बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

'लकडाउन अन्त्य सरकारको अपरिपक्क निर्णय'

लकडाउन अन्त्य र हवाइजहाज संचालनसँगै सम्भावित सेकेण्ड वेभबारे सचेत बनौंः जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे
मङ्गलबार, ०६ साउन २०७७, २२ : ०९
मङ्गलबार, ०६ साउन २०७७

सरकारले आज रातिबाट लागु हुनेगरी लकडाउन अन्त्य गरेको छ । कोरोना संक्रमणको समुदायमा व्यापक परीक्षण गरेर वास्तविक अवस्था थाहा नपाई गरिएको यो निर्णय हतारयुक्त र अपरिपक्व देखिने जनस्वास्थ्य विज्ञ डा. रविन्द्र पाण्डे बताउँछन् ।

शहरी क्षेत्रमा संक्रमितको संख्या दिन प्रतिदिन बढ्दै जानु, परिक्षणको दर घटाउनु र लकडाउनको अन्त्य गरिनुले अवको अवस्था भयावह बन्न सक्ने तर्फ विज्ञहरुले सचेत गराएका छन् । लकडाउन अन्त्य भयो भन्दैमा कोरोनाभाइरसको महामारी अन्त्य भएको छैन । यसबारे आम नागरिक सचेत हुन जरुरी छ ।

ब्यापक कडाइ, निगरानी र सतर्कता नअपनाएमा यसले जनस्वास्थ्यमा संकट ल्याउन सक्नेबारे यस अघि पनि विज्ञहरुले बारम्बार बताउँदै आइरहेका छन् । 

देशका करिब ७० जिल्लामा संक्रमित रहेको, काठमाडौं उपत्यकालगायत शहरी क्षेत्रमा फाट्टफुट्ट कोरोना संक्रमण देखिइरहेको, परीक्षणको दायरा एकदम साँघुरो भएको, छिमेकी देश भारतमा कोरोना संक्रमण ब्यापक फैलिएको तथा नेपालसँग सिमाना जोडिएका बिहार, युपी तथा पश्चिम बंगालमा कोरोना संक्रमण निकै बढेको अवस्थामा लकडाउन अन्त्य गर्नु निकै जोखिमपूर्ण हुने डा. पाण्डे बताउँछन् ।

एकातिर बाढी पहिरोले आक्रान्त बनेको अवस्था छ । लाखौं जनता घरबार विहीन बनिरहेको अवस्थामा संक्रमण फैलिइहाल्यो भने त्यसलाई कसरी नियन्त्रण गर्ने भन्नेबारे कुनै तयारी सरकारे देखिँदैन ।

सरकारले लकडाउन अन्त्य गरेसँगै आउन सक्ने सम्भावित खतरालाई डा.पाण्डेले यसरी औंल्याएका छन् । 

-परीक्षण गर्दै चरणबद्ध रुपमा लकडाउनको व्यवस्थापन गर्नुपर्नेमा विज्ञसँग पर्याप्त छलफल नगरि लकडाउन खोल्दा समुदायमा कोरोना संक्रमण फैलिने डर विद्यमान छ । 

-सिमाना प्रभावकारी ढंगले शिल नगर्ने हो भने भारतबाट धेरै संक्रमित नेपाल प्रवेश गर्ने खतरा विद्यमान छ  ।

-आम नागरिकले सकभर घरमै बस्ने, घरबाहिर निस्किदा सहि तरिकाले मास्क लगाउने, भीडभाडमा नजाने, बाटो, चोक, पसल, अफिस लगायत सबै ठाउँमा घटीमा ६ फिटको दुरी कायम गर्ने, आबश्यकता अनुसार चस्मा तथा पन्जाको प्रयोग गर्ने ।

-चाडपर्व नजिकिँदै गरेको हुँदा भोजभतेर नगर्ने, सुरक्षित तरिकाले घरमै चाडपर्व मनाउने लगायतका सुरक्षा सतर्कता अझै बढाउन जरुरी छ ।

हवाइजहाज संचालन र त्यसपछि अपनाउनुपर्ने सावधानी

त्यसैगरी, हिजै मात्र बसेको मन्त्रिपरिषद बैठकले हवाइजहाज संचालनबारे पनि निर्णय गरेको थियो । सरकारले भदौं १ गतेदेखि उडान सुचारु गर्ने निर्णय गरेको थियो । उडान सुचार गर्नेबारे जनस्वास्थ्य विज्ञ डा. पाण्डे होलसेलमा गरिएको यो निर्णय नेपालको लागि प्रत्युत्पादक बन्न सक्ने बताउँछन् । 

कोरोनाभाइरसको संक्रमण फैलिँदो छ, साथै समुदायमा संक्रमण देखिए पनि हालसम्म नेपाल सुरक्षित नै छ । अन्तर्राष्ट्रिय उडान गर्ने वित्तिकै नेपाललाई कोरोना संक्रमणबाट सुरक्षित राख्न थप चुनौची थपिने बारे डा. पाण्डे सचेत गराउँछन् । 

उनी भन्छन्, "भारत लगायत विभिन्न देशबाट ठूलो संख्यामा संक्रमितहरु नेपाल आएमा समुदायमा कोरोना संक्रमण फैलिने खतरा ह्वात्तै बढेर जानेछ । ज्ञातव्य छ भारतमा असोजभर कोरोना संक्रमण फैलिएर कार्तिकबाट नियन्त्रण उन्मुख हुने अध्ययनहरुले बताएका छन् ।"

सरकारले उडान संचालन गर्ने बताए पनि यसलाई कसरी सुरक्षित तरिकाले संचालन गर्न सकिन्छ त भन्नेमा सरकारको ध्यान जान जरुरी छ । यसबारे जनस्वास्थ्य विज्ञ डा. पाण्डेको सुझाव यस्तो छ ।

-भदौ १ गतेदेखि संक्रमण कम भएका जिल्लामा आन्तरिक उडान गर्ने । 
-असोज १ देखि नेपाली कामदार भएका देशमा तथा कोरोना संक्रमण नियन्त्रण भएका देशमा मात्र अन्तर्राष्ट्रिय उडान संचालन गर्ने  । 
-कार्तिकदेखि क्रमशः संक्रमण नियन्त्रण भएका देशबाट हवाई संचालनको अनुमति दिने । 

-यो महामारी र सम्भावित सेकेण्ड वेभ (कात्तिक र मंङिसरदेखि सुरु हुनसक्ने) को लागि हामी पूर्ण रुपमा तयारी गर्नुपर्ने अवस्था छ ।

-चाडपर्वको लागि २, ३ लाख नेपाली भारतबाट आउन सक्ने तथा करिब १ लाख नेपाली अन्य देशबाट नेपाल आउने सम्भावना पनि छ । उनीहरुलाई राख्ने होल्डिङ्ग सेन्टर र क्वारेन्टिन व्यस्थित गर्ने ।

-परीक्षणको क्षमता बढाउने तथा संक्रमितलाई राख्नको लागि आइसोलेशन सेन्टरको प्रबन्ध गर्ने काम सकेर मात्र निर्णय गर्नु बुद्धिमानीपूर्ण निर्णय हुनेछ ।

-हामीले यो तथ्य नबिर्सौं, नेपालमा कोरोना संक्रमण हराएको छैन । ठूला शहर, संक्रमित गाउँ तथा बोर्डर क्षेत्रमा ब्यापक परीक्षण गरेर निचोडमा नपुगी अपरिपक्व निर्णयले अवस्था भयावह हुन सक्छ । सरकारको फितलो अनुगमन हाल चलेका सार्वजनिक यातायातले देखाएका छन् ।

-अर्को कुरा महामारी अन्त्य नहुन्जेलसम्म विकसित देशबाट कुनै पनि पर्यटक नेपाल भ्रमणमा आउने संचावना छैन । न त हामीहरु भ्रमण गर्न कुनै देशमा जानेछौं ।

-नेपाली कामदार, विद्यार्थी तथा बाहिर रहेका नेपालीलाई आफ्नो देश आउनको लागि सहजीकरण गर्ने उद्देश्य राखेर मात्र हवाइजहाज संचालन गर्नु सुरक्षित देखिन्छ ।

अतः सरकारले निर्णय गरिसकेको अवस्थामा आम नागरिक स्वयं सचेत बन्न जरुरी छ । यो महामारी हो आफू सतर्क बनियो भने बच्न सकिन्छ र अरुलाई पनि बचाउन सकिन्छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप