शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बाढीले कैलालीमा हजारौं विस्थापित

बिहीबार, १५ साउन २०७७, १४ : २८
बिहीबार, १५ साउन २०७७

कैलाली । अविरल वर्षापछि आएको बाढीका कारण कैलालीमा हजारौं नागरिक विस्थापित भएका छन् । मङ्गलबार रातिदेखि भइरहेको वर्षाका कारण सबैभन्दा बढी भजनी नगरपालिकाका नागरिक विस्थापित भएका छन् ।  भजनीमा दुई हजार २०० परिवार विस्थापित भएका छन् । भजनीका करिब १० हजार नागरिकलाई उच्च स्थानमा सारिएको स्थानीयवासी कुशुम धामीले जानकारी दिए । भजनीमा विस्थापित भएका परिवारलाई उच्च स्थान र हुलाकी राजमार्गमा राखिएको छ । नगर प्रमुख शेरबहादुर चौधरीका अनुसार सयौं परिवार गाई, भैँसीसहित सडकमा बसेका छन् । 

“नेपाली सेना, प्रहरी, सशस्त्र प्रहरी र जनप्रतिनिधि र स्थानीयस्तरमा रहेका उद्धार टोलीको सहयोगमा हजारौं नागरिकलाई उद्धार गरेका छौँ”, नगर प्रमुख चौधरीले भने, “सुरक्षित स्थानमा नअटेकालाई सडकमै राखिएको छ, उनीहरु त्रिपालमा बसेका छन्, वर्षा निरन्तर भइरहेकाले रात गुजार्न कठिन भएको छ ।”

भजनीको वडा नं ८ पूरै विस्थापित भएको छ । वडा नं २ र ३ मा पनि बढी डुबान भएपछि सयौं परिवार विस्थापित भएका छन् । नगर प्रमुख चौधरीले विस्थापित परिवारलाई खाना, त्रिपाल र पानीकोे जोहो गर्न नगरपालिका जुटिरहेको बताए । “सबै क्षेत्रबाट सहयोग भइरहेको छ, रेडक्रसकर्मीलगायत स्थानीय राहत तथा उद्धारमा खटेका छन्”, चौधरी भन्छन्, “अधिकांश परिवार आफन्तकामा पनि बसेका छन् ।”

मङ्गलबार रातिदेखि आएको अविरल वर्षापछि कैलालीको मध्यवर्ती क्षेत्रका सबै स्थानीय तह डुबानमा परेका छन् । कैलालीको टीकापुर, भजनी, लम्कीचुहा, घोडाघोडी नगरपालिका र जोशीपुर, जानकी, बर्दगोरिया गाउँपालिका डुबानमा परेका हुन् । यता टीकापुरमा ११ सय ३२ नागरिकलाई उच्च स्थानमा सारिएको छ । पथरैया नदी बस्तीमा पसेपछि टीकापुरका वडा नं ६, ७ र ९ का ३९० परिवारलाई प्रहरीको सहयोगमा उद्धार गरिएको हो ।

विस्थापित परिवारलाई नगरपालिकाले निर्माण गरेका उच्च घर र विद्यालयमा राखिएको नगर प्रमुख तपेन्द्रबहादुर रावलले जानकारी दिए । उनले निरन्तर वर्षा जारी रहेकाले क्षतिको विवरण सङ्कलन गर्न नसकिएको बताए । 

टीकापुरमा बाढीका कारण बजार क्षेत्रमा व्यापारीको ठूलो क्षति भएको छ । बजार क्षेत्रमा किराना पसल, पुस्तक पसल, कुटानीपिसानी मिल तथा गल्ला मण्डीमा लाखौंको क्षति भएको व्यापारीको गुनासो छ । जानकी गाउँपालिका वडा नं १ र ७ का ४१ घरधुरीका १६३ लाई उच्च स्थानमा सारिएको छ । वर्षाका कारण डुबानमा परेका परिवारलाई समयमै उद्धार गरिएको गाउँपालिकाका अध्यक्ष प्रदीपकुमार चौधरीले बताए । 

कन्द्रा, काँढा र पथरैया नदी सतहभन्दामाथि पुगेपछि जोशीपुर गाउँपालिकाका सबै वडामा डुबान भएको छ । जोशिपुर गाउँपालिकामा पनि सयौँ परिवार विस्थापित भएका वडा नंं १ का वडाध्यक्ष विधिराम चौधरीले बताए । 
    
वर्षाका कारण कृषि क्षेत्रमा पनि ठूलो क्षति भएको छ । टीकापुर वडा नं ७ दिव्यपुरमा पर्यटन व्यवसायी थर्कबहादुर शाहको कृषि फर्ममा ठूलो क्षति भएको छ । उनको आठ बिघा जमिनमा लगाइएको केराखेती, माछापालनलगायत सबै खेती नष्ट गरेपछि रु २० लाख बराबरको क्षति भएको बताइएको छ । 

करेन्ट लागेर मृत्यु 

कैलालीको जानकी गाउँपालिका–८ मा करेन्ट लागेर भगरैयाका ३५ वर्र्षीय युवक कालुराम डगौरा थारुको मृत्यु भएको छ । बुधबार लम्कीचुहा नगरपालिका–१ स्थित डल्फिन उद्योगमा काम गर्ने क्रममा करेन्ट लागेको थारुको मृत्यु भएको हो । थारुको शव परीक्षणको लागि टीकापुर अस्पतालमा राखिएको प्रहरीले जानकारी दिएको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप