शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

प्रमुख प्रतिपक्षी काँग्रेसद्वारा प्रदेशसभा अवरुद्ध

सोमबार, १२ साउन २०७७, १९ : ५४
सोमबार, १२ साउन २०७७

गण्डकी प्रदेशसभाको आजको बैठक प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले अवरुद्ध गरेको छ । काँग्रेसले प्रदेशसभामा दर्ता गराएको एक घर, एक पिसिआर, पिसिआरको दायरा बढाउनुपर्ने, कोरोना सङ्क्रमणबाट मृत्यु भएकाको शवको व्यवस्थापन गर्नुपर्नेलगायतका विषय समेटिएको सङ्कल्प प्रस्ताव बैठकको कार्यसूचीमा नराखिएको भन्दै प्रदेशसभा अवरुद्ध गरेको हो ।
    
सङ्कल्प प्रस्तावलाई एउटा दलमात्र नभई सबै दलको साझा प्रस्तावका रुपमा लैजाने पहलस्वरुप कार्यदल गठन गरिए पनि निष्कर्षमा पुग्न सकेको थिएन । यसअघि आइतबारको बैठकको शुरुमै प्रमुख प्रतिपक्षी दलका नेता कृष्णचन्द्र नेपालीले सङ्कल्प प्रस्ताव कार्यसूचीमा नआउँदासम्म बैठक चल्न नदिने बताएका थिए ।

आज दिउँसो १ः०० बजेका लागि बोलाइएको बैठकमा उक्त प्रस्ताव कार्यसूचीमा नसमेटिएपछि काँग्रेसका प्रदेशसभा सदस्यले उठेर अवरुद्ध गर्नुभएको थियो । आजकै लागि पछि पुनः ३ः०० बजेका लागि बोलाइएको बैठक पनि अवरुद्ध भएपछि मङ्गलबार २ः०० बजेसम्मका लागि स्थगन भएको छ ।
    
कोरोना सङ्क्रमण बढिरहेका अवस्थामा एक घर एक पिसिआर, पिसिआर परीक्षणको दायरा बढाउनुपर्ने, सङ्क्रमितबाट मृत्यु भएकाको शव व्यवस्थापन जस्ता अत्यावश्यक विषय समेटिएको सङ्कल्प प्रस्ताव प्रदेशसभामा दर्ता भएका अवस्थामा कार्यसूचीमा राख्न आलटाल गरिएको नेपाली काँग्रेस संसदीय दलका प्रवक्ता प्रकाशचन्द्र दवाडीले जानकारी दिए । सङ्कल्प प्रस्तावलाई कार्यसूचीमा नराख्दासम्म काँग्रेसका तर्फबाट अवरोध जारी रहने उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप