शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय
प्रहरीले पाएको त्यो क्लू

भान्जा हत्याको १३ वर्षपछि यसरी लाग्यो मामाको हातमा हत्कडी

आइतबार, ०४ साउन २०७७, १६ : ५६
आइतबार, ०४ साउन २०७७

काठमाडौं । भनिन्छ, ‘१२ वर्षपछि खोलो पनि फर्किन्छ ।’ तर, न्यूरोडका कपडा व्यापारी बासुदेव गुप्ताको जीवनमा न्यायको खुसी फर्किन १३ वर्ष लाग्यो । ०६४ असोज २४ मा बासुदेवको ११ वर्षीय छोरा रोहितको अपहरण भयो ।

अपहरणकारीले मागेको दुईलाख फिरौती बुझाए, तर छोरा फिर्ता पाएनन् । दुई दिनपछि कमलादीस्थित गणेश मन्दिर नजिकैको फोहोरको थुप्रोमा उनको छोराको शव भेटियो ।

अपहरणपछि हत्यामा संलग्न राजेश कुमार गुप्तालाई महानगरीय अपराध महाशाखाले १३ वर्षपछि पक्रेर सार्वजनिक गरेको छ । उनी रोहितका सहोदर मामा हुन् ।

के थियो घटना ?

न्यूरोडमा बासुदेवको कपडा पसल थियो । विराटनगरमा कपडा व्यापारमा घाटा लागेपछि राजेश कुमार गुप्ता पनि काठमाडौंमा आएर व्यापार गर्न थाले । बहिनी–ज्वाईंको पसल नजिकै उनले पनि कपडाको व्यापार थाले । उनकोमा काम गर्थे, धादिङका बिष्णु सुनार ।

कपडा व्यापारमा घाटा बढ्दै गएपछि राजेशले भान्जा अपहरणको योजना बनाए । भाञ्जा राोहित जोरपाटीस्थित राई स्कुलमा ७ कक्षामा पढ्थे ।

अपहरण गर्न विष्णुको सहयोग लिए । जादु सिकाउने बहाना बनाएर भान्जालाई बोलाएर खिचापोखरीमा रहेको विष्णुको कोठामा लगे ।

विष्णु र राजेश मिलेर नाइलनको डोरीले घाँटी कसेर, रुमालले मुख थुनेर भान्जाको हत्या गरे भने त्यपछि बासुदेवलाई फोन गरेर फिरौती मागे । विष्णु फिरौती माग्थे भने राजेशले चाहिँ बहिनी–ज्वाईं सँगै बसेर ‘भान्जाको ज्यान भन्दा पैसा ठुलो हैन भनेर कन्भिन्स गरे ।’

दुईलाख फिरौती दिने सहमति भयो । राजेश पैसा बोकेर थानकोटस्थित त्रिभुवन पार्कमा गए । पैसा आफैंले राखे, अनि बहिनी ज्वाईंलाई भने, ‘मुख छोपेर ट्याक्सीमा आएका व्यक्तिहरुले पैसा लुटेर भागे, भान्जा पनि दिएनन् ।’ त्यसको दुईदिन पछि रोहितको शव भेटिएको थियो । 

मुजफ्फरपुरमा १३ वर्ष

हत्यापछि छठ मनाउन राजेश बिहारको मुजफ्फरपुर लागे । उनको स्थायी घर त्यहीँ हो । बहिनी–ज्वाईं पनि मुजफ्फरपुरका हुन् ।

प्रहरीले अपहरण–हत्याको अनुसन्धान गरिरहेको थियो । ०६४ मंसिर १२ मा धादिङको महादेववेशीबाट विष्णु समातिए । विष्णुको बयानबाट हत्यामा राजेशको पनि संलग्नता खुल्यो ।

तर, त्यसपछि राजेश नेपाल फर्केनन् । मुजफ्फरपुरमा कुर्ता–सलवारको व्यापार सुरु गरे ।

‘१३ बर्षदेखि राजेश हाम्रो खोजी सूचीमा थिए,’ महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी दीपक थापाले भने, ‘तर, उनी नेपाल आएनन् ।’

प्रहरीले पाएको त्यो क्लू

मुजफ्फरपुरबाट राजेश कुमार गुप्ताले कुर्ता–सलवार होलसेल मूल्यमा सप्लाई गर्थे । प्रहरी उनको भरपर्दो सुराक खोजिरहेको थियो ।

सर्लाहीका एकजना व्यापारीलाई रााजेशले सामान पठाउने गरेको सूचना अपराध महाशाखाका एक अधिकृतले थाहा पाए ।

महाशाखाको टोली सर्लाही पुग्यो । एसएसपी थापाका अनुसार भारतीय प्रहरीसँग पनि कुरा भइरहेको थियो । तर, राजेशलाई ल्याउन सहज भएन ।

शनिबार राजेश सर्लाहीमा पैसा उठाउन आएको सुराक महाशाखाका अनुसन्धान अधिकृतले पाए । अनि, भान्जाको हत्या गरेको  १३ वर्षपछि मामाको हातमा हत्कडी लाग्यो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप