मङ्गलबार, ११ वैशाख २०८१
ताजा लोकप्रिय

नेकपाको युद्धविराम !

समस्याको निकास कि सर्वनाशको यात्रा ?

मङ्गलबार, ०६ साउन २०७७, २० : ५८
मङ्गलबार, ०६ साउन २०७७

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को स्थायी समिति बैठक मङ्गलबार केहीबेर बसेर स्थगित भएसँगै सो पार्टीमा बढेको विवाद पनि तत्कालका लागि युद्धविरामको अवस्थामा पुगेको छ । विवाद चरमोत्कर्षमा पुगेका बेला मङ्गलबार बसेको सो पार्टीको बैठकले अविरल वर्षापछि देशभर आएको बाढी पहिरोमा प्रभावित बनेकाहरुको उद्धार र राहतमा नेता कार्यकर्तालाई खटिन अपिल गर्दै साता दिनका लागि बैठक स्थगित गर्ने निर्णय गरेको हो । 
बाढी पहिरो नेकपाका लागि बैठक स्थगित गर्ने दोस्रो पटक बहाना बनेको हो । ‘बाढी पहिरो र डुबान जस्ता प्राकृतिक विपत्तिका कारण २३३ जनाको ज्यान गएको छ । ९८ जना बेपत्ता छन् भने ९९ जना घाइते भएका छन्,’ बैठकपछि पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठ ‘प्रकाश’ले बाढी पहिरोबाट प्रभावितहरुको उद्धार र राहतमा सम्पूर्ण पार्टी एकताबद्ध भएर लाग्ने निर्णय भएको सुनाए । 


झट्ट सुन्दा यो निर्णय राम्रो र ठीकै पनि हो । तर अघिल्लो पटक पनि यस्तै निर्णय गरेर बैठक स्थगित गरेको यो पार्टीका नेता कार्यकर्ता त्यसबेला न कतै पीडितको राहतमा खटिए न उद्धारमै ? अरू नेता कार्यकर्ताका तर्फबाट सिङ्गै अध्यक्ष प्रचण्ड तीन दिन चितवनका विभिन्न कार्यक्रममा सहभागी बनेर काठमाडौँ फर्किए । जब कि त्यसबेला सिन्धुपाल्चोक, जाजरकोट, म्याग्दी लगायतका जिल्ला बाढी पहिरोबाट प्रभावित थिए । प्राकृतिक विपत्तिको यो अवस्थालाई ध्यानमा राख्दै उद्धार र राहतका कामलाई अझ प्रभावकारी बनाउन, घाइतेहरूको निःशुल्क र भरपर्दो उपचारको प्रबन्ध, घरबारविहीन भएकाहरूलाई अस्थायी आवासको प्रबन्ध र अभिभावक गुमाएका बालबालिकाहरूको संरक्षणका लागि विशेष प्रबन्ध गर्न पनि नेकपाले सरकारको ध्यानाकर्षण गराएको छ । 

सत्तारुढ दलको यो ध्यनाकर्षण औपचारिकता मात्रै नभए अवस्य पनि पीडितहरुले केही राहतको अनुभव गर्न पाउनेछन् । तर कति नेता कार्यकर्ता राहत र उद्धारमा खटिन्छन् ? भन्ने भोलिबाटै हुने व्यवहारबाट हेर्न र देख्न पाइनेछ । 

‘सम्पूर्ण जनप्रतिनिधि, पार्टी कार्यकर्ता एवं युवा विद्यार्थीहरूमा प्राकृतिक विपत्तिका बेला स्वयंसेवी भावनाका साथ उद्धार, राहत र पुनस्र्थापनाका काममा परिचालित हुन आह्वान गरिएको छ,’ प्रवक्ता श्रेष्ठको भनाइ छ । 
त्यसो त प्राकृतिक विपद् भन्दा पनि नेकपाभित्रको आन्तरिक विवादले नै बैठक स्थगित गर्न महत्त्वपूर्ण भूमिका खेलको कुरा घाम जत्तिकै भइसकेको छ । 

एक पक्ष ओलीको राजीनामा माग्ने र अर्कोपक्ष नदिने अडानबाट पछि नहट्दा असार १८ पछि पटक पटक मिति सार्दै र बैठक सर्दै आएको थियो । मङ्गलबारको बैठक पनि सहमति नजुटेकाले बस्ने नबस्ने दोधार हुँदै सदस्यहरु बालुवाटार पुगेका थिए । नभन्दै बैठक त बस्यो तर हिरो नै नभएको सिनेमाजस्तो अर्थात् प्रधानमन्त्री केपी शर्मा ओली अनुपस्थित भएर एउटा निर्णय गर्दै बैठक १३ गतेसम्मलाई स्थगित भयो ।

बैठक स्थगित गर्नुको सङ्केत 
पछिल्लो पटक एक साताका लागि (नेकपा) ले बैठक स्थगित गरेसँगै पार्टीभित्रको आन्तरिक विवाद तत्कालका लागि युद्धविरामको अवस्थामा छ । यो कुरा नेताहरुले पनि स्वीकार गरेका छन् । 
ओलीको राजीनामा प्रकरणले पार्टी विभाजनको सँघारमा पुगेका बेला नेताहरु विवादलाई तन्काउनुभन्दा नजानिदो ढङ्गले उठेका मुद्दाबाट पछि हटेर तत्कालका लागि युद्धविरामको अवस्थामा फर्किन बाध्य भएका हुन् । 


स्थायी समिति बैठक सुरु भएयता नेकपाभित्र निकै उतारचढाव आएका थिए । ती घटनाक्रमहरुले कुनै समय ओली शक्तिशाली त कुनै समय अर्का अध्यक्ष प्रचण्ड र माधव नेपाल पक्ष शक्तिशाली बन्ने क्रम बढ्दै गयो । जुन अवस्थालाई धेरैले पार्टी फुटको अवस्थाका रूपमा बुझे । जबजब पार्टीमा आफ्नो राजीनामाको मुद्दा बलियो बन्न थाल्यो तबतब ओलीले विभिन्न फन्डा फाल्दै स्थितिलाई विषयान्तर गर्दै आए । 

बैठक जुन विषयमा छलफल गर्ने भनेर बोलाइएको हो त्योभन्दा बढी अन्य विषयमा केन्द्रित बन्दै जान थाल्यो । अर्थात् नयाँ मुद्दा पनि थपिँदै गए । ती मुद्दा कुनै आफै सिर्जित भए त कुनै जबरजस्त सिर्जना गरियो । 
जब कि असार १० गते बैठक सुरु गर्दा सातवटा एजेन्डा तय गरिएको थियो । अनि त्यसको केही दिनपछि २ वटा एजेन्डा थप गरेर नौवटा बनाइयो । तर तीमध्ये एक महिनाको अवधिमा एउटा एजेन्डामा मात्रै छलफल भयो । बाँकी समय अरू नै मुद्दाले प्रमुखता पाए ।  

कुन कुन मुद्दाले पाए प्रमुखता ? 
१. प्रधानमन्त्री हटाउन भारत नै लागेको र त्यसमा नेकपाका नेता नै संलग्न भएको ओलीको खुलासा ।
२. राम जन्मभूमि नेपाल नै रहेको भन्ने प्रधानमन्त्रीको अभिव्यक्ति । (जसलाई अयोध्या प्रकरण भनेर चिनिन्छ ।)
३. केन्द्रीय समिति बैठकको प्रस्ताव ।
४. अर्ली महाधिवेशन प्रस्ताव ।
५. पार्टीको सिद्धान्त जनताको बहुदलीय जनवाद (जबज) ।
६. संसद् अधिवेशन अन्त्य गर्ने सरकारको निर्णय । 
७. अचानक शनिबार ओलीसँगै प्रचण्ड राष्ट्रपति भेट्न जानु र परिबन्दमा परेको भनेर प्रष्टीकरण दिनु ।
८. बाढी पहिरो र डुबान । 
माथिका ८ मुद्दामध्ये बाढी पहिरो र डुबानबाहेक अरू सबै आफैले सिर्जना गरेका मुद्दा हुन् । जुन मुद्दा बैठकमै छलफल गरेर किनारा लगाउन सकिने भए पनि बाहिर ल्याएर स्थितिलाई अन्यत्र मोड्न सहज बनाएको देखिन्छ । 

निकास कि सर्वनाश ? 
बैठक स्थगित गरेपछि धेरैलाई पार्टीभित्रको विवादले निकास पाउला कि भन्ने कतिपयको बुझाइ छ । तर तय भएका एजेन्डामै छलफल नहुने र बरु एजेन्डा थपिँदै जाने अनि छलफल र निष्कर्ष कुनैको नआउने भएपछि बैठक माग गर्ने नेताहरु नै बैठक चाँडो सक्न पाए हुन्थ्यो भन्ने मानसिकता बनाउन थालिसकेका छन् । 

जुन मानसिकता पार्टीको शीर्ष तहमा समेत हावी भइसकेको छ । त्यसै पनि ओलीले बैठकको अन्त्य गर्न अर्का अध्यक्ष प्रचण्डलाई मुखै फोरिसकेका छन् । तर प्रचण्डसँगको सहकार्यमा रहेको माधवकुमार नेपाल समूह बैठक अन्त्य गर्ने कुराको विपक्षमा छ । यसले गर्दा विवादकर्ताहरु नै ‘सेफल्यान्डिङ’ कसरी गर्ने भन्नेमा पुग्नु स्वाभाविक हो । 

कतिपयले पार्टी विभाजन रोक्न पवित्र चाहनाले बैठक स्थगित गरेर र समय लिएर निकास खोज्नुलाई सकारात्मक ठानेका छन् । पार्टीभित्रको विवादमा मध्यमार्गी भूमिका निर्वाह गर्नेमध्येका एक नेता तथा स्थायी समिति सदस्य देवेन्द्र पौडेलको भनाइमा अहिले बैठक स्थिगित गरेको अवस्था भनेको एक हिसाबले युद्धविराम नै हो । 

‘यो एक हिसाबले युद्धविराम नै हो’, नेता पौडेलले रातोपाटीसँग भने, ‘देशको निम्ति, जनताका निम्ति र मतदाताका निम्ति र कतिपय कूटनीतिक समस्या सुल्झाउनका लागि नेकपा फुट्यो भने अवस्था प्रतिकूल हुन्छ । त्यसकारण संविधानको कार्यान्वयन, गणतन्त्रलाई अगाडि बढाउन, समाजवादउन्मुख राज्यप्रणाली ल्याउन नेकपा फुट्ने होइन आन्तरिक समस्या हल गरेर एकताको विन्दु खोज्दै अगाडि बढ्नुपर्ने भएकाले सहमति खोज्न प्रयास भएको हो ।’

पौडेलका अनुसार निकास र सहमतिको विन्दु पहिचान भएरै छोड्छ । 
‘पार्टी विभाजन र फुटले नेपालको बामपन्थी आन्दोलनलाई धेरै ठूलो नोक्सान गर्छ, त्यसकारण तपाईंहरुले आत्मसमीक्षा गरेर फुट र विभाजन रोक्नुस् । अरू विषयको बहस महाधिवेशनबाट गरौँला भनेर शीर्ष नेतालाई भनेका छौँ’, नेता पौडेलको भनाइ छ ।

तर के यो प्रवृत्ति र प्रक्रियाले पार्टीलाई दीर्घकालीन फाइदा हुन्छ त ? अथवा पार्टी विभाजन रोकिन्छ त ? विश्लेषक श्याम श्रेष्ठ यो मान्न तयार छैनन् ।  उनको विश्लेषणमा नेकपाका पछिल्ला गतिविधि सुधार र निकास होइन सर्वनासको बाटोमा जाँदैछन् ।

 ‘बैठक स्थगित गर्न बहाना जेजे बनाए पनि अहिलेलाई यिनीहरु एउटा सम्झौतामा पुगेर रोकिन्छन् नै भन्ने देखिन्छ’, विश्लेषक श्रेष्ठले रातोपाटीसँग भने, ‘त्यो सम्झौता एउटालाई प्रधानमन्त्री पक्का, अर्कोलाई पार्टी अध्यक्ष पक्का र बाँकीलाई अन्य पदहरु पक्का गर्ने सम्झौतामा जान्छन् भन्ने देखिन्छ ।’

उनी नेकपाका नेताहरुले यसरी सम्झौता गरेर सामसुम पारे पनि विवाद भुसको आगो जसरी बढ्दै जानेछ ।

‘अनुकूल मौका आउनेवित्तिकै भुसमा आगो लागेर नेकपा नामको जिनिस सर्वनास हुने देखिन्छ’, श्रेष्ठको दाबी छ । नेकपामा देख्दा दुई पक्षीय देखिए पनि त्रिपक्षीय लडाइँ मात्रै होइन, हरेकले हरेकलाई दागा धरेका छन् । 
‘दागा धरेपछि मौका पाउने वित्तिकै बदला लिइन्छ’, नेकपाको आन्तरिक राजनीतिलाई नजिकबाट नियालेका श्रेष्ठ थप्छन्, ‘केपी ओलीको त दागा धर्ने पुरानै बानी हो, प्रचण्ड पनि यसमा कम छैनन् भने माधव नेपाल पक्ष मौका हेरेर बसेका छन्’, श्रेष्ठ भन्छन्, ‘सबभन्दा नलक्पकाको भनेको नै माधव नेपाल हुन् ।’

नेकपाभित्रको समीकरणमा प्रचण्ड र माधव नेपाल मिल्दा सबैतिर स्पस्ट बहुमत छ । बहुमतमा देखिए पनि यो समूहमा साहस भने देखिँदैन । राजनीतिमा जसको आँट छ त्यसले बाजी मार्ने गरेका कैयाँै उदाहरण छन् । 
‘प्रचण्ड समूहमा पार्टीका सबै निकाय र संसदीय दलमा समेत ६० प्रतिशत बहुमत छ । यदि यस्तो अवस्थामा प्रधानमन्त्रीको राजीनामा नै मागिएको र हटाउनै चाहेको हो भने संसदीय दलको बैठक राखेर हटाइदिए भैगो नि’, विधि र प्रक्रियाको कुरा गर्नेहरुलाई पनि श्रेष्ठको जवाफ छ । 

‘सेफ ल्यान्डिङ’ छैन
त्यसो त विवाद बढ्दै गएपछि पार्टी फुट्ला कि भन्ने मनोविज्ञान नेकपाका धेरै नेता कार्यकर्तामा बढ्न पुग्यो । तर यो मनोविज्ञान जसमा बढी हुनुपर्ने हो त्यसमा पटक्कै देखिएन । यसमा पार्टी फुट्न डर नै नभएको केपी ओलीमा देखियो । श्रेष्ठ भन्छन्, ‘अध्यक्ष भएको हैसियतमा ओलीलाई पार्टी फुट्ला कि भन्ने डर हुनुपर्ने हो । तर उनमा त्यो डर पटक्कै देखिएन । बरु त्योभन्दा बढी डर प्रचण्ड वा माधव नेपाल पक्षमा देखियो ।’ 

विश्लेषक श्रेठका अनुसार पछिल्लो समय चर्चामा आएको जनताको बहुदलीय जनवाद (जबज) र एक्काइसौँ सताब्दीको जनवादमा तात्विक अन्तर छैन । केवल त्यो शब्दहरुको अन्तर मात्रै हो । त्यति मात्रै होइन, पार्टी फुट्ला भन्ने डर र नेकपामा कुनै पनि ल्यान्डिङ ‘सेफ ल्यान्डिङ’ को अवस्था छैन । 


‘किनभने एकले अर्कालाई दागा धर्ने र पार्टी पार्टी नै रहेको छैन । पार्टी हाइली सेल्फिस भयो । इन्ट्रेस्ट ग्रुपहरुको केन्द्रबाहेक केही रहेन । त्यो ग्रुपको केन्द्रमा न देश छ ? न पार्टी ? न विचार र सिद्धान्त नै देखिन्छ’, नेकपाको अवस्थाको मूल्याङ्कन गर्दै श्रेष्ठले भीरमा फालेको भकुण्डोको संज्ञा दिए । 

अवश्यकता एकातिर बहस अर्कोतिर ? 
यतिखेर जिम्मेवार राजनीतिक पार्टीले बहस गर्नुपर्ने आवश्यकता हो कोरोना विरुद्धको लडाइँ र त्यसलाई जित्ने उपाय हुनुपर्ने हो । सीमाबारे भारतविरुद्ध कसरी प्रस्तुत हुने ? देशको आर्थिक विकास र जनताको समृद्धि कसरी बढाउने ? भन्नेमा हुनुपर्ने हो । तर त्यतातिर कुनै छलफल, बहस विचार केही भएको छैन । ‘तर नेताहरुको ध्यान, कुर्सी, सत्ता, तँलाई फलानो पद मलाई फलानो पद । जसले पद्धतिको कुरा उठाएका छन् त्यो पनि केन्द्रमा छैन’, श्रेष्ठ भन्छन्, ‘पद्धति बसाल्ने हो भने त केन्द्रीय समिति बैठक डाकिहाल्थे नि ? केले छेकेको छ ? एक चौथाइले मागेपछि त हुन्छ, त्यो हैसियत पनि छ । त्यसरी बैठक डाकेर यो यो सिस्टममा पार्टी, देश र सरकार चल्नुपर्छ भन्न किन नसक्ने ? यसले त जनवादसनवाद पनि यिनीहरुले फालिसके ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

फणीन्द्र नेपाल
फणीन्द्र नेपाल

 फणीन्द्र नेपाल  राजनीति र समसामयिक विषयमा कलम चलाउँछन् ।

लेखकबाट थप