बुधबार, ०९ जेठ २०८१
ताजा लोकप्रिय

परम्परा र महिला दासता

शुक्रबार, ०९ साउन २०७७, ०७ : ४८
शुक्रबार, ०९ साउन २०७७

भनिन्छ, “धर्मका विरुद्ध बोल्नु पनि अधर्म हो र धर्मका निम्ति हुने अधर्म पनि धर्म नै हो ।” महाभारतमा कृष्णले धर्म स्थापनाका खातिर महायुद्धको रचना गरे । जहाँ आफ्नाहरु नै आफ्नाहरूको रगतको प्यासी बने । त्यो युद्धलाई जायज ठहर्‍याइन्छ । किनकि, त्यो धर्म स्थापनाका लागि भएको ठानिन्छ । त्यसैगरी रामायणमा पनि रामले गरेका हरेक कर्तुतहरू जायज मानिन्छन् । भनिन्छ, “उनले जे गरे, त्यो धर्मका निम्ति गरे ।” धर्मको एउटा नियम छ, “आफूलाई ईश्वरमा समर्पित गर र चुपचाप शास्त्रहरुको अनुसरण गर ।” शास्त्र परिमार्जन गर्न वा आलोचना गर्नका निम्ति हुँदैन । श्रीमद्भागवत गीताको भूमिकामा स्पष्ट रुपमा लेखिएको छ, “कसैलाई भागवत गीताको एउटा अंश स्वीकार गर्ने र अर्को अंश अस्वीकार गर्ने अनुमति दिन सकिँदैन ।” अर्थात्, हामीले भागवत गीतालाई भाष्यमुक्त टिकाटिप्पणीरहित तथा संशोधनरहित अवस्थामा स्वीकार गर्नुपर्दछ । गीताले आफ्नो अध्ययनको निम्ति हरेक व्यक्तिलाई अर्जुन बन्न माग गर्दछ । अर्जुन महाभारतका ती पात्र हुन्, जसले शिष्यका रुपमा कृष्णबाट शिक्षा ग्रहण गरी निर्विरोध रुपमा श्रीकृष्णका सबै कुरा स्वीकार गरेका थिए । यसबाट स्पष्ट हुन्छ कि, धर्मले विरोध र आलोचना स्वीकार गर्दैन ।

तर, हामी भन्छौँ, “धर्म पूर्णतया स्वीकार गर्नुपर्छ भन्ने हुँदैन । त्यसका सकारात्मक पक्षहरू अनुसरण गर्दै जाने हो र नकारात्मक कुराहरू त्याग गर्दै परिमार्जन गर्दै जाने हो ।” अब प्रश्न उठ्छ कि, के हामीलाई  यसको चाहिँ अनुमति छ त ?

वर्षभरि घरको चुलोचौको, मेलापातबाट बेफुर्सदी महिलाहरू त्यो एक दिन कतै टोल वा चोकमा जम्मा भएर दुःख र वेदनाले भरिएका गीतहरू गाएर मनको बह पोख्दै नाचगान गरेर रमाउने गर्छन् । व्रतका नाममा भोको पेटमा गरिएको मनोरञ्जन कस्तो हुन्छ होला ? हुन त त्यो परम्परा भनेर अधिकांश महिलाहरूले खुसीखुसी स्वीकार गर्ने गरेका छन् । वास्तवमा त्यो परम्परा पितृसत्ताले महिलामाथि लगाएको लगाम र शोषणको पराकाष्ठा नै हो ।


परम्परासँग महिला उत्पीडन र दासताको निकै पुरानो सम्बन्ध छ । परम्पराको जन्जिरमै जेलिएर महिलाहरू दासता अँगालिरहेका छन् । अन्धविश्वास र कुरीति जस्ता कुराहरूका सामु आफूलाई समर्पित गरेका छन् । त्यही परम्पराभित्रको एउटा पर्व हो, तीज । भन्न त यसलाई महिला विशेष पर्व भनेर पनि भनिन्छ । सदियौँदेखि तीज पर्व महिलाहरूले धुमधामसँग मनाउँदै आइरहेका छन् । वर्षभरि घरको चुलोचौको, मेलापातबाट बेफुर्सदी महिलाहरू त्यो एक दिन कतै टोल वा चोकमा जम्मा भएर दुःख र वेदनाले भरिएका गीतहरू गाएर मनको बह पोख्दै नाचगान गरेर रमाउने गर्छन् । व्रतका नाममा भोको पेटमा गरिएको मनोरञ्जन कस्तो हुन्छ होला ? हुन त त्यो परम्परा भनेर अधिकांश महिलाहरूले खुसीखुसी स्वीकार गर्ने गरेका छन् । वास्तवमा त्यो परम्परा पितृसत्ताले महिलामाथि लगाएको लगाम र शोषणको पराकाष्ठा नै हो । पितृसत्ताले ‘तीज तिमीहरूको हो, नाच गाऊ रमाऊ’ पनि भनेको छ, तर परम्पराको नाममा पुरूषहरूका निम्ति ‘भोकै निर्जल र निराहार व्रत बस’ पनि भनेको छ । परम्पराकै खातिर पुरूष (पति) को गोडा धोएको पानी पनि खुवाएको छ । अब प्रश्न उठ्छ कि, पुरूषका निम्ति भोकै व्रत बसी गोडाको पानी खाएर पतिको लामो आयुको कमना गरेर पतिकै गुणगान गाएर नाचेर मनाइने पर्व कसरी महिला विशेष पर्व हुन्छ होला ? पितृसत्ताको यो दोहोरो चरित्र महिला स्वतन्त्रताका निम्ति सधैँ नै घातक बनेको छ । महिलालाई देवी पनि भनेको छ अनि सम्पूर्ण शोषणको पराकाष्ठा पनि पार गरेको छ । महिलालाई महान् पनि भनेको छ र महान् बनाएरै ठूलाठूला त्यागहरूको माग पनि गरेको छ । हाम्रा धर्मशास्त्रका नारी पात्रहरू सती सावित्री, पार्वती, बृन्दादेखि सीतासम्म आइपुग्दा सोचौँ, कुनचाहिँ स्त्री पात्रहरू तत्कालीन व्यवस्था र पुरूषद्वारा उत्पीडित थिएनन् ?

गौरी ती स्त्री हुन्, जसको प्राण पिताको अहङ्कार र पतिको आत्मसम्मानको ज्वालाले जलाएर नष्ट गरिदियो । सीता ती स्त्री हुन्, जसलाई आदर्श नारी भनेर घरघरमा उनको महिमा गाइन्छ । तर, वास्तवमा सीता रामायणले जन्माएकी उत्पीडित पात्र हुन् । उनी पुरूष अभिमानका कारणले अपहरणमा परेकी र तथाकथित पुरूष मर्यादाकै कारण परित्याग गरिएकी एक परित्यक्ता पत्नी हुन् । आफ्ना सन्तान हुर्काउन उनले गरेको एकल सङ्घर्ष पनि कम कष्टकर छैन । त्यसैगरी महाभारतकी स्त्री पात्र द्रौपदी एक स्वाभिमानी स्त्री हुन् । तर, स्त्री स्वाभिमानको परिणामस्वरुप उनीमाथि आइपरेका सङ्कटहरू कम भयानक छैनन् । यी सबै कथ्यहरुले के शिक्षा दिन्छन् भने स्त्री सधैँ त्यागी र सहनशील हुनुपर्छ, तर आत्मस्वाभिमानी हुनुहुँदैन । इतिहासका हरेक नारी पात्रहरू सदैव पुरूषबाट शोषित र उत्पीडित छन् । तर, शोषण झेलेरै उनीहरू महान् कहलाइएका पनि छन् । यसले आगामी पुस्तालाई दिन खोजेको सन्देश ‘नारीहरु पुरूषद्वारा उत्पीडित हुनुपर्छ र उत्पीडन सहेरै महान् हुन्छन्’ भन्ने नै हो ।

यहाँ तीजसँगै जोडिएको अर्को प्रसङ्ग पनि उल्लेख गर्न चाहन्छु । हामी तीज पर्वको नजिकै छौँ । बजारमा नयाँनयाँ तीज गीतहरू आएका छन् ।

‘अबको तीज, नो व्रत प्लिज
नो खुट्टाको पानी
रङ्गीबिरङ्गी चुरा र साडी, गहनाको भारी
गुडियाजस्तै सजिएर नखाने दर हामी’

https://i.ytimg.com

भर्खरै बजारमा आएको गायिका सोफिया थापाको यो तीज गीत अहिले एकैसाथ चर्चा र विवादमा परेको छ । यी शब्दहरुले कुनै धर्म तथा सम्प्रदायमाथि हमाला गरेका छैनन्, बरू सांस्कृतिक रुपान्तरणको माग गरेका छन्, परम्परागत सोचमाथि विद्रोहको अपिल गरेका छन् । संस्कृतिमा असर पुर्‍याएको भन्दै उनको गीतलाई हटाउन बाध्य पारिएको छ । सदियौँदेखि महिलाहरू व्रत बसेर पतिको गोडाको पानी खाएर साडी र गरगहनाहरूमा गुडियाजस्तै सजिएर तीज पर्व मनाउँदै आइरहेका छन् । अब यो सिलसिला क्रमभङ्ग हुनुपर्छ भन्ने सन्देश दिएको यो गीतको अत्यधिक विरोध हुनु दुखद कुरा हो । समाज रुपान्तरणका लागि कला साहित्य तथा गीत सङ्गीतहरूको पनि अहम् भूमिका रहेको हुन्छ भन्ने कुरा नकार्न सकिँदैन । कला साहित्य तथा गीत सङ्गीतको तार साधारणभन्दा साधारण मानिसहरूको मन र चेतनासँग सीधै जोडिएको हुन्छ । जुन कुरा हामीले शिक्षा र भाषणद्वारा सम्झाउन सक्दैनौँ, त्यो कुरा गीत सङ्गीतको माध्यमबाट सजिलै बुझाउन सक्छौँ ।

श्रीमान‍्को महिमा गाइएका; सासू र बुहारी तथा भाउजू, नन्द र अमाजूहरूलाई आपसमा लडाइएका; सुन्दै विरक्त लाग्ने वेदना पोखिएका गीतहरूभन्दा सन्देशमूलक र सांस्कृतिक रुपान्तरणमा टेवा पुर्‍याउने खालका गीतहरू अबको समयको माग हो भन्ने कुरा किन स्वीकार नगर्ने ? समाजलाई कुवा बनाउनु हुँदैन, बरू निर्वाध नदीजस्तै बग्न दिनुपर्छ भन्ने कुरा कहिलेसम्म अस्वीकार गर्ने ?


श्रीमान‍्को महिमा गाइएका; सासू र बुहारी तथा भाउजू, नन्द र अमाजूहरूलाई आपसमा लडाइएका; सुन्दै विरक्त लाग्ने वेदना पोखिएका गीतहरूभन्दा सन्देशमूलक र सांस्कृतिक रुपान्तरणमा टेवा पुर्‍याउने खालका गीतहरू अबको समयको माग हो भन्ने कुरा किन स्वीकार नगर्ने ? समाजलाई कुवा बनाउनु हुँदैन, बरू निर्वाध नदीजस्तै बग्न दिनुपर्छ भन्ने कुरा कहिलेसम्म अस्वीकार गर्ने ?


महिलालाई माल भनिएका, युवालाई नसामा चुर्लुम्म डुब्न प्रेरित गर्ने लागुपदार्थको विज्ञापन गरिएका गीत अनि पोइला जान पाऊँ भनेर माग गरिएका अत्यन्तै अभद्र र उच्छृङ्खलताले भरिएका गीतहरू स्वीकृत भएको समाजमा व्रत नबस्न, श्रीमान्को चरणको जलपान नगर्न, दासी बनाउने आभुषण त्याग गर्न अपिल गरिएका गीतको महिलाहरूबाटै विरोध हुनुले हाम्रो समाजमा महिलाहरूको मानसिक दासताको स्थितिलाई छर्लङ्गै पारेको छ ।

स्वतन्त्रताको गीत गाएकै आधारमा एक गायिकामाथि भएको यो चौतर्फी प्रहार साँच्चिकै निन्दनीय छ । धार्मिक आँखामा गोडाको पानी खानु आस्था र श्रद्धा हुन सक्ला, तर नारी समानताको आँखाबाट हेर्ने हो भने त्यो महिलाहरुलाई पुरूषको दासी बनाउने र निच देखाउने प्रथा नै हो । स्वास्थ्यको नजरबाट पनि चरण धोएको पानी खानु हानिकारक नै छ । भोकलाई मारीमारी धर्मकै निम्ति कोही व्रत बस्नु जरूरी छैन र खुट्टाको जलपान नगरौँ भन्नु हिन्दू धर्ममाथिको आक्रमण हुँदै होइन । बरू महिलाहरूलाई जागरूक हुन, दासताका बन्धनहरु चुँडाल्न र अन्धविश्वासलाई त्याग्न गरिएको आह्वान हो ।

फरक मत राखेकै आधारमा, फरक प्रकारको गीत गाएकै आधारमा, आफू माथिको उत्पीडन सहन तयार नभएकै आधारमा र फरक सोच बोकेकै आधारमा महिलाहरू आखिर कतिन्जेल सामाजिक तिरस्कारबाट गुज्रिनुपर्ने हो ? सामाजिक सञ्जालहरूमा घटिया र तुच्छ गालीहरूको सिकार कतिन्जेल भइरहनुपर्ने हो ?

तीज पर्वको नाममा भित्रिएका विकृतिहरूसँग हामी जानकार नै छौँ । हामीले स्वतन्त्रता र विद्रोहको सही कडी पक्डन नसक्नु आजको समस्या हो । रेस्टुरेन्ट, डिस्को वा बारतिर गएर दारू र बियरका बोतल लिएर नाच्नु स्वतन्त्रता होइन । बरू मानसिक दासताबाट मुक्त हुन गलत परम्परा र अन्धविश्वासको त्याग गर्न सक्नुचाहिँ साँचो अर्थमा विद्रोह हो र महिलाहरुको स्वतन्त्रताको सुरूवात पनि हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुमिना
सुमिना
लेखकबाट थप