बुधबार, १२ वैशाख २०८१
ताजा लोकप्रिय

भक्तपुर अस्पतालको दुर्गति : चालकको जागिर जोगाउन मन्त्रीको दबाब, आईसीयू चलाउन जनशक्ति भएन

बिहीबार, १५ साउन २०७७, १७ : १५
बिहीबार, १५ साउन २०७७

भक्तपुर । नेपालकै पुरानोमध्येको एक भएर पनि भक्तपुर अस्पताल अहिलेसम्म सबै प्रकारका बिरामीको उपचार गर्न सक्ने अवस्थामा पुग्न सकेको छैन । भक्तपुर दुधपाटीस्थित यो अस्पतालमा प्रमुखको जिम्मेवारी लिएर आएका धेरैले सुधारको प्रयास नगरेका पनि होइन । तर, राजनीतिक रङ दिएर होस् वा कर्मचारी युनियनको त्रास देखाएर होस् अस्पताल सुधारका योजनामा रोकावट हुँदै आएको छ । 

बुधबार जिल्ला समन्वय समिति भक्तपुरका प्रमुख नवराज गेलालको नेतृत्वमा भक्तपुरका तीन अस्पतालहरुको अनुगमन गर्न एउटा टोली निस्कियो । टोलीमा समन्वय समितका उपप्रमुख सरिता कुँवर, अन्य सदस्यहरु, कर्मचारी र केही पत्रकार थिए । 

भक्तपुर अस्पतालको सभाहलमा टोली र अस्पतालका कर्मचारीबीच केही समय छलफल भयो । अस्पतालकी मेडिकल सुपरटेन्डेट (प्रमुख) डाक्टर सुमित्रा गौतमले पहिला अस्पतालका कामहरु प्रस्तुत गरिन् । 
त्यसपछि उनले गेलालसहितको टोलीसमक्ष गुनासो गरिन्, ‘मैले यो अस्पताल सुधार गर्ने प्रयास गरिरहेको छु, तर काममा बेइमानी गर्ने एक जना एम्बुलेन्स चालकलाई समेत कारवाही गर्न सकिनँ ।’
कोरोनाको यस्तो अवस्थामा एक एम्बुलेन्स चालकलाई कारवाही किन गर्नुप¥यो भनेर अनुगमन टोलीबाट प्रश्न आयो ।

त्यसपछि अस्पतालकी प्रमुख डा. गौतमले भनिन्, ‘काममा ध्यान नदिने, हिसाव किताब लेखा शाखामा नबुझाउने गरेपछि कारवाही गर्न खोजेको तर उनको जागिर बचाउन मन्त्रीले समेत फोन गरे ।’
उनले एम्बुलेन्स चालकको जागिर जोगाउन फोन गर्ने मन्त्रीको नाम त भनिनन् । उक्त अन्तरक्रियापछि अस्पतालकै विभिन्न स्रोतसँग बुझ्दा बागमती प्रदेशका सामाजिक विकास मन्त्री युवराज दुलालले बा२झ ३९९८ नम्बरको एम्बुलेन्स चलाउँदै आएका कृष्णराम कोजुलाई कारवाहीबाट रोक्न अस्पताल प्रशासनसमक्ष दबाब दिएका हुन् ।

भक्तपुर अस्पताल विकास समितिका अध्यक्ष मिलन सुवाल मन्त्री दुलाल निकट मानिन्छन् । दुवै जनाले ती एम्बुलेन्स चालकलाई कारवाहीमा पर्नबाट जोगाएको स्रोतको भनाइ छ ।
जिल्ला समन्वय समितिका प्रमुख गेलालका अनुसार कोजु यसभन्दा पहिला समन्वय समितिले सञ्चालन गरेको एम्बुलेन्स चलाउँथे । त्यहाँ पनि काम राम्रो नगरेको, हिसाव पारदर्शी नगरेको भन्दै उनी निष्काशनमा परेका थिए । त्यसपछि उनी भक्तपुर अस्पतालमा गएका हुन् । 

हाल ती चाकललाई विभिन्न शर्तमा तीन महिनाको करारमा राख्ने र अस्पताल प्रशासनलाई चित्त बुझ्दो काम नगरे निष्काशन गर्नेगरी काममा राख्ने तयारी अस्पतालले गरेको छ । 
प्रदेश सरकार अन्तर्गत रहने यस अस्पतालको विकासका लागि समन्वय समितिले साथ दिने समितिका प्रमुख गेलालले बताए ।  खराब काम गर्नेलाई बिदाई र राम्रो काम गर्नेलाई सम्मान गर्नुपर्ने उनको भनाइ छ ।

आईसीयू चलाउन जनशक्ति भएन
रिफर गर्ने अस्पतालबाट क्रमशः उपचार गर्ने अस्पताल हुन थालेको भन्दै मेडिकल सुपरटेन्डेट डा. गौतमले भवन र पूर्वाधार तयार भए पनि आइसीयू र कोभिड अस्पताल संचालन गर्न जनशक्ति नभएको बताइन् । 
आइसीयु चलाउन नर्स, चिकित्सकलगायत करिव २५ जना जनशक्ति आवश्यक रहेको उनको भनाइ छ ।

विगतमा सरदर ६ सय जना बिरामी दैनिक अस्पताल आउने गरे पनि हाल कोरोनाका कारण २ सय ५० जनासम्म बिरामीहरु ओपीडी र अन्य सेवाका लागि अस्पताल आउने गरेका छन् । 
हरेक दिन ३ बजेपछि निर्धारित शुल्क तिरेर विशेषज्ञ डाक्टरमार्फत सेवा लिन सकिने व्यवस्था अस्पताल प्रशासनले गरेको छ । हाल २४ घण्टा इमरजेन्सी र प्रसुति सेवा, बाल रोग, मानसिक रोग, नशा तथा हाडजोर्नीलगायतका सेवा अस्पतालले प्रदान गर्दै आएको छ ।

स्वास्थ्य बीमा गरेकाको समेत उपचार गर्ने अस्पताल भएकाले पनि यहाँ बिरामीको चाप हुने गरेको छ । भक्तपुर, काभ्रे, सिन्धुपाल्चोकलगायतका जिल्लाबाट यो अस्पतालमा बिरामीहरु उपचारका लागि आउने गरेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

हेमराज ढकाल
हेमराज ढकाल

हेमराज ढकाल रातोपाटीका भक्तपुर संवाददाता हुन् ।

लेखकबाट थप