शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

जुर्मुरायो होमस्टे पनि : ‘हामी सकिएका होइनौँ, रोकिएकामात्र हौँ’

मङ्गलबार, २० साउन २०७७, ०९ : १२
मङ्गलबार, २० साउन २०७७

काठमाडौं । देशभरका सम्पूर्ण होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु साउन १५ देखि सञ्चालन गर्न सरकारले बाटो खोलिदिएपछि होमस्टे व्यवसाय सूचारु गर्ने गृहकार्यमा व्यवसायीहरु जुटेका छन् । चार महिना लामो लकडाउनका कारण बन्द रहेका देशभरका सम्पूर्ण होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु श्रावण १५ गतेबाट खुला गर्ने निर्णय सरकारले साउन ५ गते नै गरेको थियो ।

सरकारी निर्णय लगत्तै होमस्टे एशोसिएशन नेपाल (होसान)ले श्रावण ११ गते एक सूचना जारी गर्दै देशभरका होमस्टेलाई व्यवसायमा फर्कन आह्वान गरिसकेको छ । मुलुक भित्रका तारे होटल, डिलक्स होटल, रेष्टुरेन्ट तथा रिसोर्टहरु समेत सञ्चालनमा आइसकेको अवस्थामा आवश्यकता र व्यवसायिकतालाई ध्यानमा राख्दै होमस्टेले पनि पुनः सञ्चालनको गृहकार्य थालेको होमस्टे एशोसिएशन नेपाल (होसान)का अध्यक्ष केशब बडालले रातोपाटीसँग बताए ।

‘अहिले पनि हामी संक्रमणकालीन अवस्थामै छौं । कोभिड–१९ को संक्रमण र प्रभाव पूर्णरुपमा हटिसकेको अवस्था होइन,’ उनले भने, ‘यस्तो अवस्थामा व्यवसायको कुनै ग्यारेन्टी त छैन, र पनि हामी व्यवसायमा फर्कन लागेका छौं ।’

अध्यक्ष बडालका अनुसार सरकारले नै चार महिनादेखि बन्द रहेको मुलुकको पर्यटन उद्योगको गतिविधि बढाउन श्रावण १५ गतेदेखि पूर्णरुपमा होटल, पर्यटन तथा ट्रेकिङ व्यवसाय सञ्चालन गर्न दिने निर्णय गरेपछि होमस्टे व्यवसाय फेरि सूचारु गर्न आन्तरिक तयारी भएको हो । होसान अन्तर्गतका सातै प्रदेश कमिटीमार्फत सबै होमस्टेलाई व्यवसायमा फर्कन अनुरोध गरिएको उनले बताए ।

तर केही हामेस्टे भने अझै सञ्चालनमा आउन सकेका छैनन् । सुरक्षा संवेदनशीलताका कारण बाँके बर्दिया, कन्चनपुर, इलाम आसपासका क्षेत्रका केही होमस्टे भने सञ्चालनमा आउन सकेका छैनन् । यी बाहेक अन्य पर्यटकीय क्षेत्रका होमस्टे भने मुलुकभित्रको पर्यटन गतिविधि विस्तारै बढेसँगै खुल्दै गएको अध्यक्ष बडालको भनाइ छ ।

https://royalmt.com.np/

हामी सकिएका होइनौं, रोकिएका मात्र हौं

होमस्टे व्यवसायीहरुले पर्यटन व्यवसायमा आफुहरु नसकिएको बताउँदै व्यवसायमा फर्कने लागेको सन्देश दिएका छन् । कोभिड–१९ का कारण व्यवसाय प्रभावित हुँदा केही समय निष्क्रिय हुनुपरे पनि वातावरण सहज भएसँगै पुनः व्यवसायमा फर्कन लागेको होमस्टे व्यवसायी बताउँछन् ।

‘हामी सकिएका होइनौं, रोकिएका मात्र हौं,’ होमस्टे एशोसिएशन नेपाल (होसान) गण्डकी प्रदेश (पोखरा)का अध्यक्ष हरिलाल पौडेलले भने, ‘कोभिड–१९ का कारण होमस्टे व्यवसाय केही समय रोकिए पनि व्यवसाय हराएको छैन । हामी उठ्छौं र पुनर्स्थापित हुन्छौं ।’

कोभिडका कारण रोकिएको व्यवसायमा विस्तारै डिमान्ड सुरु भएको छ । पोखरामा आन्तरिक पर्यटकको गतिविधि बढेसँगै विस्तारै होमस्टेको बुकिङ्गसमेत आउन थालेको अध्यक्ष पौडेलले जानकारी दिए ।

यता, आन्तरिक पर्यटकको गतिविधि बढ्न थालेसँगै उच्च पहाडी तथा हिमाली क्षेत्रका पर्यटकीय क्षेत्रहरुमा रहेका होमस्टेहरुमा समेत यतिखेर चहलपहल बढ्न थालेको छ । कास्की घोडेपानी पुनहिल, घान्द्रुक, लमजुङ्गको घलेगाउँ, भुजुङ्ग, मनाङ, मुस्ताङ लगायत उच्च हिमाली क्षेत्र हुम्ला,जुम्ला, कालिकोटका होमस्टेहरु समेत यतिखेर सञ्चालनमा आउन थालेका छन् ।

यसले केही हदसम्म आन्तरिक रुपमै भए पनि पछिल्लो समय मुलुकभित्र पर्यटन गतिविधि बढेको सन्देश गएको होसानका अध्यक्ष बडालले बताए ।

भाद्र १ गतेदेखि राष्ट्रिय तथा अन्तर्राष्ट्रिय उडान समेत खुल्ला भएपछि विदेशी पर्यटकहरुको समेत आगमन हुने र व्यवसाय विस्तार हुनेमा आफुहरु आशावादी रहेको अध्यक्ष बडालको भनाइ छ ।

http://fnwonline.com/

होटलभन्दा होमस्टे सुरक्षित

स्वास्थ्य सुरक्षाको दृष्टिकोणले पर्यटकका लागि होटल, रेष्टुरेन्ट भन्दा होमस्टे अझ बढी सुरक्षित रहेको होसानको भनाइ छ । होमस्टे पूर्णतः पारिवारिक वातावरणमा रहने र सानो संख्यामा मात्र पर्यटक ( आगन्तुकहरु)को जमघट हुने हुँदा संक्रमणका हिसाबले बढी सुरक्षित हुने अध्यक्ष बडाल बताउँछन् ।

‘होमस्टे भनेको सानो झुण्डमा रहने तर पूर्ण पारिवारिक वातावरणमा बस्ने–खाने व्यवस्था भएको व्यवसाय हो, जहाँ बढीमा ८–१० जना सम्म रहन्छन्,’ उनले भने, ‘थोरै मान्छेहरुको मात्र जमघट हुने र आउजाउ हुने भएपछि सुरक्षित पनि बढी नै भइन्छ ।’

अझ बढी सुरक्षाको प्रत्याभूति कसरी लागु गर्न सकिन्छ भन्नेमा होमस्टेले तयारी गरिरहेको उनको भनाइ छ । ‘हामीले एशोसिएशनमा रहेका सबै होमस्टेहरुलाई सुरक्षा सावधानीका अधिकतमभन्दा अधिकतम उपायहरु अपनाएर मात्र व्यवसाय सञ्चालन गर्न भनेका छौं,’ उनले भने ।

व्यावसायिक रणनीतिका लागि श्रावण २६ गते एशोसिएशनको बैठक बस्दै

कोभिड–१९ को संक्रमण र सन्त्रास कायमै रहेका बेला व्यवसायमा गएका होमस्टे व्यवसायीहरुले आफ्नो भावी योजना तथा कार्यरणनीतिबारे छलफल गर्ने भएका छन् । सरकारी निर्णयसँगै आवश्यक स्वास्थ्य सुरक्षाका उपायहरु अपनाउँदै देशैभरीका होमस्टेहरु सञ्चालन गर्न आह्वान गरेको होसानले होमस्टेको अबको रणनीतिबारे आवश्यक गृहकार्य गर्न भन्दै यही श्रावण २६ गते एशोसिएशन अन्तर्गतका व्यवसायीहरुलाई छलफलमा बोलाएको छ । उक्त बैठकले नै अबको होमस्टेको नीति तथा कार्ययोजना पारित गर्ने अध्यक्ष बडालको भनाइ छ ।

हाल देशैभरीबाट संगठित असंगठित रुपमा करिब १३ सयको हाराहारीमा होमस्टे संचालित छन् । त्यसमा ४५० होमस्टेमात्र एशोसिएशनमा आवद्ध छन् ।

पछिल्लो समय होमस्टे सञ्चालन, दर्ता तथा नियमनको जिम्मा सबै स्थानीय निकायमा गएसँगै मुलुकमा कति होमस्टेहरु थपिए, के कति छन् सोको यथार्थ डाटासमेत पाउन सकिएको छैन । एकीकृत डाटा नहुँदा एशोसिएशनलाई समेत बेलाबेलामा समस्या पर्ने गरेको अध्यक्ष बडालले रातोपाटीसँग बताए । 

कोभिड–१९ को बढ्दो संक्रमण र जोखिमसँगै सरकारले गत चैत ११ गतेबाट मुलुकमा लकडाउन घोषणा गरेसँगै देशरका सम्पूर्ण पर्यटन गतिविधिहरु बन्द हुन पुगेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप