बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

झन्डै ४ महिनामा यसरी काठमाडौंमा बस गुड्यो, बस चालक र यात्रीले अपनाए यस्तो सुरक्षा सतर्कता (भिडियो रिपोर्ट)

चालक भन्छन्–‘यातायात व्यवसायीको आन्दोलन चाहिँदैन, हाम्रो रोजीरोटी खोस्न पाईँदैन’
मङ्गलबार, ३० असार २०७७, १९ : १६
मङ्गलबार, ३० असार २०७७

काठमाडौं । सडक किनारका पैदलयात्री अनौठो मानेर हेरिरहेका थिए । झन्डै चार महिनामा काठमाडौंको सडकमा बस गुड्यो ।  डुक्छेम्बा लामा स्वयम्भु जाने बस कुरेर बसेका थिए । बिहान पनि उनी सार्वजनिक बस चढेर सातदोबाटो आएका थिए ।

झन्डै ४ महिनामा उनले सार्वजनिक बसमा यात्रा गर्न पाउँदा अनौठो लागेको बताए । उनले बस कुरेको झन्डै २० मिनेटपछि संयुक्त यातायातको बस आइपुग्यो । उनी स्वयम्भु जान बसभित्र छिरे । बसका सहचालक रमेश परदेशीले हातमा पञ्जा लगाएका थिए । उनले बसको ढोकामाथि राखेको स्यानीटाइजर लगाएर एक सिट खाली राखेर यात्रीहरुलाई बस्न भनिरहेका थिए । 

बस अघि बढ्यो । बस स्टेशनमा फाट्टफुट्ट यात्रीहरु बस कुरेर बसेका थिए । केही यात्रुले बसभित्र छिर्दै भने–‘कहाँ छ सेनिटाइजर ?’ सहचालकले बसको ढोकामाथि देखाए । ढोकामाथि राखेको सेनिटाइजरको भाँडो ढल्ने गरेपछि यात्रीले भने–‘यो राख्ने ठाउँ अलि मिलेन ।’ सवारी चालकले ठट्टा गर्दै भने–‘के गर्ने हजुर सेनिटाइजर राख्ने गरी बसको डिजाइन गरिएन ।’निकै समयपछि बसको यात्रा गर्न पाएका यात्रीहरु दंग देखिन्थे । 

बस मालिकका संगठनले आन्दोलन गरेपनि हामी बस चलाउँछौं: चालक 

संयुक्त यातायात बसका चालक अनिल तिमल्सिनाले ४ महिनापछि बस चलाए ।  बस चलाउन पाउँदा एकातिर खुसी पनि लागेको र अर्कोतिर लकडाउनमा काम गर्न नपाउँदाको पीडा पनि भएको उनले बताए ।    गरी खाने एउटा बाटो नै बन्द भएपछि यो अवधिमा उनी बेरोजगार बनेका थिए । उनले भने–‘जानेको काम नै बन्द भएपछि के गर्नु ? अरु काम पाइने पनि हैन । लकडाउनमा घरमै बसियो ।’

सरकारले सार्वजनिक बस चलाउन भनेपछि यातायात व्यवसायीले आन्दोलन थालेका छन् । यसमा अनिललाई भने चित्त बुझेको छैन् । उनले भने– ‘महासंघले सरकारसँग कुरा राख्ने भए पहिले राख्नुपथ्र्यो । अब अहिले आएर बल्लतल्ल खुलेको छ  । हामीलाई यो आन्दोलन सान्दोलन जरुरी छैन । बिहान काम गरेर बेलुका खानुपर्छ । अस्तिसम्म सरकारले लकडाउन गर्यो । अहिले बस खुलेसँगै विभिन्न बहाना गरेर बस बन्द गर्ने काम भएको छ । हामी जस्ता मजदुरले के खाने ? महासंघले बन्द गरेको भन्ने सुनेका त छौँ । तर हामीले बाध्य भएर बस चलाइरहेका छौँ । जसले बन्द गरेपनि समस्या पर्ने हामीलाई नै हो ।’

सर्वसाधारणसँग बढि सम्पर्कमा रहनुपर्ने भएकाले सवारी चालकलाई जोखिम पनि धेरै नै छ । तर जोखिम भनेर के गर्नु ? तिमिल्सिनाले भने– ‘परिवारको दायित्व हामीमाथि नै छ । सबै जिम्मेवारी आफूमाथि हुन्छ, जोखिम छ भनेर काम नगरी बसेर पनि भएन ।’ 

कोरोना संकटका बेला विकसित देशहरुमा सरकारले श्रमिकहरुलाई भत्ता दिने, अन्य सहयोग गरेपनि नेपाल सरकारले कुनै सहयोग नगरेको उनले गुनासो गरे ।  उनले भने– ‘चार महिनाको अवधिसम्म हामीजस्ता मान्छे कसरी बाँच्यौँ होला । अझ म भन्दा तल्लो तहका मान्छेहरु कसरी बाँच्ने होला ?’

नुवाकोट घर भएका सवारी चालक प्रकाश विक लकडाउनको समयमा घर गएका थिए ।  केही दिनअघि मात्रै काठमाडौंका आएका उनले झण्डै चार महिनाको अवधिमा गर्दै आएको काम छोड्नुपर्यो । दिनभरि काम गरेर बेलुका छाक टार्नुपर्ने भएकाले पनि काम नपाउँदा गाह्रो भएको उनले सुनाए ।  

सरकारले सार्वजनिक बस सञ्चालन गर्न दिने निर्णय गरेपछि फेरि पहिलेकै काममा फर्कन पाउँदा खुसी लागेको उनले सुनाए ।  गोरखाका प्रकाश परियार आफ्नै बसमा सहचालकको रुपमा काम गर्छन् । अघिल्लो दिनबाट बस चलाउन थालेका उनले बिस्तारै यात्रीहरुको संख्या बढ्दै गएको सुनाए । 

चार महिनासम्म सवारी साधन नचलाउँदा गाडीका विभिन्न पाटपूर्जा मर्मतसम्भार गरेको र त्यसका लागि १५ हजार खर्च भएको बताए । 

सर्वसाधारण खुसी: स्वास्थ्य सुरक्षा र भाडामा एकरुपता होस्

४ महिनापछि सार्वजनिक बसको यात्रा गर्न पाउँदा यात्रीहरु खुसी देखिन्थे । उनीहरुले बसमा भाइरस संक्रमणको सुरक्षा र भाडादरमा एकरुपता हुनुपर्ने बताएका छन् ।  आफ्नो निजी सवारी साधन जोर विजोर प्रणालीका कारण आज चलाउन नमिल्ने भएपनि नारायण अधिकारीले बसको यात्रा गरे । अस्पतालमा बिरामी भेट्न गएका उनले सार्वजनिक बस चलाएकाले धेरै सहज भएको प्रतिक्रिया दिए  । 

उनले राष्ट्रिय अवस्थालाई ध्यानमा राख्दै एक सीट छोडेर, माक्स लगाएर, स्यानिटाइजर प्रयोग गरेर र भाडादर एउटै कायम गरेर बस चलाउनुपर्ने बताए ।  अर्का यात्री चन्द्र श्रेष्ठले सँधैंभरी बस बन्द गरेर नहुने बताए । 

सन्देश लामा प्लम्बिङ पेसामा छन् । हरेक दिन बस चढेर विभिन्न ठाउँमा यात्रा गरेर पुग्नुपथ्र्यो । सार्वजनिक बस नचल्दा आफूले धेरै दुःख भोग्नुपरेको उनले बताए । अहिले बस सञ्चालन हुँदा निकै खुसी लागेको प्रतिक्रिया दिए ।  अर्का यात्री शोभिता केसीले सार्वजनिक बसमा यात्रीहरुको स्वास्थ्य सुरक्षा हुनुपर्ने बताइन् । उनले कोरोना महामारीको यो बेलना स्यानिटाइजर पञ्जा लगाएर मात्र बसको यात्रा गर्नुपर्ने बताइन् । 

यस्तै अर्का यात्री अम्बिकादेवी भट्टराईले सार्वजनिक बसमा स्वास्थ्य असुरक्षा धेरै हुने बताइन् । यात्रा गर्दा जनता बढी सचेत हुनुपर्ने उनको भनाई छ । 

यातायात व्यवसायीको आन्दोलन के का लागि ? 
कोरोना भाइरस रोकथाम तथा नियन्त्रणका लागि सरकारले जारी गरेको लगाउनको १ सय १४ दिन दिन पुगेको छ । यो अवधिसम्म सार्वजनिक सेवाका बसहरु ग्यारेजमा थन्किएका थिए ।   मन्त्रिपरिषद्को हालै बसेको बैठकले सार्वजनिक बस सेवा सञ्चालन गर्ने निर्णय गरेको थियो । लामो समयदेखि सार्वजनिक बस सेवा सञ्चालन नहुँदा सर्वसाधारण समस्यामा परेका थिए । उता सवारीको क्षेत्रमा काम गर्ने हजारौं मजदुरहरुको रोजीरोटी गुमेको थियो ।

 सरकारले आधा क्षमतामा यात्री राख्ने र दोब्बर भाडा लिने, बसमा यात्रा गर्दा स्वास्थ्य सर्तकता अपनाउने, प्रत्येक वसमा सेनिटाइजर राख्ने, माक्स पञ्जा लगाएर मात्रै सवारी साधन चलाउने मापदण्ड तोकेको थियो  । सो नियम पालना गर्दै सार्वजनिक बस सेवा सञ्चालन गर्न दिने निर्णय गरेको थियो ।

सुरुमा सार्वजनिक बस सञ्चालनको निर्णय गर्न आफै दवाव दिदै आएका यातायात ब्यवसायीले पनि सरकारले निर्णय गरेपछि भने विभिन्न माग अघि सारेर सरकारलाई असहयोग गरेका छन् ।   विभिन्न माग राख्दै उनीहरुले सवारीसाधन सञ्चालन गरेका छैनन् ।  उनीहरुले सवारी चालक र सहचालकको स्वास्थ्य सुरक्षाको ग्यारेन्टीको माग गरेका छन् । साथै लकडाउन अवधिमा बैंकमा बुझाउनुपर्ने व्याज नलिन, बैंकको किस्ता तिर्ने समय बढाउनुपर्ने लगायतका माग पनि अघि सारेका छन् । 

विभिन्न यातायात व्यवसायीहरु आफ्नो माग पूरा गराउन सरकारका प्रतिनिधिसँग छलफलमा जुटिरहेका बेला उपत्यकामा केही बस व्यवसायीहरुले भने सार्वजनिक बस चलाउन थालेका छन् । उनीहरुले सरकारले भने अनुसार बसमा स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउदै बस चलाउन थालेका हुन् । 

अहिले जसरी भिडाभाड नगरी स्वास्थ्य सुरक्षा विधि अप्नाउँदै यसरीनै सँधै यात्रुबाहक बस सञ्चालन हुने हो भने कोरोना जोखिम कम हुनसक्छ । तर बढी पैसाको लोभमा बसका चालक र सहचालकले यात्री बढी राख्न थाले भने संक्रमण फैलिने जोखिम फेरि बढ्न सक्छ । 
हेर्नुहोस् भिडियो : 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप