शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘गाउँका डोजर इन्जिनियर र डोजरे विकासले बाढी पहिरो र क्षति बढायो’

भूगर्भविद् द्विवेदी भन्छन्- प्राकृतिक रुपमा हुने घटनालाई मानवीय क्रियाकलापले अझ थप गर्‍यो
मङ्गलबार, ०६ साउन २०७७, १६ : १४
मङ्गलबार, ०६ साउन २०७७

गत असार २९ गते संसदको राज्यव्यवस्था तथा सुशासन समितिको बैठकमा प्राकृतिक प्रकोप, राहत तथा उद्धार लगायतका विषयमा भएको छलफलमा अधिकांश सांसदको भनाइ एउटै थियो, ‘गाउँघरमा डोजर इन्जिजिनयरले विकास गर्न थाले । विकासका नाममा जथाभावी मुसाले कोतरे जसरी पहाड कोतरेर सडक बनाउन थाले । यसले बाढी र पहिरोको जोखिम बढायो ।’
सांसदहरुले जुन तर्क गरेका छन्, पहाडी क्षेत्रमा ठ्याक्कै त्यस्तै भएको छ । गत असार २५ गते सिन्धुपाल्चोकको बाह्रबिसेमा १८ जना वेपत्ता पारेको प्रकोप माथिबाट आएको लेदो सहितको बाढी र पहिरोले सानो बस्ती तहसनहस पारेको थियो । 

घटनास्थलभन्दा माथिल्लो भागमा डोजरले बाटो खनिएको थियो र खनिएको माटोको लेदोयुक्त बाढी र पहिरोले तल्लो भागमा क्षति पु-याएको थियो । ऊर्जा तथा सिंचाई मन्त्रालयका वरिष्ठ भूगर्भविद् श्रीकमल द्विवेदी प्राकृतिक प्रकोप नियमित हुने घटना भएपनि मानवीय क्रियाकलापका कारण धेरै ठूलो परिणाममा हुन थालेको बताउँछन् । 

नेपालमा वर्षेनी बाढी पहिरो जस्ता प्रकोपका घटना हुने गरेका छन् । जसका कारण धेरै जनधनको क्षति हुने गरेको छ । अघिल्ला केही वर्ष भन्दा यो वर्ष तुलनात्मक रुपमा केही बढी वर्षा भएको छ । पहाडमा बाढी र पहिरोका कारण धेरै जनधनको क्षति पनि भएको छ । अवैज्ञानिक विकास नीतिका कारण हरेक वर्ष बाढी पहिरो र डुवानका कारण क्षति हुने गरेको छ । 

सांसद प्रेम सुवालको भनाइ छ, ‘ठाउँमा आफूखुसी जमिन प्लटिङ गर्ने प्रवृत्तिका कारण पनि प्रकोपलाई सहयोग पुग्ने गरेको  छ । भूमाफियाहरुले खोला किनार कब्जा गर्ने, जनप्रतिनिधिहरु डोजरका मालिक र ठेकेदार भएका छन् । जग्गा दलालले खोला कब्जा गर्दा बाढी बस्तीमा पस्न थालेको छ । स्थानीय तहका जनप्रतिनिधिलाई डोजर विकास रोक्न निर्देशन नदिएसम्म प्राकृतिक प्रकोपको घटनामा कमी आउँदैन ।’

गृह मन्त्रालय अन्तर्गत रहेको विपत व्यवस्थापन प्राधिकरणका गत जेठ ३२ गतेदेखिको प्राकृतिक प्रकोपको घटनामा पहिरोबाट १ सय १४ जनाले ज्यान गुमाएका छन् । ४६ जना वेपत्ता र ९१ जना घाइते भएका छन् । बाढीबाट ३ जनाको मृत्यु र ५ जना वेपत्ता भएको प्राधिकरणका प्रवक्ता जनार्दन गौतमले रातोपाटीलाई जानकारी दिए । यस्तै एक महिना अवधिमा चट्याङबाट १७ जनाको मृत्यु भएको छ । वैशाखदेखि हालसम्म चट्याङबाट ४७ जनाको मृत्यु भएको छ । 

भूगर्भविद् श्रीकमल द्धिवेदीका अनुसार नेपालमा ८० प्रतिशत हाराहारी पहाडी भूभाग पर्छ । जमिन उचाइलिएर बनेको पहाड भएका कारण हरेक वर्ष पानी पर्दा कमजोर स्थानमा त्यसले असर पार्ने गर्छ । नेपालको भूवनोट उचालिने र धसिने क्रमबाट बनेको हुँदा भारी मात्राको वर्षाले त्यसलाई असर गर्ने गरेको छ  । 

यो वर्ष गएका केही वर्षको तुलनामा अधिक मात्रामा वर्षा भएको छ । अहिले प्राकृतिक विपत्तिको घटना बढ्नुमा मानवीय क्रियाकलाप पनि एउटा कारणको रुपमा आएको द्विवेदी बताउँछन् । भूगर्भविद् द्विवेदीकै शब्दमा प्राकृतिक प्रकोप बढ्नुको कारण र रोकथामका उपायहरु यी हुन्  :

डोजरे विकासले बाढी पहिरो बढायो
अहिले जसरी पहाड कोतरेर सडक बनाउने चलन छ, त्यसले पहिलो र बाढीको प्रकोप बढाएको छ । प्राकृतिक रुपमा हुने घटनालाई मानवीय क्रियाकलापले अझ थप ग-यो । पहिरो जानुका अन्तरनिहीत कारणमा जमिनको चट्टान कमजोर हुँदै जानुपनि हो । मौसमका कारण चट्टान खिइँदै गएको हुन्छ । यो वर्ष धेरै पानी परेको छ । जमिनको चिराबाट पानी छिर्दापनि पहिरो जाने हुन्छ । धेरैजसो बाढीसँगै पहिरो जाने घटना पनि भएका छन् । 

यो वर्ष सिन्धुपाल्चोकमा धेरै बाढी र पहिरोको घटना भए ।  आफू त्यहाँ नपुगेपनि धेरै साथीहरुसँग कुरा गर्दा यसवर्ष त्यहाँ धेरै बाटो बनाइएको थियो । माटो कटान गरेर खोल्साहरुमा फ्याँक्ने, बाटोबाट माटो जथाभावी फ्यालेर बाटो बनाउने जुन अभ्यास छ, त्यही माटो बाढीसँगै बगेर आएर ठूलो क्षति भएको पनि देखिन्छ । 

पहाडमा बाटो बनाउने अभ्यास नै गलत छ । सुख्खायाममा जथाभावी डोजर चलाएर बाटो बनायो, माटो तलतिर फ्याँकिदियो । त्यो माटो बगेर तलतिर जान्छ र बाढीले बगाएर लगेपछि तल्लो भागहरुमा प्रकोपको अवस्था ल्याँउछ । 
बाटोमा भित्तामा पानी निकासको कुलो नबनाउने, बाटोको छेउ किनारको सुरक्षा नगर्ने, खाली माटो खनेर मात्र बाटो बनाएर त हुँदैन । बाटो बनाएपछि ड्रेन, कल्भर्टजस्ता सवै संरचना चाहियो । पहाडको जमिन काटेर मात्र बाटो बनाउन हामी लागिपरेका छौँ । अहिले गाउँमा तिनतिरबाट जबरजस्ती सडक पु-याइएको छ । 

पहाडमा बाटो निर्माण गर्ने जुन मोडल छ त्यसले पनि प्रकोपलाई बढाएको छ । पहाडी क्षेत्रमा पहिरो आउँछ, त्यो स्वाभाविक नै हो तर डोजरे विकासले प्रकोपलाई बढाउने काम गरेको छ । 
डोजरले पहाड कोतर्ने र छोडिदिने चलन भएको छ । पहाडी क्षेत्रमा रुख विरुवा घाँसपात भनेको जमिनको छाला हो । त्यो छालालाई कोतरेर छोडेपछि शरीरमा इन्फेक्सन त हुन्छ । बोट विरुवाले समातेर राखेको माटो डोजरले कोतरेर छोडेपछि बर्षातमा त्यो माटो त खोलातिर आउँछ । 

अहिले धेरैजस्तो प्रकोपको घटना सडक निर्माणसँग जोडिएको छ । माथिल्लो भागमा सडक छ । सडक बनाउँदा फ्याँकेको माटो बगेर आउँदा पनि धेरै प्रकोप बढ्ने गरेको  छ । 

यसरी गर्न सकिन्छ प्रकोप नियन्त्रण पूर्वतयारी  
पहाडमा सडक पूर्वाधार निर्माण गर्दा एकदमै प्राविधिक मापदण्ड पूरा गरेर मात्र गर्नुपर्छ । नेपालमा डोजर एक्साभेटर चलाउनेले बाटो खन्ने, जनप्रतिनिधिले यहाँबाट सुरु गरेर त्यहाँ पु¥याइदे भन्ने चलन छ । वडा, नगरको त्यसरी निर्देशनमा बाटो बनाउने हैन । मुख्य कुरा भूगर्भविद्, इन्जिनियर चाहिन्छ । 

नेपालमा सडक निर्माण गर्दा प्राविधिकहरुको प्रयोग भएको छैन । स्लोभ प्रोटेक्सन गर्ने, कल्र्भट, ड्रेन बनाएर सडक बनाउने चलन नै छैन । पहाड खोस्रिने जुन चलन छ यसले त धेरै भूक्षयको प्रकोप निम्त्याँउछ । भविष्यमा सवै प्राविधिक पक्षको संलग्नतामा मात्र सडक निर्माण गर्नुपर्छ । अलिकति धेरै पानी पर्नेवित्तिकै प्रकोप बढिहाल्यो । पानी पर्ने समय अझै साउन र भदौ महिना बाँकी नै छ । जमिन भिजेको छ, अझै पानी पर्ने संभावना छ, अझै क्षति हुने अवस्था देखिएको छ । 

कतिपय पहिरो प्रकृति आफैले पनि मिलाउँदै गइरहेको हुन्छ । जमिन चिरा चिरा परेको भौगोलिक अवस्था भएको स्थानमा सचेतता अपनाउनुपर्ने हुन्छ । अहिले जहाँजहाँ जोखिम छ, त्यहाँबाट सुरक्षित स्थानमा सरेर आफ्नो ज्यान बचाउनुपर्छ । 

पहिलो त प्राकृतिक जोखिम आउनै नदिने गर्नुपर्छ । भेल जता पायो उतैबाट बग्नेगरी छोडनुभएन । जथाभावी सडक बनाउने प्रक्रिया रोक्नुप¥यो । यसवर्ष पानी ठूलो परेको छ तर २०५० सालको जस्तो २४ घण्टामा ५ सय ३९ मिलिमिटर जस्तो पानी परेको भने होइन । त्यति ठूलो पानी प¥यो भने त तहसनहस नै हुन्छ । न बाटो रहन्छ न घर गाउँ खेत बारी रहन्छ । कमजोर भूबनोट भएको ठाउँमा छेकबार बनाउँने रोकथाम गर्ने विधि अवलम्बन गर्नुपर्छ । बस्तीहरु जोगाउने खालका संरचनाहरु बनाउँनुपर्छ । 

हाम्रोमा प्राकृतिक प्रकोप सावधानीबारे धेरै महत्त्व दिने चलन छैन । त्यसले गर्दापनि बढी क्षति बेहोर्नुपर्ने हुन्छ । प्रकोप रोकथामका लागि जल उत्पन्न प्रकोप न्यूनीकरण विभाग थियो अहिले त्यो नै भंग गरिएको छ । भौतिक संरचनादेखि प्राविधिक टिमसहित जाइकाले सहयोग गरेको थियो । अहिले प्राविधिकपनि सबै लाखापाखा लागेका छन् । सरकारले पनि महत्त्वपूर्ण ठानेन होला समाजले पनि महत्त्व दिएनन् होला । 

नदी तथा प्रकोपसम्बन्धी कानूनको आवश्यकता
खोला मिच्ने, खोलाको छेउमा भौतिक संरचना निर्माण गर्ने समस्या पनि छ । त्यसले गर्दा पनि प्रकोपबाट क्षति बेहोर्नुपर्ने अवस्था छ । यसलाई रोक्नका लागि नदीसम्बन्धी कानून बनाउनुपर्छ । नदी कस्को भन्ने कुनै अवधारणा छैन । नदीमा जसले जे गरेपनि हुने भएको छ । जसले एक्साभेटर लगेर खोतलेपनि भएको छ । नदीमा जे गर्न पनि त्यतिकै छाडा छोडेर हुँदैन । 

मानौँ कसैले कुनै ठाउँमा आफ्नो जग्गा सम्याउन डोजर लगेर खन्यो । त्यो खनेको कारणले गर्दा पहिरो गएर क्षति भयो भने त्यसलाई कारवाही गर्ने दोषी ठह¥याउने कानूनको व्यवस्था हुनुप¥यो । 
उसको कारणले गर्दा घरमा क्षति भयो वा मानवीय क्षति भयो भने उसले क्षतिपूर्ति तिर्नुपर्ने व्यवस्था हुनुप¥यो । अहिले त्यस्तो अवस्था छैन । अहिलेको ऐनले अलिकति बोलेको भएपनि तर ब्यवहारमा हेर्दा त्यो कार्यान्वयन हुन सकेको छैन । 

प्रकोप न्यूनीकरण वा रोकथामका लागि कसले हेर्ने ? यहाँ कुनै यससम्बन्धी निकाय चाहियो । खोलामा जसले जे गरेपनि हुने हो त ? हैन नि। गिटी झिक्ने, खोला कोतर्ने, बाटो बनाउँदा माटो खसाल्ने जस्ता काम पनि गर्नुभएन । हाम्रो सामाजिक अभ्यासपनि त्यस्तै नै छ हामी त्यति वास्तापनि गर्दैनौँ । प्रकोप आइसकेपछि मात्रै धेरै कराउँछौँ । यी सबै कारणहरुले गर्दा नै अहिले हुनुपर्ने भन्दा बढी प्राकृतिक प्रकोपका घटनाहरु बढिरहेका छन् । 


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शम्भु दंगाल
शम्भु दंगाल

शम्भु दंगाल संसदीय मामिला, पुनर्निर्माण र समसामायिक विषयमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप