थानीयहरु मारमा परेका छन् । सेनाले समन्वय नगर्दा भक्तपुर नगरपालिका वडानम्बर १० हुँदै चाँगुनारायण नगरपालिका वडा नम्बर ५ छालिङ जाने सडक विस्तारमा अवरोध भएको छ ।  सो स्थानमा नेपाली सेनाको सैनिक प्रतिष्ठान खरिपाटीले लगाएको तारबार नहटाइदिँदा सडक चौडा गरेर विस्तार गर्न अवरोध पुगेको हो ।

‘जनप्रतिनिधि निर्वाचित भएर आएदेखि सडक मापदण्डभित्र पर्ने करिब २ मिटर इँटाको पर्खाल र ४ सय मिटर काडेँतार हटाउन पटक–पटक प्रयास गर्दापनि सकिएन’, छालिङ्गका स्थानीय रामहरी थापाले रातोपाटीसँग गुनासो गरे ।
चाँगुनारायण नगरपालिकाको सडक चौडा गर्ने मापदण्ड अनुसार उक्त सडक ६ मिटरको हुनेछ । जसमा सडकको मध्यभागबाट दायाँतर्फ ३ र बायाँ ३ गरेर ६ मिटरको हुनुपर्दछ । 

सैनिक प्रतिष्ठानबाट छालिङ्गतर्फ जादाँ बायाँतर्फ भक्तपुर नगरपालिका वडा नम्बर १० पर्दछ भने दायाँ चाँगुनारायण नगरपालिका वडा नम्बर ५ पर्दछ । चाँगुको वडानम्बर ५ तर्फ भने नेपाली सेनाको प्रतिष्ठानको सुरक्षा पर्खाल छ । करिब ५० वटा रुख, काडेँतार र इटाको पर्खाल सेनाको जमिनतर्फ पर्दछ । 

दशकौंदेखि गाउँ जाने बाटो विस्तार गर्न सेनाले रोकावट गर्दा सडक साँघुरो भएर दुर्घटना समेत हुने गरेको स्थानीहरुको भनाइ छ । चाँगुनारायण नगरपालिकाले सैनिक प्रतिष्ठान, सैनिक मुख्यालय हुँदै रक्षा मन्त्रालयसम्म पटक पटक पत्राचार गर्दा समेत सडक विस्तार हुन नसकेको नगरपालिका निकट स्रोत बताउँछ । 

घुमाउरो र साँघुरो सडकमा दैनिकजसो मोटरसाइकल दुर्घटना हुने गरेको छ । केही दिन अगाडिमात्र उक्त सडक खण्डमा भएको दुर्घटना एक युवकको मृत्यु भएको थियो । 

सेना र स्थानीयबीच आरोप–प्रत्यारोप 

सडक विस्तार गर्न पर्खाल लगाउने कार्य छालिङ्गबाट हुँदै आइरहेको छ । तर, केही परबाट भने उक्त कार्य हुन सकिरहेको छैन । भक्तपुर नगरपालिका वडा नम्बर १० तर्फका स्थानीयहरु भन्छन्, ‘पहिला सेनाले आफ्नो भागको मापदण्ड छोडोस् अनि हामी दिन्छौं । ’ सेनाले भने आफ्नो प्रतिष्ठानले मात्र भनेर नहुने भन्दै मुख्यालयतर्फ देखाउँदै आएको छ । सडक विस्तारका लागि विगतदेखि नै सक्रिय एक जनाले भने ‘यो कार्यका लागि सेना सकारात्मक नै छैन, कहिले के कहिले के भनेर पछि हट्दै आएको छ ।’

पछिल्लो समय भने सेनाले आफ्नो संरचना हटाउनु पर्दा वातावरणीय पूर्व मूल्यांकन र करिब १ करोड बरावरको क्षति हुने भन्दै आएको स्रोतले रातोपाटीलाई जानकारी दिएको छ । कतिपय स्थानीयले भने सडक विस्तार गर्न दिने भन्दै हस्ताक्षर गरेको पत्रको प्रतिलिपी रातोपाटीलाई प्राप्त भएको छ । 

चाँगुनारायण नगरपालिका के भन्छ ? 
यस बारेमा हामीले चाँगुनारायण नगरपालिकाका प्रमुख सोमप्रसाद मिश्रसँग बुझ्दा मिश्र भन्छन्, ‘हामीले धेरै पटक पत्र पठाउने र भेटन जाने काम गर्यौ तर, प्रतिष्ठानको वर्तमान नेतृत्व सकारात्मक भएन ।’

‘म जिसस प्रमुख नवराज गेलाल र वडा नम्बर ५ वडा अध्यक्ष जयन्द्र खड्का गएर सडक विस्तारमा नहुँदा समस्या भएको कुरा राखेका थियौं’, मिश्रले रातोपाटीसँग कुरा गर्दै भने । 

तत्कालीन जर्नेल सीताराम खड्का सडक विस्तारका लागि सकारात्मक भएका तर, वर्तमान जर्नेल (प्रतिष्ठानका प्रमुख) सन्तोष ढकाल भने सकारात्मक नदेखिएकाले समस्या भएको समेत नगरप्रमुख मिश्रको भनाइ छ । 

रक्षामन्त्री इश्वर पोखरेल हुँदै प्रधानसेनापतिलाई समेत समस्याको जानकारी गराएपछि सडक विस्तार हुन्छ भन्नेमा ढुक्क रहेका स्थानीय मन्त्रालयको पत्रमा राखिएको एक शव्दले समस्या भएको नगरपालिकाको भनाइ छ । 
‘स्थानीय समेत सकारात्मक भएर सडक विस्तारमा सहयोग गरिरहनु भएको छ,’ तर सेनाले सहयोग गरेन, नगरप्रमुख मिश्रले भने । 

नेपाली सेनाको मुख्यालय के भन्छ ? 
यसबारेमा नेपाली सेनाका प्रवक्ता सहायकरथी सन्तोषबल्लभ पौडेलले नेपाली सेना कुनैपनि स्थानमा विकासको बाधक नबन्ने भन्दै नियम अनुसार उक्त स्थानमा पनि सडक विस्तारमा सेना सहयोग नै गर्न तयार रहेको बताए । 

‘सेना विकासको बाधक होइन । नियमअनुसार दुवैतिर बराबर बराबर छोड्न सेना तयार छ । तर, त्यो एरिया हाम्रो फाइरिङदेखि सेलेक्सनसम्मको काम हुने रहेछ । त्यसकारण त्यहा अहिले हाम्रोतर्फबाट भित्रबाट पर्खाल लगाउने काम भइरहेको छ । त्यो सकेर दिने भन्नेमा नगरपालिकासँग समेत कुराकानी भइसकेको छ’, प्रवक्ता पौडेलको भनाइ छ । 

उनले उक्त स्थानमा अहिले तारको मात्रै बार भएको भन्दै उनले बाटोको सेन्टरबाट दुवैतर्फ बराबर छाडिएको खण्डमा सेना त्यसका लागि बाधक नबन्ने प्रस्ट पारे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप