शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

५ वस्तुको आयातले जोगायो देशको १६० अर्ब

साना २८ देशसँग मात्रै नाफाको व्यापार, ‘सन्तोष गर्ने ठाउँ छैन’
सोमबार, १२ साउन २०७७, १८ : ०२
सोमबार, १२ साउन २०७७

काठमाडौं । प्रमुख पाँचवटा वस्तुहरुको आयातमा आएको गिरावटका कारण देशको १६० अर्ब रुपैंयाको आयात घटेको छ । देशमा सर्वाधिक भित्रने ती वस्तुहरुको आयात नकारात्मक हुँदा आर्थिक वर्ष २०७६/७७ मा व्यापार घाटा अघिल्लो वर्षको तुलनामा २ खर्ब २१ अर्बले कमी आएको भन्सार विभागको तथ्याँकले देखाउँछ । आयातमा आएको कूल गिरावटमा यी ५ वस्तुहरुको हिस्सा ७० प्रतिशतभन्दा बढी देखिएको हो । 

दोस्रो सर्वाधिक आयात भएको क्षेत्र फलाम तथा स्टिल हो । १ खर्ब २ अर्ब रुपैंयाको फलाम र स्टिल आयात भएको देखिएको छ । अघिल्लो वर्ष १ खर्ब ४३ अर्ब रुपैंयाको आयात भएको थियो । यो करिब २८ प्रतिशतको गिरावट हो । लकडाउन र कामदारको अभावसँगै निर्माण कार्यमा सुस्त हुँदा यी वस्तुको मागमा समेत कमी आएको हो । 

मेसिनरी तथा मेकानिकल उपकरणहरुको आयातमा पनि सो वर्षमा १८ प्रतिशतको गिरावट आएको छ । अघिल्लो वर्ष १ खर्ब २० अर्बको आयात यो वर्ष घटेर ९८ अर्बमा सीमित हुँदा आयात निरुत्साहनमा सकारात्मक प्रभाव परेको हो । त्यसैगरी, इलेक्ट्रिकल र मेसिनरी उपकरण पनि १ खर्ब १ अर्ब रुपैंयाबाट घटेर ८२ अर्ब रुपैंयामा यो अवधिमा सीमित हुन पुगेको छ । 

यो अवधिमा सवारी साधन र त्यसको पार्टपुर्जाको आयातमा पनि उल्लेख्य रुपमा गिरावट आएको छ । ९१ अर्बको अघिल्लो वर्षको आयात यो वर्ष ६५ अर्ब रुपैंयामा सीमित भएको भन्सार विभागको तथ्याँक छ ।  भन्सार विभागले अघिल्लो आर्थिक वर्षमा आयात भएका वस्तु तथा सेवालाई ९६ वटा शीर्षकमा छुट्याएको छ । त्यसमध्ये ७२ शीर्षकको वस्तुको आयात घटेको देखिएको छ । बाँकी २४ शीर्षकका वस्तुको आयात मात्रै बढेको पाइएको छ । 

छैन आशलाग्दो ठाउँ
आयात उच्च रुपमा घटे पनि आयातको गिरावटप्रति खुसी हुनुपर्ने ठाउँ भने नदेखिएको विज्ञहरुको भनाई छ । पूर्व अर्थसचिव समेत रहेका रामेश्वर खनाल पुँजी निर्माणसँग सम्बन्धित वस्तुको आयातका कारणले घटेको व्यापार घाटाले दीर्घकालीन रुपमा लाभ दिन नसक्ने बताउँछन् । उपभोग्य वस्तुको आयात घट्यो भने मात्रै त्यसले आत्मनिर्भरताको संकेत गर्ने उनको भनाई छ । 

व्यापार घाटाको अहिलेको गिरावट प्राकृतिक कारणले सिर्जित विशेष परिस्थितिको उपज मात्रै रहेको भन्दै सामान्य अवस्थाको प्रगतिलाई मात्रै वास्तविक प्रगति मान्न सक्ने उनको भनाई छ ।  गत आर्थिक वर्षमा आयात बढेका २४ वस्तुमध्ये धेरैजसो उपभोग्य वस्तुहरु नै छन् । यो अवधिमा पशु तथा बनस्पतिजन्य तेल, घ्यु, बोसो लगायतको आयात १३ अर्ब रुपैंयाले बढेको छ । अघिल्लो वर्ष ३७ अर्ब रुपैंया रहेको त्यस्तो आयात यो वर्ष ५० अर्ब पुगेके हो ।  त्यस्तै, धान, गहुँ, कमै लगायतका अनाजको आयात ५ अर्बले बढेर ५६ अर्ब ८८ करोड रुपैंया पुगेको छ ।  

त्यस्तै, तरकारी तथा अन्य रेसाजन्य वस्तुको आयात पनि ४ अर्ब रुपैंयाले बढेर ३३ अर्ब रुपैंया पुगेको छ । पाम आयलसहित तेल उत्पादनका लागि प्रयोग हुने भटमास, सनफ्लावर जस्ता बीउहरुको आयात पनि ४ अर्बले बढेर ४१ अर्ब रुपैंया पुगेको छ । उता फलफूलहरुको आयात पनि २ अर्ब ६४ करोड रुपैंयाले बढेर २० अर्ब ७४ करोड रुपैंया पुगेको छ । तेलजन्य वस्तुबाहेक अरु सबै वस्तुहरुमा नेपाल आत्मनिर्भर हुने सम्भावना भएको ठाउँ हो । तर, यी वस्तुहरुको आयात भने समग्र आयातको अवस्थाभन्दा ठीक विपरित भएर बढ्दै गएको छ । 

यो वर्ष रासायनिक मलको आयात पनि बढेको देखिको छ । बजारमा मलको हाहाकार भएको अवस्थामा भन्सार विभागले भने मलको आयात बढेको देखाएको हो । अघिल्लो वर्ष १६ अर्बको मलखाद आयात भएकोमा सो वर्षमा १९ अर्बको मल आयात भएको देखिएको छ । यो आयातमा कृषिजन्य मलमात्रै नभएर औद्योगिक कच्चा पदार्थको लागि प्रयोग हुने मलसमेत पर्ने भन्सार विभागले जनाएको छ । हाल भन्सारले मललाई कृषिजन्य र औद्योगिक मलको रुपमा छुट्टाछुट्टै वर्गीकरण गर्ने गरेको छ ।   

यीबाहेक आयात बढ्ने वस्तुहरुमा केमिकलजन्य वस्तुहरु, हातहतियार, चिनी तथा चिनीका कच्चा पदार्थहरु, चस्मा तथा अप्टिकलजन्य काँचका सामानहरु, टेक्स्टाइल, सुर्तीजन्य पदार्थ लगायतका वस्तुहरु छन् । 

ज्ञानमा करको प्रभाव किता आयातमा
यो अवधिमा प्रिन्ट भएका तयारी किताबहरुको आयात ४१ प्रतिशतले घटेको छ । यस्ता किताबको आयात ४१ प्रतिशतले कमी भई  १ अर्ब ४१ करोड रुपैंयामा सीमित भएको हो । अघिल्लो वर्ष २ अर्ब ४२ करोड रुपैंयाको किताब आयात भएको थियो । 

सरकारले विदेशबाट आयात हुने किताबमा १० प्रतिशत भन्सार लगाउने निर्णय गरेसँगै विदेशबाट आयात हुने किताब महँगो पर्दा आयातमा गिरावट देखिएको हो । अहिले विदेशी पुस्तकहरुको आयात ठप्पप्रायः रहेको पुस्तक विक्रेताहरु बताउँछन् । तर भन्सारले भने ४१ प्रतिशतको मात्रै गिरावट रहेको देखाएको छ । यो करलाई सरोकारवालाले ज्ञानमाथिको बन्ध्याकरणको रुमपा यसमा फिर्ता लिन माग गर्दै आएका थिए । तर यो वर्ष पनि सरकारले पूर्व अडानलाई फिर्ता भने गरेन । 

२८ वटा देशसँग मात्रै ‘ट्रेड सप्लर्स’

सो आर्थिक वर्षमा नेपालबाट १५६ देशमा आयात निर्यात भएको थियो । त्यसमध्ये २८ देशसँग नेपालको व्यापार नाफामा देखिएको छ । बाँकी १२८ देशसँग भने घाटाको व्यापार गर्दै आएको छ ।  व्यापार नाफा भएका देशहरुमा केन्या, अल्जेरिया, माल्दिभ्स, यमन, डेनमार्क लगाउतका देश छन् । व्यापार घाटामा रहेका देशहरु भने भारत, चीन, इन्डोनेसिया, संयुक्त अरब इमिरेटस, थाइल्यान्ड, क्यानडा, मलेसिया, स्वीजरल्यान्ड, भियतनाम लगायतका देशहरु प्रमुख छन् । 

नेपालले एक वर्षमा कुल १२ खर्ब ९२ अर्ब रुपैंयाको वैदेशिक व्यापार गरेकोमा सो व्यापारमा भारतको हिस्सा ६२ प्रतिशत, चीनको १४ प्रतिशत, इन्डोनेसिया र संयुक्त राज्य अमेरिकाको २/२ प्रतिशत तथा युएईको करिब डेढ प्रतिशत हिस्सा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

शंकर अर्याल
शंकर अर्याल

अर्याल रातोपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप