केन्द्रीय संस्करण
गोलार्द्ध

अमेरिकाको असली चेहरा

person explore access_timeसाउन ११, २०७७ chat_bubble_outline0

कुनैबेला बेलायती साम्राज्यको सिकन्जामा कैद अमेरिकाले झन्डै दस वर्ष लामो सशस्त्र स्वाधीनताको युद्ध लड्नुपरेको थियो । आफ्नो स्वतन्त्रता सङ्ग्रामका क्रममा अमेरिकाले यति मीठो स्वतन्त्रताका लागि घोषणापत्र तयार पारेको थियो ।

सो घोषणापत्रमा भनिएको थियो, ‘हामी यो सत्यलाई स्वयंसिद्ध मान्छौँ कि सबै मान्छे समान रूपले उत्पन्न भए । उनीहरुले आफ्नो सिर्जनाद्वारा अधिकारलाई विभूषित गरे । जसमा जीवन, स्वाधीनता र सुखको प्राप्ति सम्मिलित छ ।’ (स्वतन्त्रताको घोषणापत्र, ४ जुलाई १७७६ ।)

अमेरिकी स्वन्तत्रता सङ्ग्रामपछि सो सङ्ग्रामका प्रमुख नायक जर्ज वासिङटनपछिका दोस्रा नायक थिए थोमस जेफर्सन । जो सन् १७९० मा राष्ट्रपतिमा निर्वाचित भएका थिए, राष्ट्रपतिमा निर्वाचित भएपछि जेफर्सनले भनेका थिए, ‘यस पृथ्वीमा प्रत्येक मान्छे र प्रत्येक मान्छेको समूहलाई स्वशासनको अधिकार छ ।’ वाह, कति मीठो विचार र नारा ।

लामो स्वतन्त्रता सङ्ग्रामपछिको त्यो अमेरिका, जसले राजनीतिक स्थिरताका कारण आधुनिक कृषि, विज्ञान प्रविधि, सेवा क्षेत्रलगायत तमाम क्षेत्रमा ठूलो क्रान्ति ल्याएर देशलाई विकास र समृद्धिको उचाइमा पुर्यायो । यहाँसम्म अमेरिकाको इतिहास कति सुन्दर र नमुनायोग्य छ । कुनैबेला फ्रान्सेली राज्यक्रान्ति (सन् १७८९)को समानता, स्वतन्त्रता र भ्रातृत्वबाट प्रभावित भएर सङ्घर्ष गरेको अमेरिकाले पछि किन धेरै कुरूप, विखण्डनता र हत्या आतङ्कको बाटो रोज्यो ? यहीबाट अमेरिकाले आफ्नो पुरानो इतिहासलाई नामेट पार्ने काम गर्यो । 

अमेरिकाको अघिल्लो इतिहास क्रान्तिकारी र स्वाधीनताको पहरेदारी रहेको छ भने पछिल्लो इतिहास असाध्यै विध्वंशकारी र आतङ्ककारी रहेको छ । जस्तो कि सन् १७७२–१७८२ हुँदै सन् १८५० को दशकसम्म अमेरिकी इतिहास स्वाधीनताका साथै विकास र प्रगतिको इतिहास रहेको देखिन्छ । जब विकासबाट साम्राज्यतिर प्रवेश गर्न थाल्छ, खासगरी सन् १८५० को दशकबाट अमेरिकाले विस्तारै युरोपेली साम्राज्यवादको सिको गर्न थाल्छ । त्यपछि त झन् (सन् १९१५–१९४५) पछिको अमेरिकाको पहिचान त एक विध्वंशक र आततायी शक्तिको रूपमा देखिन्छ ।

अघिल्लो अमेरिका समानता, स्वतन्त्रता र भ्रातृत्वको नाराबाट अभिप्रेरित भएर क्रान्ति गर्ने देश हो भने पछिल्लो अमेरिका आफ्नै पुरानो लय छोडेर विध्वंशक, विखण्डन र आतङ्कको बाटो रोज्ने देश बनेको छ ।

विलियम ब्लुम अमेरिकी लेखक, इतिहासकारका साथै अमेरिकी विदेश नीतिका आलोचक हुन् । उनको ‘किलिङ होप, यूएस मिलेटरी एन्ड सीआईए इन्टरभेन्सन्स सिन्स वल्र्ड वार–२’ नामक बुक सन् २००३ मा प्रकाशित भयो ।

यो किताबमा ब्लुमले पहिलो र दोस्रो भाग गरेर लेखेका छन् । पहिलो र दोस्रो भागमा अमेरिकाले चीनमा सन् १९४५ देखि सन् १९६० सम्म गरेको सैन्य हमलादेखि चिलीमा सन् १९६४ देखि १९७३ सम्म स्वतन्त्र देशहरुको सत्तापलटका लागि अमेरिकी षडयन्त्र, हत्या र नरसंहारको जीवन्त तस्बिर टाइम लाइनसहित उजागर गरेका छन् ।

एडुआर्डो गेलेनियो, उरुग्वेका पत्रकार, लेखक र उपन्यासकार हुन्, उनको किताब ‘ओपन भेइन्स अफ ल्याटिन अमेरिका’ सन् १९७१ मा प्रकाशित भएको थियो । एक ल्याटिन अमेरिकी निवासीको आँखाबाट अमेरिकी हस्तक्षेपको चर्चा गरिएको छ । उनको बुकमा कसरी ल्याटिन अमेरिका संयुक्त राज्य अमेरिकाको खेल मैदान बन्यो भन्ने कुरा सविस्तार चर्चा गरेका छन् ।

प्रसिद्ध अमेरिकी लेखक हावर्ड जोनले आफ्नो चर्चित पुस्तक ‘अ पिपुल्स हिस्ट्री अफ युनाइटेड स्टेट्स’मा अमेरिकी इतिहास वास्तवमा आदिवासी रेड इन्डियनको कत्लेआमदेखि अहिलेसम्म आउँदा हत्या र नरसंहारको इतिहास हो भन्ने कुराको पर्दाफास गरेका छन् ।

नोम चोमस्कीको अन वेस्टन टेरोरिज्म (सन् १९७१), हेभेनको दि रियल टेरर नेटवर्क (सन् १९८५), अलेक्जेन्डर जर्जको वेस्टन स्टेट टेरोरिज्म (सन् २००५) लगायत लेखकका अनुसार २०औँ शताब्दीभर पश्चिमा शासकहरु (खासगरी अमेरिका)ले दोस्रो विश्वयुद्धपछि मात्र करोड बढी मान्छेको नरसंहार गरेको दृष्टान्त ती किताबमा भेटिन्छ ।

यसका लागि यी दृष्टान्त हेरे पुग्छ ।

सन् १९४५ को दोस्रो विश्वयुद्धपछि महाशक्ति बनेको अमेरिकाले कतै सैनिक आक्रमण, कतै सीआईएको डिजाइनमा प्रत्यक्ष सैनिक कू गरेर स्वतन्त्र एवं सार्वभौम सत्ता हत्याएको छ । विश्वको कुनै देश नहोला जहाँ अमेरिकाले हस्तक्षेप नगरेको होस् ।

अमेरिकाले उत्तर कोरियाली युद्ध (सन् १९५०–१९५३), भियतनाम युद्ध (सन् १९६५–१९७३) र इन्डोनेसिया नरसंहार (सन् १९६०–१९६६) मा मात्र गरेर ७० लाख बढी नागरिकको कत्लेआम गरेको छ । त्योभन्दा साना घटनाहरु त विश्वभर कति छन् कति । 

यस आलेखमा विश्वव्यापी अमेरिकी हस्तक्षेपको सानो झल्को पेश मात्र गर्नेछौं ।

कोरिया नरसंहार (सन् १९५०–१९५३) –

अमेरिका र उत्तर कोरियालीबीच सन् १९५० देखि १९५३ सम्म भएको युद्धमा अमेरिकाले ३० लाख उत्तर कोरियाली नागरिकको ज्यान लियोे । कम्युनिस्ट विचार लिएकै भरमा अमेरिकाले उत्तर कोरियामाथि हमला गर्ने दौरानमा दोस्रो विश्वयुद्धमा प्रयोग नगरेको हतियार प्रयोग गरेर उत्तरका दर्जनौ सहर खरानी पार्यो । तर उत्तर कोरियाली जनताको प्रतिरोधका कारण अमेरिका पराजित भएर घर फर्कनुपर्यो ।

भियतनामीहरुको कत्लेआम (सन् १९६५–१९७३)–

कम्युनिस्ट विचारमा अघि बढेको निहुँमा भियतनामी जनताको मुक्तियुद्ध कुल्चने भन्दै अमेरिकाले भियतनामसहित कम्पोचिया र लाओसमाथि ७० लाख टन बम खसाल्यो । हजारौँ गाउँ उजाड बनायो । यो युद्धको दस वर्षमा अमेरिकाले करिब ३० लाख भियतनामी जनताको ज्यान लियो । यहाँ पनि लज्जास्पद पराजय बेहोरेर अमेरिका आफ्नो मुलुक फर्कियो ।

इन्डोनेसिया नरसंहार (सन् १९६०–१९६६)–

कुनैबेला सशस्त्र सङ्घर्षमा रहेको इन्डोनेसियन कम्युनिस्ट पार्टी सन् १९५५ को निर्वाचनबाट दोस्रो ठूलो शक्तिका रूपमा उदायो । यही निर्वाचनबाट राष्ट्रवादी पहिचान बनाएको सुकार्नोको नेतृत्वमा रहेको इन्डोनेसियन नेसनल पार्टीले पहिलो शक्तिका रूपमा सरकारको नेतृत्व गर्यो । सुकार्नोको सरकारमा कम्युनिस्टहरु पनि सहभागी भए । त्योबेला इन्डोनेसियाको जनसङ्ख्या १० करोड रहेकोमा त्यहाँ कम्युनिस्ट पार्टीको सदस्य सङ्ख्या ३० लाख र जनवर्गीय सङ्गठनहरुको सङ्ख्या जोड्दा झण्डै १ करोड थियो । अमेरिकाविरोधी कम्युनिस्ट समर्थित सुकार्नो सरकार बढार्न भनेर अमेरिकाले सीआईएलाई नेतृत्व प्रदान गर्यो । अन्तमा सन् १९६० देखि १९६६ सम्ममा सीआईएको डिजाइनमा जनरल सुहार्तोले सैनिक ‘कू’ मार्फत् इन्डोनेसियामा कम्युनिस्ट सखाप पार्ने अभियान लियो । त्यसक्रममा १० देखि १५ लाख कम्युनिस्टहरुको मात्र नरसंहार गरियो ।

चिलीको राष्ट्रपति हत्याकान्ड (सन् १९७३)–

शान्तिपूर्ण निर्वाचनबाट चिलीमा वामपन्थी नेता साल्भाडोर एलेन्डे चार पटकसम्म राष्ट्रपति बने । सन् १९७० बाट सत्ताको नेतृत्व लिएपछि एलेन्डेले कैयौँ आर्थिक सुधारका कार्यक्रम लिए । दलाल पुँजीपतिहरुको उद्योगहरु राष्ट्रियकरण गरे । यो कुरा अमेरिकालाई सह्य भइरहेको थिएन । यही क्रममा सन् १९७३ मा अमेरिकी जासुसी संस्था सीआईएको योजनामा सेनापति अगस्त पिनोचेको नेतृत्वमा सैनिक विद्रोहमार्फत् राष्ट्रपति भवन कब्जामा लिइयो । राष्ट्रपतिलाई एलेन्डेलाई आत्मसमर्पण गर्न अल्टिमेटम दियो सीआईए नेतृत्व जनरल पिनोचेको विद्रोही सेनाले । तर वामपन्थी नेता एलेन्डेले आत्मसपर्मण गर्नुको साटो आफ्ना घनिष्ट क्युबाली मित्र फिडेल क्यास्त्रोले उपहार दिएको हतियार समाएर सीआईए नेतृत्वको विद्रोही सेनाविरुद्ध लड्न मैदानमा उत्रिए । प्रहरी प्रमुखको नेतृत्वमा रहेको ५० सशस्त्र जवान र आफ्ना २८ अङ्गरक्षसहित प्रतिरोधमा उत्रिएका राष्ट्रपति एलेन्डेको टोलीले केही घण्टा लड्यो तर एलेन्डेको घटनास्थलमै गोली लागेर मृत्युपछि  चिलीको सत्ता अमेरिकी दलाल जनरल पिनोचेको हातमा पुग्यो र उसले १८ वर्षसम्म शासन सञ्चालन गर्यो ।

हिरोसिमा र नागासाकी नरसंहार (सन् १९४५) –

दोस्रो विश्वयुद्ध (सन् १९३९–१९४५) को अन्त्यमा जब जापानी साम्राज्य पराजयतिर उन्मुख थियो, त्यो समय आफ्नो साम्राज्यवादी चरित्र सिद्ध गर्न र रुसी समाजवादी शिविरलाई आतङ्कित पार्न अमेरिकाले जापानको हिरोसिमा र नागासाकीमा परमाणु बम खसाल्यो । जहाँ २ लाख बढी जापानी सर्वसाधारणको अमेरिकाले ज्यान लियो ।

यी थिए अमेरिकाद्वारा सुनियोजित रूपमा सिर्जित निकै ठूलो नरसंहार र कत्लेआमको घटना । यसबाहेक अरू साना–ठूला केही अमेरिकी हस्तक्षेपको फेहरिस्त प्रस्तुत गरिनेछ । सन् १८५० को दशकमा झण्डै युरोपेली साम्राज्यवादी शक्तिहरुको हारहारीमा पुग्न थालेको अमेरिकाले यसपछि कमजोर राष्ट्रहरुमाथि अतिक्रमणको बाटो लिन थाल्छ ।  यस्ता छन् ती दृष्टान्तहरु ।

मेक्सिकोमाथि हमला (सन् १८४६–१८४८)–

अमेरिकी सेनाले मेक्सिकोमाथि फौजी हमला गरेर सबैभन्दा पहिले मेक्सिकोको बन्दरगाहलाई घेराबन्दी गर्याे । त्यसपछि मेक्सिको सिटीलाई कब्जा गरियो । ठूलो शक्तिको सामु झुक्नुको विकल्प नरहेपछि मेक्सिकोले आफ्नो ठूलो भूभाग अमेरिकालाई दिन बाध्य भयो । जसमा न्यु मेक्सिको, क्यालिफोर्निया र उत्तरी मेक्सिकोको ठूलो हिस्सा अमेरिकाको कब्जामा पर्न गयो ।

स्पेन–अमेरिका युद्ध (सन् १८९८)–

क्युबाको स्वतन्त्रताको समर्थन दिने आडमा अमेरिकाले प्रशान्त महासागर र क्यारेबियनमा स्पेनी सेनामाथि हमला गरेर पराजित गरेपछि स्पेनको उपनिवेशमा रहेको क्युबा, प्युर्टोरिका, गुआस र फिलिपिन्समाथि आफ्नो प्रभुत्व स्थापित गर्यो ।

फिलिपिन्समाथि हमला (सन् १८९९–१९४६)–

फिलिपिन्स पनि कुनैबेला स्पेनको उपनिवेशमा थियो । जब सन् १८९८ मा अमेरिकाले स्पेनलाई पराजित गर्यो । त्यसपछि अमेरिकाले उपनिवेश कायम गर्यो । अमेरिकी उपनिवेशका विरुद्ध फिलिपिन्सका जनताले लामो आन्दोलन गरे । यसक्रममा उपनिवेश विरोधी शक्तिलाई अमेरिकाले निर्दयतापूर्वक दमन गर्यो । प्रसिद्ध अमेरिकी लेखक मार्क ट्रेनको शब्दमा अमेरिकीहरुले सिङ्गो गाउँ जलाइदियो । विधवा, अनाथ बच्चाहरुलाई घरबाट बाहिर धकेलिदिने, देशभक्त नेतालाई देशबाट निकालिदिने र लाखौँ फिलिपिन्सवासीलाई गुलाम बनाउने काम गर्यो ।

हैटीमाथि आक्रमण (सन् १९१५)–

२८ जुलाई सन् १९१५ मा एक स्वतन्त्र अफ्रिकी मुलुक हैटीमाथि ३३० अमेरिकी समुद्री लडाकु जहाजले मुख्य हैटी बन्दरगाह कब्जामा लियो । साथै अमेरिकी नौ सैनिकले नेसनल बैङ्क कब्जामा लियो र सुनको भण्डार उठाएर सीधैँ न्युयोर्क सिटी पुर्याउने काम गर्यो ।

तुल्सा हत्याकाण्ड (सन् १९२१)–

अमेरिकाकै ओक्लाहोमा राज्यमा पर्ने ग्रिनबुड जिल्ला तुल्सामा श्वेत अधिकारीहरुले श्वेत जातिका मान्छेहरुमाथि गोली चलाएर सयौँ मान्छेको हत्या गर्नुका साथै लुटपाट गरेर जहाजबाट बम खसालेर पूरै बस्ती खरानी बनाइयो ।

ग्रीसमा अमेरिकी हस्तक्षेप (सन् १९४७–१९५०)–

सन् १९४७ देखि सन् १९५० को दशकसम्म ग्रिसमा कम्युनिस्ट प्रभावलाई रोक्न बेलायतको सहयोगमा अमेरिकाले सैन्य दमन गरेर वामपन्थी विद्रोहलाई पराजित गरेको थियो । पहिलो, दोस्रो र तेस्रो चरण गरेर भएको विद्रोहमा अमेरिकाले ग्रीस सरकारलाई कठपुतली बनाएर वामपन्थी आन्दोलनलाई नष्ट गर्ने काम गरेको थियो ।

इटलीमा अमेरिकी हस्तक्षेप (सन् १९४७–१९४८)– ‘ती जसले अमेरिकी विचारलाई विश्वास गर्दैनन्, तिनीहरुलाई सत्तामा रहने अनुमति दिँदैनौँ ।’ जनवरी १९४८ मा अमेरिकी न्याय विभाग प्रमुख टोम सी क्लर्कले दिएको अभिव्यक्ति थियो । यही रणनीतिअनुसार सन् १९४८ मा इटलीको चुनावमा अमेरिकाले वामपन्थी गठबन्धनलाई पराजित गर्न हस्तक्षेपको ठूलो खेती गर्यो ।

ग्वाटेमाला नरसंहार (सन् १९८१–१९८३)–

सन् १९८१ देखि १९८३ सम्मको गृहयुद्धपछिको नरसंहारमा एक एक वर्षको अन्तरालमा ग्वाटेमालामा २ लाख मान्छे मारिए या हराइए । १५ लाख मान्छे विस्थापित भए र डेढ लाख मान्छे शरणार्थी बन्न पुगे । यसमा अमेरिकाले यो मुलुकका दुई समुदायबीच विभाजन ल्याएर यस्तो नरसंहार चलाएको इतिहासकारहरुको भनाइ छ ।

पूर्वी युरोपमा अमेरिकी गुरिल्ला क्याम्प (सन् १९४८–१९५६)–

पूर्वी युरोपमा कम्युनिस्ट शासन फाल्न अमेरिकी जासुसी संस्था सीआईएले सन् १९४८ देखि १९५६ सम्म पूर्वी यूरोपका विभिन्न भागमा एन्टी सैनिक ट्रेनिङ सञ्चालन गरेको थियो ।

पूर्वी जर्मनीमा अमेरिका आक्रमण (सन् १९५०)–

कम्युनिस्ट शासन रहेको पूर्वी जर्मनीमा सन् १९५० को दशकमा अमेरिकी सीआईएद्वारा कमान्डो सेना निर्माण गरेर आक्रमण गरिएको थियो । जहाँ अमेरिकाले हजारौँ उच्च प्रविधिबाट तालिम प्राप्त कमान्डो विद्रोही सेना निर्माण गरिएको थियो ।

ग्वाटेमालामा सैनिक कु (सन् १९५४)– सन् १९५४ मा ग्वाटेमालामा सैनिक कू गर्न लगाएर अमेरिकी सीआईएले निर्वाचित राष्ट्रपति जेकावो अर्वेनेजलाई बर्खास्त गर्यो ।

इक्वेडरमा सत्तापलट (सन् १९६०–१९६३)– इक्वेडरमा सन् १९६० देखि १९६३ सम्म अमेरिकाले सीआईएद्वारा सरकार बनाउने र फेरि मन नपरेपछि ढाल्ने काम गरेर अस्तव्यस्त पार्ने काम गरेको थियो ।

कङ्गोमा एन्टी कम्युनिस्ट कोर (सन् १९६०–१९६४)– सन् १९६० देखि १९६४ को बीचमा अमेरिकाले कङ्गोमा सीआईए र अमेरिकी दूतावासबाट कम्युनिस्ट प्रभाव रोक्न उसले एन्टी कम्युनिस्ट अर्गनाइजेसन बनाएर देशमा दङ्गा भड्काउने काम गरेको थियो ।

क्युबामा हस्तक्षेप (सन् १९६२)–

क्युबामा जब फिडेल क्यास्त्रोको नेतृत्वमा क्रान्तिकारी सत्ता स्थापना भयो, त्यही समयदेखि खासगरी सन् १९५८ देखि १९६२ सम्ममा अमेरिकाले सीआईए परिचालन गरेर कैयौँ पटक सैन्य आक्रमण गर्यो तर असफल भयो । एक अध्ययनअनुसार अमेरिकाले फिडेल क्यास्त्रोलाई मार्न मात्र ६३२ पटक षडयन्त्र गरेर पनि हत्या गर्न सकेन ।

निकारागुवामा अमेरिकाको प्रतिविद्रोह (सन् १९८१)–

सन् १९८१ मा राष्ट्रपति निर्वाचति भएलगत्तै रोनाल्ड रेगनले ‘कोन्टा विद्रोही प्रतिक्रियावादी सङ्गठन’ निर्माण गरेर सान्डानिष्ठा विद्रोहीहरुको सत्ताविरुद्ध विद्रोह गराएको थियो । 

अल्बानियामा अमेरिकी अन्तरध्वंश (सन् १९८९)–

कुनैबेला इटलीको उपनिवेशमा रहेको अल्बायिनालाई उपनिवेशबाट मुक्त गर्न अमेरिकाले सहयोग गरेको थियो । त्यही जस लिने नाममा उसले कठपुतली बनाउन खोजेपछि अल्बायिना सन् १९४४ पछि सोभियत धुरीमा समावेश भयो । झण्डै ५० वर्ष शासनमा रहेको अल्बायिनामा सन् १९८९ मा अमेरिकाले बेलायतको सहयोगमा एन्टी गुरिल्ला विद्रोह गराएर कम्यनिस्ट शासन पतन गराउन ठूलो भूमिका खेल्यो ।

पनामा हमला (सन् १९८९)–

अमेरिकाले सन् १९८९ को २० डिसेम्बरदेखि सन् १९९० को ३१ जनवरीसम्म एक महिना १ हप्ता ४ दिनभित्र आक्रमण गरेर कब्जामा लियो । सन् २००० सम्म अमेरिकाले पनामालाई उपनिवेशमा राखिराख्यो । त्यसक्रममा अमेरिकाले झण्डै १० हजार मान्छेको ज्यान लियो । जसमा धेरै गरिब र मजदुर बस्ती जलाइलियो ।

अपरेसन डेजर्ट स्टोर्म (सन् १९९१)–

इराक र कुवेतबीचको आन्तरिक कलहमा अमेरिकाले इराकमाथि सन् २ अगस्त १९९० देखि २८ फेब्रुअरी १९९१ सम्म फौजी हमला गर्यो । जसमा अमेरिकाले कुवेतको साथ दिएको निहुँमा इराकमाथि पहिलो हमलाको दौरानमा लाख मान्छेको मृत्यु र कैयौँ घाइते भए । हमलाको अर्को समयमा ४८ घण्टाभित्र २५ हजार नागरिक र सैनिक मरे ।

सोमालियामाथि मिसाइल आक्रमण (सन् १९९३)– अमेरिकी सेनाको हेलिकप्टरले एक सर्वसाधारणको भीडमाथि मिसाइल आक्रमण गर्दा सयौँ निहत्या नागरिकको ज्यान गयो । जहाँ गाउँका कैयौँ अन्नबाली र घर जलाइदियो ।

इरानमाथि निरन्तर हस्तक्षेप (सन् १९७९–२०२०)– 

सन् १९७९ मा इरानमा २५ सय वर्षदेखि सञ्चालनमा रहेको पर्सियन राजतन्त्रलाई इरानी जनताले क्रान्तिकारी आन्दोलनबाट बढारे । यो क्रान्तिमा वामपन्थी सङ्गठन, इस्लामिक सङ्गठन र विद्यार्थी सङ्गठनले साथ दिएका थिए । यो क्रान्तिलाई फ्रान्सको राज्यक्रान्ति र अक्टोबर क्रान्तिपछिको महान् क्रान्तिको संज्ञा दिने गरिन्छ । क्रान्तिपछि इरानामा इस्लामिक गणतन्त्र स्थापना भयो र अयातोल्लाह खमेनी सत्ताका प्रमुख बने । यसपछि अमेरिकाले इरानमा राजतन्त्र फर्काउन निकैपटक हर्कत गर्यो तर सकेन ।

इरानमा आफ्नो अनुकुल शासन नभएपछि अमेरिकाले इरानलाई शत्रुको संज्ञा दिँदै पटक पटक आक्रमण गर्दै आएको छ । त्यसक्रममा सन् १९८८ मा अमेरिकी सेनाले इरानी आकाशमा उडिरहेको यात्री विमानमाथि आक्रमण गर्दा झण्डै ३ सय यात्री (जसमा ६६ बच्चासहित) मरे । अमेरिकाले यस घटनाबारे थोरै पनि आत्मआलोचना समेत गरेन ।

अफगानिस्तानमाथि निरन्तर आक्रमण (सन् १९९९–२०२०)–

अलकायदा र तालिबानी विद्रोही सङ्गठनलाई तह लगाउने नाममा अमेरिकी नेतृत्वमा नेटो सेनाले बमबारी गर्दा कैयौँ गाउँ खरानी भएका छन् । दशौँ हजार मान्छेको ज्यान गएको छ । अमेरिकी सेनाले अहिलेसम्म पनि सैन्य हमला गरिरहेको छ । तर समस्या समाधान हुन सकिरहेको छैन ।

इराकमाथि हमला र निरन्तर कब्जा (सन् २००६–२०२०)–

एउटा स्वतन्त्र र सार्वभौम अरब मुलुक इराकमा रासायनिक हतियार राखेको (जो कहिल्यै पुष्टि भएन) आरोपमा अमेरिकाले इराकमाथि हमला गर्यो र सद्धाम हुसेनलाई सत्ताबाट पदच्यूत गर्नुका साथै हत्यासमेत गर्यो । पछिल्लो अमेरिका र इराक युद्धमा एक लाख मान्छे मारिए र ४० लाख मान्छे घरवारविहीन बनाइए । त्यसपछिको अमेरिकी प्रतिबन्ध र दबाबका कारण दस वर्षमा ५ लाख बच्चाको मृत्यु भयो । अहिले इराकी संसद र जनताले अमेरिकालाई आफ्नो देश छोड्न गरेको चेतावनीलाई अस्वीकार गरेर इराकमा अड्डा जमाइरहेको छ ।

हैटीमा राष्ट्रपति अपहरण (सन् २००४)–

२९ फेब्रुअरी सन् २००४ मा अमेरिकी सेनाले हैटीका राष्ट्रपति जिन बर्टेड अरिस्टाइडलाई अपहरण गरेर सत्तापलट समेत गरियो । राष्ट्रपतिलाई बलपूर्वक एक विमानमा बसालेर मध्य अमेरिका लगियो । कैयौँ दिनसम्म अमेरिकी नौ सैनिकले राजधानी कब्जामा राख्यो ।

लिबियामा सैन्य हमलापछि तख्तापलट (सन् २०११)–

कथित लोकतन्त्र स्थापित गर्ने नाममा अमेरिकाले फ्रान्स आदिको सहयोगमा सन् २०११ मा स्वतन्त्र र सार्वभौम मुलुक लिबियामाथि हमला गर्यो । जहाँ जहारौँ नागरिकको मृत्यु भयो । लिबियाका राष्ट्रपति कर्णेल गद्दाफीको हत्या गरेर आफ्नो छत्रछायाँमा कठपुतली शासन कायम गर्यो । आज लिबियामा राजनीतिक अस्थिरता ब्याप्त छ ।

सिरिया द्वन्द्वमा अमेरिकी हस्तक्षेप (सन् २०११–२०२०)– सिरियामा निर्वाचित वैधानिक सरकार आफ्नो नीतिमा नचलेको झोकमा अमेरिकाले विद्रोहीहरुलाई उक्साएर चलेको गृहयुद्धमा ५ लाख बढी मान्छेको मृत्यु भइसकेको छ भने करोडौँ मान्छे बेघरबार भएका छन् । जहाँ समस्या समाधान हुने कुनै छाँटकाँट छैन ।

ड्रोन हमला (सन् २००९)–

अमेरिकाले आतङ्ककारी नष्ट गर्ने निहुँमा सन् २००९ देखि पछिल्लो समय सम्ममा पाकिस्तान, अफगानिस्तान र यमनमा गरेको मानवरहित ड्रोन हमला गरेर हजारौँ निर्दोष नागरिकको ज्यान लिएको छ ।

यी केही दृष्टान्तहरु हुन् । अरू कैयौँ घटनाहरु छन् जो पछिल्ला दिनमा उजागर गरिनेछन् ।

विश्वमा अमेरिकी हस्तक्षेपका यी त देखिएका दृश्य मात्र हुन् अदृश्यमा भएका घटना पनि विस्तारै पटाक्षेप हुनेछन् । विकास, शान्ति र प्रजातन्त्रका नाममा अमेरिकाले विश्वभर यति धेरै विध्वंश मच्चाइरहेको बेला नेपालमा एमसीसी कार्यान्वयन गराउनु भनेको अमेरिकालाई खुलेआम अन्तरध्वंशको आमन्त्रण गर्नु हो भन्ने कुरा यी माथिका दृष्टान्त काफी छन् ।

यसकारण प्रत्येक नेपालीले समवेत स्वरमा भनौँ, ‘नो एमसीसी, नो अमेरिका ।’

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.