शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ !

मङ्गलबार, १३ साउन २०७७, १३ : ०१
मङ्गलबार, १३ साउन २०७७

मुक्तक - १

दरिलो भए बायाँ पाङ्ग्रो दायाँ उस्तै हुन्छ
जसरी लाग्छ घाम चर्की छायाँ उस्तै हुन्छ
शङ्काले नै टुट्छ हेर जीवनको तार पनि
जति गाढा मनको नाता मायाँ उस्तै हुन्छ !

मुक्तक - २

छड्किएपछि नतारी त माँण किन सुक्थ्यो
स्वाट्ट नपारी डबका त जाँण किन सुक्थ्यो
कयौं कुरा त अप्रिय हुन्छन् कठोर बन्नुपर्छ
चिरफार गरी नफाले त गाँण किन सुक्थ्यो ?

मुक्तक - ३

भरिनुको खुसी कस्तो झुसिएको भाँडो हेर
अग्लिनुको अर्थ के हो चुलिएको डाँडो हेर
जीवनजस्तै छ प्रकृति पनि हेरी पाठ सिक
मित्रताको गर्व कति फूलसँगैको काँडो हेर !

मुक्तक - ४

पर्खाइको स्वाद के हो बल्छी थाप्ने टाँगो हेर
गुमाउनुको मोल के हो फल लाग्ने हाँगो हेर
जिन्दगी नै बोझ बनाई जिउँछन् कायरहरू
सहासको अर्थ के हो झर्झर झर्ने छाँगो हेर !

मुक्तक - ५

प्यासको पछि लाग्दालाग्दै आज भोगी बन्यौ
अहंकारले जलेर भित्रभित्रै आज रोगी बन्यौ
कसले रचायो भन दौडधुपको नटुङ्गिने खेल
धनको पछि हिँड्दाहिँड्दै आज जोगी बन्यौ !

मुक्तक - ६

बाहिर एउटा भित्रभित्रै हजार लीला हुन्छन् हेर
मुखाँ राम मष्तिष्कमा सेक्सी फीला हुन्छन् हेर
कति गर्छौ भ्रमको रोपाइँ तथ्यसँग प्रमाण हुन्छ
छोप्ने पर्दा खसेपछि ईश्वर पनि गीला हुन्छन् हेर !

मुक्तक - ७

कसरी भरमा पर्नु हजुर मुखिया नै जाली भा'छ
के को लाली भर्नु हजुर अनुहार नै काली भा'छ
सकुनीहरूको बैठकमा पासाको नै खेला चल्छ
कसको विश्वास गर्नु हजुर बगरे नै माली भा'छ !

Title Photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप