शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

रौतहटमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु

बिहीबार, १५ साउन २०७७, १३ : ३०
बिहीबार, १५ साउन २०७७

रौतहट । रौतहटको सदरमुकाम गौरमा करेन्ट लागेर एक महिलासहित दुई चौपायाको मृत्यु भएको छ । गौरस्थित कबिर चोकमा बिहीबार बाटोमा विद्युतको पोल ढल्दा करेन्ट लागेर स्थानीय एक महिला र दुईवटा साँढेको मृत्यु भएको हो ।

स्थानीय पत्रकार आरएन साहकाअनुसार बिहान ७ बजे वर्षासँगै आएको हावाहुरीले कबिर चोकमा एउटा विद्युतको पोल ढलेको थियो । पोल ढल्दा सोही स्थानमा रहेको एउटा साँढेको शरीरमा विद्युतको तारले छोएपछि करेन्ट लागेर घटनास्थलमै उक्त साँढेको मृत्यु भएको थियो ।

नजिकै रहेको अर्को साँढे पनि सो स्थानमा पुग्दा उसलाई पनि करेन्ट लागेको र घटनास्थलमै मृत्यु भएको पत्रकार साहले बताए ।  सोही समय घरबाट बजारतर्फ गइरहेकी गौर नगरपालिका–४ की ७० वर्षीय शान्तिदेवीले भुइँमा लत्रिएको विद्युतको तारमा टेक्दा उनलाई पनि करेन्ट लागेको थियो ।

करेन्ट लागेर गम्भीर घाइते भएकी शान्तिदेवीको उपचारको क्रममा जिल्ला अस्पताल गौरमा मृत्यु भएको प्रहरीले जनाएको छ ।  मृतक महिलाको शव पोष्टमार्टमका लागि पठाइएको र घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप