शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

माटो ब्राण्डको यूटर्नः कृषि उपज ढोकाढोकामा, हातहातमा स्यानिटाइजर

महामारीकै बीच गोल्यान समूहको ‘मोडिफाइड विजनेश’
शुक्रबार, ०२ साउन २०७७, ११ : ४९
शुक्रबार, ०२ साउन २०७७

विश्व कोरोनाभाइरस (कोभिड १९) महामारीसँग जुधिरहेको छ । नेपाल पनि यसबाट अछुतो छैन । बरु दिनानुदिन यसको प्रकोपले त्रास बढेको बढ्यै छ । रोजगारीका लागि विदेशिएकाहरु स्वदेश फर्किएका छन् भने शहर पसेकाहरु गाउँ फिरेका छन् । कतिको रोजगारी गुमेको छ त कतिले निकै कम मूल्यमा श्रम बेच्नु परिरहेको छ ।

विद्वानहरु भन्छन्– महामारी तथा प्रकोपका नराम्रा मात्रै होइनन्, राम्रा पनि पक्ष हुन्छन् । समाजलाई नयाँ स्वरुपमा परिस्कृत हुन प्रेरित गर्नु यसका राम्रा पक्ष हुन् । नयाँ सम्भावनाको खोजी हुनेछन् । सायद अव स्वदेश फर्किएका युवाहरु उद्यमशिलतामा लाग्नेछन् र गाउँ फर्किएका मजदुरहरुले बाँझो बारी जोत्नेछन् ।

महामारीले आत्मनिर्भरता बढ्ने आशा पनि पलाएको छ । तर, महामारीसँगै बन्द उद्योगधन्दा, व्यापार व्यवसाय, पर्यटनलगायतले कहिले कोल्टे फेर्छन ? पत्तो छैन । यस्तैमा केही उद्योगहरुले भने परिस्कृत र समयानुकुल उत्पादनलाई जोड दिन थालेका छन् । वास्तवमा गर्नुपर्ने पनि यही नै हो ।    

महामारीले गाँजेको विषम परिस्थितीकै बीच उद्योग धन्दालाई कसरी जीवित राख्ने, ठप्प व्यवसायलाई कसरी नयाँ स्वरुप दिने भन्ने अन्यौलकै बीच उत्पादन र बजारिकरणलाई मोडिफाई गर्दै अगाडि बढेको छ गोल्यान समूह ।

नेपालका प्रतिष्ठित व्यावसायिक घरानाहरुमध्ये निर्यात व्यापारबाट राज्यलाई ठूलो गुन लगाएको एउटा समूह हो गोल्यान समूह । टेक्सटायल, धागो, जलविद्युत, रियलस्टेट, बैंक तथा बीमा, होटललगायतका थुप्रै क्षेत्रमा लगानी गरेको यो समूहले पछिल्लो समय कृषिमा ठूलो लगानी गरेको छ । त्यसैगरी, महामारीकै बीच यो समूहले तत्कालको मागअनुसार माटो ब्राण्डबाट ह्यान्ड स्यानिटाइजरको उत्पादन थालेको छ ।

समूहको प्रमुख उद्देश्य भनेको उत्पादनशिल बन्नु, रोजगारी सिर्जना गर्नु, नयाँ उद्योग धन्दा संचालन गर्न प्रोत्साहन गर्नु र स्वदेशी उत्पादनलाई निर्यात गरी आयातलाई निरुत्साहित गर्नु नै भएको समूहकी निर्देशक लतिका गोल्यान बताउँछिन् ।

माटो ब्राण्डको स्यानिटाइजर गुणस्तरीय र सर्वसुलभ

महामारीसँगै विश्वभर मेडिकल सामग्रीको माग ह्वात्तै बढ्यो । जतासुकै मेडिकल उपकरणको अभाव बढेसँगै नेपाल पनि यसबाट अछुतो रहन सकेन । बजारमा गुणस्तरहीन सामग्री छ्याप्छ्याप्ती आउन थाले । गोल्यान समूहकी निर्देशक लतिका गोल्यान र उनको टिमले यो अवस्थामा उद्योगी व्यवसायीको तर्फबाट के गर्न सकिन्छ भन्नेबारे छलफल गरे । मेडिकल सामग्री, खाद्यान्न, तरकारी अनि फलफूलको अभाव परिपूर्ति कसरी गर्न सकिन्छ भन्ने योजनाअनुरुप माटो ब्राण्डको स्यानिटाइजर उत्पादन गर्ने र कृषि उपज उपभोक्ताको ढोकाढोकामा पुर्याउने योजनाअनुरुप यो समूहले काम थाल्यो ।

भक्तपुरस्थित एमडीएच फर्मास्युटिकल्ससँग मिलेर माटोले स्यानिटाइजर उत्पादन थाल्यो । जसमा आफ्नै घर आँगनमा पाइने केमिकलको प्रयोग गरिएको छ । माटोको स्यानिटाइजर गुणस्तरीय त छ नै बजारमा सजिलै प्राप्त गर्न सकिने लतिका बताउँछिन् । लकडाउनले माटो ब्राण्डका उत्पादन विक्रीवितरण गर्ने तरिका फेरिदियो र सुरु भयो होम डेलिभरी । अहिले माटोका स्यानिटाइजर, फलफूल तथा तरकारी, महलगायतका उत्पादन होम डेलिभरी हुन्छन् । ग्राहकले फोनबाट सिधै अर्डर गर्न सक्छन् ।

माटोले कोरोना महामारी नियन्त्रणका लागि तत्काल अत्यावश्यक ह्यान्ड स्यानिटाइजरको उत्पादन थाल्यो, जुन विश्व स्वास्थ्य संगठनले तोकेको मापदण्डअनुरुपको छ । हाल बजारमा यसको माग पनि बढेको छ र प्रयोगकर्ताको फिडब्याक पनि उत्साहजनक भएको लतिका बताउँछिन् । उनी भन्छिन्, ‘माटोको ह्यान्ड स्यानिटाइजर विल्कुलै स्वदेशी उत्पादन हो । यसमा नेपाली जडिबुटीहरुको प्रयोग गरिएको छ । ७५ प्रतिशत अल्कोहल समावेश ह्यान्ड स्यानिटाइजर स्प्रेसहितको बट्टामा उपलब्ध गराइएको छ ।

बजारमा उपलब्ध अन्य स्यानिटाइजर भन्दा सस्तो र प्रयोग गर्न सजिलो हुनुका साथै स्प्रेयुक्त बट्टा भएकाले यो निकै किफायती पनि छ । हाललाई ५० एमएल, ७५ एमएल, ५०० एमएल र ५ लिटरमा ह्यान्ड स्यानिटाइजर उपलब्ध छ । माटोले अहिले ५० एमएलको पकेटस्प्रे प्याकको ११५ रुपैयाँ तोकेको छ । त्यसैगरी ५०० एमएलको ५६० रुपैयाँ र ५ लिटरको ४ हजार रुपैयाँ मूल्य तोकेको छ । माटोको स्यानिटाइजरमा लेमन ग्रासको बासना भएकाले प्रयोगकर्ताले निकै मन पराएका छन् ।

लतिकाले उद्योगधन्दा ठप्प रहेको अवस्थामा समयअनुसार उत्पादनलाई मोडिफाइ गरेर परिस्थितिलाई कसरी अवसरमा परिणत गर्ने त भन्ने पाठ सिकाएकी छिन् उत्पादनशिल कार्यबाट । महामारी अनि लकडाउनका कारण कठिन बन्दै गएको परिस्थितिलाई ह्याण्डल गर्न उत्पादनलाई नै जोड दिनुपर्ने उनी बताउँछिन् । विदेशबाट फर्किएकालाई रोजागारीको अवसर सिर्जना गर्न, उद्योग व्यवसायमा आकर्षित गर्नका लागि पनि आफ्नो समूह लागिपर्ने लतिका बताउँछिन् ।

माटोले कृषि उपजमात्रै होइन ह्यान्ड स्यानिटाइजर पनि निर्यात गर्न थालेको छ । भर्खरै उत्पादन थालेको ह्याण्ड स्यानिटाइजर यूएईको बजारमा विक्री गरिरहेको छ । 

भान्छामै आइपुग्छ तरकारी तथा फलफूल

लकडाउनकै समय गोल्यान समूहका अध्यक्ष पवन गोल्यानले हामीसँगको कुराकानीमा आफ्ना कृषि फर्मका उत्पादनहरुलाई कसरी बजारसम्म लैजाने भन्नेबारे चिन्ता पोखेका थिए । राज्यले अर्वौको तरकारी तथा फलफूल भारत तथा तेस्रो मूलुकबाट आयात गरिरहँदा स्वदेशी उत्पादन बारीमै कुहिएर गएको र उत्पादन बिक्री नहुँदा खाल्डोमा पुिरएका खबरले उनलाई निकै पिरोलेको थियो । समूहसँग आफ्नै स्रोत साधन हुँदा त बजारसम्म लैजान समस्या भोग्नु पर्यो भने साधन स्रोत नहुने किसानले कसरी लैजाने ? राज्यले नेपाली किसानका उत्पादनलाई बारीमै गएर उठाउने र बजारसम्म लैजाने व्यवस्था तत्काल गर्न उद्योगी व्यवसायीहरुले माग गरेका थिए ।

गोल्यान समूहअन्तर्गतको गोल्यान एग्रोले उत्पादन गरेका माटो ब्राण्डका तरकारी तथा फलफूल लकडाउनका कारण काठमाडौंसम्म ल्याउन समस्या भएपछि काठमाडौं, भक्तपुर अनि ललितपुर तथा यसक्षेत्र वरिपरि उत्पादित अर्गानिक तरकारी तथा फलफूल खरिद गरी उपभोक्तासम्म पुर्याउने काम गरेको लतिका बताउँछिन् । लकडाउनको समय जतासुकै चुनौतीले घेरिएको थियो । तर माटोको पूरा टिम भने उपभोक्ताको ढोकाढोकामा तरकारी फलफूल पुर्याउन क्रियाशील भएर लागेको लतिका बताउँछिन् । 

‘माटोको उत्पादनलाई सबैले मन पराइदिनु भएको छ । हामीलाई हौसला मिलेको छ,’ लतिका भन्छिन्, ‘जब लकडाउनले बाहिर जाने अवस्था भएन, तब हामीले घर घरमा तरकारी फलफूल पुर्याउने काम गर्यौं । सुपथ मूल्यमा अर्गानिक तरकारी तथा फलफूल पाउँदा ग्राहकहरु पनि खुसी हुनुभयो । शहरका मुख्य चोकमा भ्यानले तरकारी तथा फलफूल उपलब्ध गराउने काम पनि निरन्तर गरिनै रहेको छ ।’

कृषि उद्यममा सक्रिय लतिका माटो ब्राण्डले पहिलो चरणमा तरकारी तथा फलफूल उत्पादन गरेपनि अब दोस्रो चरणमा प्रवेश गरेको बताउँछिन् । दोस्रो चरणमा माटोले आलुबाट चिप्स, गोलभेडाबाट केचप सस, दुधबाट बटर, पनिर हुँदै खाद्यान्नलाई पनि अगाडि सारेको छ । यसले रोजगारीको नयाँ बाटो खुलाउने उनी बताउँछिन् । धेरै युवा स्वदेश फर्किएका छन्, उनीहरुलाई यस्ता साना साना उद्योग व्यवसायमा प्रोत्साहन गर्न पनि दोस्रो चरणको उत्पादनलाई अगाडि बढाउन चाहेको उनको भनाइ छ । 

माटोले यूएई, कतारलगायत देशमा खरवुजा, मेवा, महलगायत निर्यात गर्दै आए पनि अहिले लकडाउनले निर्यात प्रभावित भएको लतिका बताउँछिन् । अब स्थिति सामान्य हुदै गएपछि भने समूह खरवुजा, मेवा, एवोकाडो, मह, अदुवा, बेसार, टिमुर, कालो चामल, मकै, चियालगायतका उत्पादन निर्यात गर्ने योजना रहेको उनले बताइन् । निर्यात गरेका उत्पादनलाई सबैले मन पराएको र अन्य उत्पादन खरिदका लागि पनि छलफल भइरहेकाले स्थिति सामान्य बनेसँगै यी उत्पादन निर्यात गर्ने लतिकाको भनाइ छ ।

माटोले बजारमा आउने तरकारी तथा फलफूलको मेनु फेसबुक पेज, इन्स्टाग्राम तथा कम्पनीको वेबसाइटमा दैनिक सार्वजनिक गर्ने गरेको छ । जसबाट ग्राहकले कुन दिन के उपलब्ध छ सजिलै जानकारी लिन सक्छन् र आफूलाई चाहिने सामान अर्डर गर्न सक्छन् ।

माटो ब्राण्डका हरेक उत्पादन सिधै उपभोक्ताको ढोकैमा पुग्ने व्यवस्था पछि गोल्यान समूहको अर्को योजना उपत्यका सहितका मूख्य शहरमा आफ्नै स्टोर खोल्ने । हाल मूख्य मूख्य सुपरमार्केटबाट विक्री वितरण गर्दै आए पनि भविष्यमा आफ्नै स्टोरबाट विक्री थाल्ने योजनामा समूह छ । साथै विदेशीएका युवालाई स्वदेशमा टिकाउन र उद्यममा आकर्षित गर्न माटो ब्राण्डलाई फ्रेन्चाइज मोडेलमा लैजाने योजना पनि रहेको लतिका सुनाउँछिन् ।

नेपाली उत्पादनलाई विश्वबजारमा पुर्याउने उद्देश्यसहित स्थापना भएको माटो ब्राण्ड बजारसम्म आफ्ना उत्पादन पुर्याउन नसकेका किसानहरुका लागि पुल बनेको छ भने ग्राहक पनि आफै बनिदिएको छ । जसबाट साना तथा ठूला किसानहरुलाई आफ्ना उत्पादन बारीमा सड्ने चिन्ताबाट राहत मिलेको छ र उपभोक्ताहरुले पनि ताजा तथा विषादी रहित तरकारी, फलफूलका साथै खाद्यान्न भान्सामा भित्र्याउन पाएका छन् । लतिकाको पनि विश्वास छ कि यसले आफ्नै माटोमा श्रम खर्चिन समस्त युवाहरुलाई अवश्य पनि प्रेरित गर्ने छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप