शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

भरतपुरमा सडक सञ्जाल बढ्दैछ : प्रमुख रेनु दाहाल

बुधबार, ३१ असार २०७७, १३ : १४
बुधबार, ३१ असार २०७७

चितवन । भरतपुर महानगरपालिका प्रमुख रेनु दाहालले महानगरपालिका भित्रका सडक सञ्जाललाई बेवस्थित बनाउँदै लगिएको दावी गरेकी छन् । 

बुधबार भरतपुर महानगरपालिका वडा नम्बर–१५ मा रहेको जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको उद्घाटन गर्दै महानगर प्रमुख दाहालले यस्तो दावी गरेकी हुन् ।

समपूरक कोषबाट सञ्चालित एक करोड ५५ लाख रुपैयाँको लागतमा निर्मित १८ सय मिटर लामो सडक निर्माण सम्पन्न गरिएको भन्दै दाहालले महानगरपालिका भित्रका सडक सञ्जालहरुको प्रगति देखिनेगरि भइरहेको बताइन् । 

भरतपुर महानगरपालिकाभित्र नगरवासीको अधिकांश माग सडक विस्तार तथा कालोपत्रे रहने गरेको भन्दै उनले जनताको माग र आवश्यकताअनुसार सडक निर्माणलाई प्राथमिकतामा राखेको जानकारी पनि दिइन् । 

भरतपुरमा आफू जनप्रतिनिधिको रुपमा प्रवेश गरेसँगै सडकहरुको बर्गीकरण र मापदण्ड बनाएर योजनाबद्ध ढंगले काम अगाडि बढाएको र महानगरपालिकाभित्र ६ मिटरभन्दा कम चौडाईका सडक नरहेको उनको भनाइ छ ।

जगन्नाथ चोकदेखि गर्गेश्वर मन्दिरसम्मको सडकको बाटोमा सात मिटर कालोपत्रे गरिएको उल्लेख गर्दै महानगर प्रमुख दाहालले सो सडक १६ मिटर चौडाईको भएको जनाइन् ।

संघ, प्रदेश, सडक बोर्ड तथा भरतपुर महानगरपालिकाको लगानिमा महानगरपालिकाभित्र रिङरोड, लिङ्करोड तथा अन्य रणनीतिक महत्वका सडकहरु निर्माण भैरहेकाले अबको एक वर्षभित्रमा ती आयोजनाहरु सम्पन्न भइसक्दा भरतपुरले सडक सञ्जालमा एउटा फड्को मार्ने पनि बताइन् । चालु आर्थिक वर्ष २०७६÷०७७ मा भरतपुर महानगरपालिकाले विभिन्न क्षेत्रमा ६० किलोमिटर सडक कालोपत्रे गरेको भरतपुर महानगरपालिकाका डिभिजनल इन्जिनियर रत्न लामिछानेले जानकारी दिए ।

त्यस्तै, २० किलोमिटर सडक मर्मत, १० किलोमिटर सडक उच्चस्तरीय र ४० किलोमिटर सडकमा ग्राभेल सम्पन्न गरिएको लामिछानेको भनाई छ । सडक उद्घाटन कार्यक्रममा भरतपुर महानगरपालिका उपप्रमुख पार्वती शाह ठकुरी, संविधान सभा सदस्य सीता गिरी ओलीलगायतको सहभागिता रहेको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप