शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

फिल्म निर्देशक अनुभव सिन्हाले ‘बलिउडबाट राजिनामा’ दिएर के भने ?

बुधबार, ०७ साउन २०७७, १४ : ३६
बुधबार, ०७ साउन २०७७

फिल्म निर्देशक अनुभव सिन्हाले बलिउडबाट राजिनामा दिएका छन् । श्रृङ्खलाबद्ध ट्वीट गरेर सिन्हाले आफ्नो ट्वीटर नाममा ‘नट बलिउड’ पनि जोडिदिएका छन् ।

यतिबेला बलिउडमा नेपोटिजम, गुटबन्दी, इन्साइडर भर्सेज आउटसाइडर्सको बहस चलिरहेको छ । यी विषयबीच थप्पड, आर्टिकल १५ जस्ता फिल्मका निर्देशक अनुभव सिन्हाले ‘बलिउड’ को विषयमा नयाँ बहस सुरु गरेका छन् ।

अनुभवले ट्वीटरमा नाम परिवर्तन गरेको स्क्रिनसट सेयर गरेका छन् । साथै लेखेका छन्, ‘अब अत्ति भयो । म बलिउडबाट राजिनामा दिँदैछु ।’

उनले यत्तिमात्रै के भनेका थिए अनुभवका थुप्रै प्रशंसकले ट्वीट गरेर उनलाई फिल्मी उद्योग नछोड्न आग्रह गर्न थाले ।

मुशाद्दिक काजीले ट्वीट गरे, ‘त्यो भए अब कसले मुल्क, आर्टिकल १५ र थप्पडजस्ता फिल्म बनाउला ?’

अर्का प्रयोगकर्ताले लेखे, ‘यस्तो नगर्नुहोस् । हामीले पुनः आर्टिकल १५ जस्ता फिल्म हेर्न पाउने छैनौं र नयाँले मौका पाउने छैनन् ।’ अभिनवले लेखे, ‘बलिउडबाट राजिनामा दिनु त ठिकै हो तर हिन्दी फिल्मी उद्योगमा काम गरिरहनुहोस् ।’

अर्का एक प्रयोगकर्ताले लेखे, ‘एक युवा प्रतिभाले आत्महत्या गर्छन् र तपाईं सिस्टममाथि प्रश्नसमेत उठाउन सक्नुहुन्नँ ?’

अनुभवले अर्को एक ट्वीटमा लेखे, ‘मलाई थाहा छैन, म किन आएँ । म त फिल्म मात्रै बनाउन चाहन्थेँ । यस्तो के भयो भनेर म खोज्ने प्रयास गरिरहेको छु ।’

बलिउड वा भारतीय सिनेमा ?

अनुभव सिन्हाको यो अभियानमा अन्य फिल्म निर्माताले पनि साथ पाएको छ । सुधिर मिश्राले ट्वीट गरेर यो अभियानको समर्थन मात्रै गरेनन्, उनले त आफ्नो नजरमा कहिले पनि बलिउडको अस्तित्व नै नभएको बताए ।

सुधिर मिश्राले ट्वीट गरे, ‘के हो यो बलिउड । म त त्यो सिनेमाको हिस्सा बन्न आएको थिएँ जहाँ सत्यजीत रे, राज कपुर, गुरु दत्त, बिमल रोय, जावेद अख्तरजस्ता मानिसहरु काम गर्छन् । म सधैं यहि गरिरहनेछु ।’

सुधिर मिश्राले अर्को एउटा ट्वीटमा भने, ‘बलिउड छोड । आऊ, भारतीय सिनेमातर्फ अघि बढौं । भारतीय कथावाचनको दुनियाँमा ।’ यो ट्वीटमा उनले अनुभव सिन्हा, हंसल मेहता, अनुराग कश्यप, निखिल आडवाणी, विक्रम मोटवानी, विजय आचार्यसमेत थुप्रै निर्देशकलाई पनि ट्याग गरेका छन् ।

यद्यपि, यो ट्वीटमा सुधिर शर्माको आलोचना गर्दै एक प्रयोगकर्ताले लेखे, ‘र यो सूचीमा एकजना पनि महिला निर्देशकको नाम समावेश छैन । मीरा नायरले पनि तपाईंलाई एक–दुई कुरा सुनाउन सक्छिन् ।’

हंसल मेहताले पनि अनुभव र सुधिरको सुरमा सुर मिलाइरहेको देख्न सकिन्छ । कम्तीमा सोसल मिडियामा त यस्तै लागिरहेको छ ।

उनले लेखे, ‘मैले पनि बलिउड छोडिदिएँ । तर हुन त पहिले पनि यो मेरो लागि अस्तित्वमा थिएन ।’

सुधिर र हंसलको ट्वीटपछि अनुभव सिन्हाले लेखे, ‘ऊ अर्को पनि गयो, सुन भाइ, अब जब तपाईं बलिउडको कुरा गर्नुहुन्छ तब हाम्रो कुरा गरिरहनुभएको हुने छैन ।’

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप