बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

मृतसागर भनेको के हो ?

बुधबार, १४ साउन २०७७, ०६ : ५७
बुधबार, १४ साउन २०७७

तपाई हामीले पुस्तकमा पढेका छौं– संसारको सबैभन्दा होचो ठाउँ हो–मृत सागर । अनि, हामीले पढेका छौं– संसारमै सबैभन्दा नुनिलो पानीको सागर, जहाँ मान्छे डुब्दैन, त्यो पनि मृतसागर नै हो ।

आखिर यो मृत सागर भनेको के हो ? यो सागर छ कहाँ ?

इजरायल र जोर्डनको बीच सीमामा एउटा सागर छ । त्यस सागरलाई नै मृत सागर भनिन्छ । यस सागरको पानी अति नै नुनिलो छ । यस सागरलाई अरबी भाषामा बुहाइरेट लट (Sea of lot)  र हिब्रू भाषामा याम हा–मेल्हा (Salt Sea) पनि भनिन्छ ।

 मृत सागर पृथ्वीको सतहमा सबै भन्दा गहिराईमा पर्दछ । यो समुद्र सतहबाट ४३०.५ मिटर तलको गहिराइमा अवस्थित छ ।

यस सागरले १०४९ कि.मि.(९४०५ वर्ग माइल) क्षेत्रफल ओगटेको छ । यसको लम्वाई ७४ कि.मि. र चौडाइ लगभग १६ कि.मि. छ । यो ९९७ फीट गहिरो छ । यस सागरको मुख्य स्रोत जोर्डन नदी हो । यस नदीको पानी सिंचाईको लागि अन्त लगिएको छ । मृत सागरमा बाढीको वेग कम गर्न र त्यसको सतह माथि उठ्न नदिनको लागि यसो गरिएको हो । अहिले यस सागारको दक्षिणपट्टिको केही भाग काटेर कृत्रिम नहरद्वारा खानेपानी निकास गरिएको छ ।

यस सागरले ग्रेट रिफ्ट भ्यालीमा गहिरो खाडल बनाएको छ । जुन पूर्व र पश्चिमतिर समानान्तर रुपले वलौटेढुंगा र चुनढुंगाद्वारा छेकिएको छ ।

यो सागरको पानी नुनिलो हुनुको पनि आफ्नै कारण छ । यसको पानी बाहिर जाने बाटो छैन । तर वर्षेनी १४०० कि.मि. का दरले यहाको पानी वाष्पीकरण हुन्छ । पानी चाहि सुकेर जाने तर पानीले बगाएर ल्याएको खनिज तथा लवणहरु भने थुप्रिँदै जाने प्रक्रियाले गर्दा मृत सागरको पानी अन्य समुद्रको भन्दा ७ गुना (लगभग ३० प्रतिशत) बढी नुनिलो छ । यस सागरमा मान्छेले हातगोडा नचालिकन बस्दा पनि नडुब्नु, तैरिनुको खास कारण नै पनि नुनिलो भएको कारण त्यहाँको पानीको घनत्व बेसी भएकोले नै हो । यस सागरको पानी नुनिलो भएकै कारण, केवल एक–दुई प्रकारका जीवाणुहरु वाहेक अन्य जीवजन्तुहरु बाँच्न सक्तैनन् । यस क्षेत्र धेरै तातो र सुख्खा छ । यहाँ वर्षको मात्र ५० मि.मि. (२ इन्च) वर्ष हुन्छ । 

Title Photo: https://upload.wikimedia.org

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप