केन्द्रीय संस्करण

‘अफ दि रेकर्ड’ वाला दुई घण्टे भेटघाटको मक्सद के ?

person explore access_timeसाउन १०, २०७७ chat_bubble_outline0

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र वरिष्ठ नेता माधवकुमार नेपालले शुक्रबार ललितपुरको च्यासलमा आयोजित सार्वजनिक कार्यक्रममा पार्टी नेतृत्वबारे ‘असम्पादित’ अभिव्यक्ति दिइरहेका बेला महामहिम राष्ट्रपति शीतल निवासमा ‘मूलधारे’ सञ्चार प्रतिष्ठानका सम्पादकसँग छलफलमा व्यस्त हुनुहुन्थ्यो । दाहालले पार्टीमा ‘सङ्कट भएको’ र सो सङ्कटको कारण ‘प्रधानमन्त्री केपी शर्मा ओली’ भएको अभिव्यक्ति दिए । नेता नेपालले सत्ताको उन्मादले प्रधानमन्त्रीमा ‘सर्वेसर्वा मै हुँ’ भन्ने दम्भ विकास भएको अभिव्यक्ति दिएका थिए । 

दुई नेताका अभिव्यक्तिको अन्तर्य र शीतल निवासको भेटघाटलाई लिएर विभिन्न अड्कलबाजी भइरहेका थिए । त्यत्तिकैमा शीतल निवासको भेटघाट सकियो । सामाजिक सञ्जालमा दुई, चार कुरा अनि सेल्फीको रुपमा केही थान तस्बिरहरु सार्वजनिक भए तर भेटघाटबारे समाचार आएन । 

महामहिम राष्ट्रपतिले दुई घण्टासम्म सञ्चार क्षेत्रका जिम्मेवार सम्पादकहरुसँग के कुरा गर्नुभयो ? सम्पादकहरुले के भने ? यसको जानकारी जनताले पाएनन् । राजनीतिक भेटघाट भएको भए स्रोतका स्रोत उल्लेख गरेर सबैले समाचार बनाउँथे । संवाददाताले आफ्नै सूत्र प्रयोग गरेर केही न केही समाचार ल्याउथेँ तर यहाँ सम्पादकहरु स्वयं उपस्थित भएर, दुई घण्टासम्म गफ मारेर रित्तो हात फर्किए, सायद समाचार पाएनन् । 

सामान्यतः देशको वर्तमान संविधान र राजनीतिक व्यवस्थाले समाचारको स्रोत शीतल निवास मान्दैन र सञ्चार माध्यमले शीतल निवासलाई स्रोतको रुपमा प्रयोग गर्ने गरेको पनि छैन । तर, पार्टीको आन्तरिक विवाद मिलाउने, जनअपेक्षा विपरीतका निर्णयमा द्रुत सेवा दिने, पारिवारिक–राजनीतिक लगायतका कारण अनेक चर्चामा आइरहने शीतल निवासको भनाइ सुन्न यति बेला सबैले कान चनाखो बनाएका थिए । विश्लेषकहरुको धारणा थियो— नेकपाका अध्यक्ष दाहाल र वरिष्ठ नेता नेपालका कडा अभिव्यक्ति आउनासाथ राष्ट्रपतिले यसरी विशेष छलफल गर्नु भनेको ‘हात हुँदाहुँदै चम्चाले खान खोज्नु’ जस्तो नभएर ‘मुख हुँदाहुँदै नाकले पानी पिउनु’ हो । यसले ‘मुलुकमा केही न केही नयाँ हुँदैछ’ भन्ने आशङ्का उब्जाएको छ ।

अझ सम्पादकहरुले टिपोट गरेका विषयको चिर्कटोसमेत शीतल निवासमै छोड्नु वा गोजीभित्रै सीमित राख्नुले शङ्काको घेरो व्यापक विस्तार भएको छ ।
भेटघाटमा लोकतन्त्र, मानव अधिकार, प्रेस स्वतन्त्रता आदि विषयका अध्यापक र अध्येताहरु पनि थिए जो ‘सूचना लुकाउँदा समाजमा अफबाह फैलने र त्यसले झन् ठुलो समस्या निम्त्याउने’ प्रशिक्षण लिनेदिने गरिरहन्छन् । ‘सूचना लुकाउँदा’ र ‘सूचनाको सही सम्प्रेषण हुँदा’ का फाइदा÷बेफाइदाबारे भलीभाँती जानकार छन् उनीहरु । तर, आज उनीहरु नै मौन छन् आचारसंहिताको नाममा सूचना लुकाएर, विशिष्टता र बाध्यताको औषधि चपाएर ।
वास्तवमा सही सूचना प्रसारित हुनु नै ‘सूचनाको विज्ञान’ हो । मर्यादा, मानव अधिकार र जनअधिकार पनि हो । स्वाभाविक रुपमा सूचना ढोका हुँदै ‘बाहिरिन पाएन’ भने कि ‘जस्केलाबाट छिर्छ’ कि ‘झ्यालबाट हामफाल्छ’ कि त धुरीबाट निस्कन्छ । मूल ढोका हुँदाहुँदै  जस्केलो प्रयोग हुनु स्वाभाविक होइन । झ्यालबाट हामफाल्दा हातखुट्टा भाँचिने वा शारीरिक क्षति हुने डर हुन्छ भने धुरीबाट निस्कँनु अनपेक्षित अवस्था ठहर्छ । यी तीनै अवस्थामा सूचना दुर्घटनामा पर्छ । दुर्घटनामा परेको सूचनाले समाजमा कस्तो संदेश प्रवाह गर्छ ? व्याख्या गरिरहनु परेन ।

तत्कालका लागि सरकारको बचाउसँगै सहयोगको वातावरण मिलाउन सम्पादकहरुसँग भेटघाट गरिएको हो । होइन भने शीतल निवासको चौमासा किन ? च्यासलको हुङ्कार र शीतल निवासको अफ दि रेकर्डलाई एकै ठाउँमा राखेर हेर्दा स्थिति सामान्य छैन । के सम्पादकहरु मौसुफको गाथको आरामबिरामको सन्देशका लागि मात्रै निम्त्याइएको हो ?

सम्पादकहरुले भेटघाटको गुह्य विषय नल्याए पनि केही न केही त ल्याउन सक्थे । तर, सबै चुपचाप बस्नुले सिङ्गो पत्रकारिता, प्रेस स्वतन्त्रता र सूचनाको हकमाथि गम्भीर प्रश्न उठेका छन्— पत्रकारहरु के भए ? पत्रकारिता के भयो ? सम्पादक के भए ? स्वतन्त्र पत्रकारिता कहाँ गयो ? लोकतन्त्रको पत्रकारिता यही हो ? बेला बेला ‘राजनीतिक छापको पत्रकारिता’ बारे चर्चा हुने गरेको छ । यो त त्योभन्दा पनि डरलाग्दो भएन र ? 

३० सम्पादकमध्ये दुई जनाले सामाजिक सञ्जालमा ‘स्टाटस’ लेखे । एक जनाले आचारसंहिताको गरालो अगि सार्दै लेख्ने हिम्मत गरे तर कुरो लेखेनन् । राष्ट्रपतिले ‘अफ दि रेकर्ड’ भनेपछि समाचारका रुपमा लेख्न सकिँदैनथ्यो भने कम्तीमा सामाजिक सञ्जालमा सामान्य जानकारी दिन सबैले सक्थे । तर, केही चुप बसे, केहीले तस्बिर सार्वजनिक गरेर जनजिज्ञासा अझ बढाए । 

सामाजिक सञ्जालमा थाहा खबरका सम्पादक वरिष्ठ पत्रकार तीर्थ कोइरालाको स्टाटस आयो— “राष्ट्रपतिसँग ३० जना सम्पादकको २ घण्टा विचार विनिमय भयो । अन्त्यमा उहाँले सबै कुरा अफ द रेकर्ड भनेपछि टिपोट गोजीमा हालियो । खाजा खाइयो, पालैपालो तस्बिर खिचियो, फेरि मास्क लगाइयो र आइयो । यतिचाहि भनौँ, राष्ट्रपतिज्यू अहिलेसम्म आफूले गरेका र सरकारका कामबाट सन्तुष्ट रहेको पाइयो ।”
माइसंसार डटकमका सम्पादक सालोक्यको स्टाटस थियो— “शीलत निवासमा राष्ट्रपतिको सम्पादकहरुसित अहिले दुई घण्टा लामो अन्तरक्रिया भयो । लास्टमा सप्पै कुरा अफ दि रेकर्ड भनिएपछि लेख्ने कुरो भएन । निम्तो नपुग्या हो कि ट्राफिक जाममा फसेर आउन नभ्याएका हुन्, थाहा भएन तर नयाँ पत्रिका र हिमालका सम्पादक देखिनँ ।”

त्यसै गरी “एक जना सञ्चारकर्मी हुनुको नाताले सबैभन्दा ठुलो पीडा नै यही भयो कि राष्ट्रप्रमुखसँग दुई घण्टासम्म ३० जना सम्पादकहरुको छलफल भयो तर सबै अफ द रेकर्ड । जनतालाई केही पनि बताउन नमिल्ने गरी ।” अनलाइन खबरका सम्पादक अरुण बरालले ‘राष्ट्रपतिसँग २ घण्टा अफ दि रेकर्ड’ लेखे ।

राजा फालेर जनताका छोराछोरीलाई राष्ट्रप्रमुख बनाएका जनताले आज फेरि राजसंस्था सम्झिए । राजा, महाराजाकालीन विगतको शैली शीतल निवासमा कायमै रहेछ । जनताले यस्तो सोचेकै थिएनन् ।
सम्पादकहरुले राष्ट्रपतिलाई सोधे होलान्— अध्यादेश जस्तो कुरा हतारहतार लालमोहर लगाई दु्रत सेवा किन दिएको ? यस्तो अवस्थामा तपाईं सरकारको कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्छ कि असन्तुष्ट ? असन्तुष्टि भए के कुरामा ? पार्टी विवाद मिलाउने विषयमा तपाईंको सक्रियता स्वाभाविक हो ? राष्ट्रप्रमुखले पार्टीको पनि एउटा गुटको पक्षमा वकालत गर्न मिल्छ ? आपूmले सबैको साझा संस्थाको प्रतिनिधिको रुपमा भूमिका निर्वाह गर्न नसके जस्तो लाग्दैन ? नेपाल–भारत सम्बन्धमा आएको विवादलाई कसरी हेर्नुभएको छ ? तराईमा बर्सेनि हुने डुबान नियन्त्रणका लागि सरकारलाई के सुझाव दिनुहुन्छ ?

सम्पादकहरुसँगको भेटमा राष्ट्रपति स्वयंले आफ्नो संवैधानिक दायराबारे पनि बताउनुभयो होला । त्यो भनेको सामान्य राजनीतिक भेटघाट, संसद्ले पारित गरेका विधेयक र मन्त्रिपरिषद्का सिफारिसहरुमा विवेक प्रयोगको प्रसङ्ग पनि उठ्यो होला । यदि मेसिन हुन्थ्यो भने प्रतिक्रियाविहीन होला । होइन, विवेकको प्रयोग हुन्थ्यो भने ठिक र बेठिक पर्गेलेको कुरा पनि आयो होला । सम्पादकहरुले ‘किन यसो गर्नुभयो ?’ भनेर सोधे होलान् । स्वभावतः राष्ट्रपतिले  प्रत्युउत्तरमा दुई–तीनवटा जुलबी पक्कै पकाउनुभयो होला ।

भेटघाटमा भएको सम्पादकको प्रश्न र राष्ट्रपतिको उत्तरबारे समाचार नआएपछि जनताको ठुलो आकारको प्रश्न शीतल निवासप्रति तेर्सिएको छ । यसले विगतमा जस्तै अहिले पनि ‘शीतल निवास सञ्चार र सूचनामा साह्रै अनुदार छ, शाही शासनकै शैली स्थिर छ’ भन्ने स्पष्ट पार्छ । 

थाहा खबरका प्रधान सम्पादक र माइसंसार डट कमका सम्पादकको ब्लगबाट प्रस्ट हन्छ— राष्ट्रपतिले सम्पादकहरुलाई सरकारको कामकारबाहीको विरोध नगर्न, सरकारलाई सघाउन आग्रह गर्न यो भेटघाटको मेसो मिलाएको हो । ‘अफ दि रेकर्ड’ भएका कुराहरुले बाहिर सरकार विरुद्ध चलेका कदमबारे धेरै सङ्केत गरेका छन् । त्यति हुँदाहुँदै पनि राष्ट्रपतिको भेटघाट ‘सरकारले राम्रो काम गरेको’ अथ्र्याउनु होइन र ? 

अब प्रश्न ठडिन्छ— समाचार बाहिर ल्याउन नमिल्ने अर्थात् ‘अफ दि रेकर्ड’ वाला दुई घण्टे भेटघाटको मक्सद के ? टिपोटलाई गोजीमा हालेका सम्पादक कोइराला भेटघाटबारेको जिज्ञासा शान्त पार्छन्— “पुराण सुन्न गएको थिएँ । चौमासामा पुराण सुनेर फर्के जस्तो लाग्यो । आजको प्रवचन पछि संस्मरण लेख्न काम देला अथवा ‘कहिलेकाहीँ यस्तो पनि हुँदो रहेछ’ भन्ने अर्थमा काम दिन सक्ने रुपमा मात्रै लिएँ ।”

तत्कालका लागि सरकारको बचाउसँगै सहयोगको वातावरण मिलाउन सम्पादकहरुसँग भेटघाट गरिएको हो । होइन भने शीतल निवासको चौमासा किन ? च्यासलको हुङ्कार र शीतल निवासको अफ दि रेकर्डलाई एकै ठाउँमा राखेर हेर्दा स्थिति सामान्य छैन । के सम्पादकहरु मौसुफको गाथको आरामबिरामको सन्देशका लागि मात्रै निम्त्याइएको हो ? 

सम्पादक बरालले भने जस्तै सूचना जनतासम्म पुग्ने ‘भेन्टिलेसन’ कहिले बन्ने शीतल निवासमा ? शीतल निवासको निम्तोमा सम्पादकहरु गए । यसमा सूचनाको अपेक्षा थियो ‘मात्र सुन्ने अनुमान’ पक्कै थिएन । शीतल निवासको गेटबाट छिर्दै गर्दाको कुतूहल र दुई घण्टाको कुराकानीपछि टिपोट गरिएको चिर्कटो गोजीमा राख्नुको बाध्यतालाई कसरी अथ्र्याउने ? राष्ट्रपति स्वयंले समसामयिक विषयमा आफ्ना विचार र बुझाइ राष्ट्रिय दैनिकमा लेखमार्फत बाहिर ल्याउने अवस्था थियो । तर, छलफलमा सम्पादकहरुसँग देशको समसामयिक राजनीति, आर्थिक अवस्था, सामाजिक परिवेश लगायत धेरै कुरा हुने तर अन्त्यमा ‘अफ द रेकर्ड’ भन्ने प्रसङ्गको अभिप्राय भोग्नेले जबर्जस्ती पचाउन खोजे पनि देख्ने र सुन्नेले कसरी बुझ्ने ? राष्ट्रको सम्माननीय संस्था राष्ट्रपतिले आपैm नप्रस्ट्याएपछि राष्ट्रपतिको विशेष निमन्त्रणा स्वीकारेर सहभागिता जनाएका आदरणीय ३० सम्पादकसँग होला यसको जबाफ ? कि ‘तेस्रो आँखा’, ‘चौथो अङ्ग’, ‘जनअधिकारको पहरेदार’, ‘सूचनाको स्रोत’, ‘वाच डग’ भनिने सञ्चार क्षेत्रलाई नै बन्दकी राखेर जनतासमक्ष ‘नाजबाफ’ हुने ?

विद्यादेवी भण्डारी व्यक्तिको कुरा होइन, देशको राष्ट्रपति उच्च सम्मानित संस्था हो । यहाँ महामहिम राष्ट्रपतिबाट के भयो, के गरियो ? भन्ने मात्र चर्चाको विषय होइन, दुई घण्टा चौमासा सुनेर, टिपोटको चिर्कटो गोजीमा राखी ‘अमुक प्रवचन’ बाट सन्तुष्ट सम्पादक महोदयहरुको चाहिँ ‘व्यक्तिगत तुष्टि’ बाहेक सामाजिक दायित्व हुँदैन ? होइन भने समाजलाई किन ‘तेस्रो आँखा’ को भार बोकाउने ? अथवा ‘चौथो अङ्ग’ भनेर सरकारलाई किन धम्क्याउने ?

साउनको दुई घण्टे चौमासाको अध्याय यसैमा सकिए त ठिकै छ । सम्पादकबाट तल झर्दै संवाददातासम्म पुग्न खोज्यो अथवा भ्रमित हुँदै बिस्तारै जनतामा पैmलियो भने ‘कोभिड–१९’ बिर्साउने भ्रमको महामारी चौमासाको साङ्गेले नियन्त्रण गर्ला ? अनि जनताको उत्सुकताको सम्बोधनचाहिँ कसले, कसरी गर्ने ?

 


रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.