शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

अपराध दुनियाँका ‘मुन्ना’ इल्ताफको कनेक्सन जेलमा रहेका युनुससँग देखियो

स्कोर्पियो लुकाउन युनुसपत्नीको सहयोग
मङ्गलबार, २० साउन २०७७, १३ : ४३
मङ्गलबार, २० साउन २०७७

काठमाडौँ । साढे १४ किलो चाँदी र आधा किलो सुन तस्करीका मुख्य योजनाकार हुन्, बाराका इल्ताफ हुसेन अन्सारी । उनी अहिले फरार छन् । बारा हरपुर घर भएका अन्सारीको भारतीय जाली नोट कारोबारी युनुस अन्सारीसँग कनेक्सन देखिएको छ ।

पूर्वमन्त्री स्वर्गीय सलिमिया अन्सारीका छोरा युनुस भारतीय नक्कली नोटको पटके कारोबारी हुन् । उनी अहिले केन्द्रीय कारागारमा छन् । युनुस पनि बाराका हुन् ।

इल्ताफ युनुसँगै जाली नोटको काम गर्थे, सँगै जेल बसे । साउन १३ मा सुन्धाराबाट बा.६च ५५१९ नम्बरको स्कोर्पियोबाट सुन र पेस्तोलको झोला छाडेर भागेपछि प्रहरी अनुसन्धानबाट उनीहरुबीचको कनेक्सन खुलेको छ ।

इल्ताफ–युनुसबीचको कनेक्सन गहिरो छ । युनुस जेलमा हुँदा बाहिर उनको व्यवहार इल्ताफले समाल्छन् ।

जिल्ला अदालत ललितपुरले ०६७ जेठ २६ मा इल्ताफ हुसेन अन्सारीलाई ३ बर्ष कैद र २ करोड ६१ लाख  जरिवाना हुने फैसला सुनायो । फैसलाको पाँच वर्षपछि ०७२ जेठ ३० मा उनी सातदोबाटोबाट पक्राउ परेका थिए । जेलबाट छुटेपछि उनी सुन तस्करीमा सक्रिय भएको प्रहरी अनुसन्धानबाट खुलेको छ ।

०७६ जेठमा ७ करोड ६७ लाख ९४ हजार नक्कली नोटसहित पक्राउ परेका युनुस अन्सारी जाली नोटका पटके कारोबारी हुन् । मुद्दा पुर्पक्षका लागि केन्द्रीय कारागारमा रहेका युनुस र इल्ताफको पटक–पटक सम्पर्कमा देखिएको उनीबारे अनुसन्धान गरिरहेका महानगरीय प्रहरी परिसरका एक अधिकृतले रातोपाटीलाई जानकारी दिए ।

स्कोर्पियो लुकाउन युनुसपत्नीको सहयोग

सुन तस्करीमा प्रयोग भएको बा.६च ५५१९ नम्बरको स्कोर्पियो ललितपुरको नखिपोटस्थित विशाल चोकमा भेटियो । इल्ताफलाई सो स्कार्पियो लुकाउन युनुस अन्सारी पत्नीले सहयोग गरेको प्रहरी अनुन्धानबाट खुलेको छ । 

अम्बर बहादुर राईको घर कम्पाउण्डबाट प्रहरीले स्कार्पियो फेला पारेको थियो । सो घर युनुसले अम्बरलाई बेचेका थिए । सुन्धारामा निलेश सखियालाई दिएको सुनको झोला र दुईथान चाइनिज पेस्तोल प्रहरीले बरामद गरेको थाहा पाएपछि नखिपोटमा इल्ताफले गाडी छाडेर भागेका हुन् ।

युनुसको श्रीमती र इल्ताफ बीचमा नजिकको नाता सम्बन्ध छ । अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने, ‘युनुस पत्नीले गाडी लुकाउन सहयोग गरेको अनुसन्धानबाट खुलेको छ ।’

दुई श्रीमती, तीन नाम

जाली नोट र हतियार कारोबारमा इल्ताफ हुसेन चलेको नाम हो । प्रहरीले फेला पारेको झोलामा भेटिएको दुईथान चाईनिज पेस्तोल इल्ताफले ल्याएको बताइएको छ ।


जाली नोट, सुन तस्करी र हतियार कारोबारको दुनियाँमा उनी आफूलाई सक्कली नामले चिनाउँदैनन् । अपराधको दुनियाँमा उनी आफूलाई ‘मुन्ना’ र ‘राजु’ भनेर चिनाउँछन् । तर, वास्तविक नाम इल्ताफ हुसेन अन्सारी हो ।

प्रायः वीरगञ्ज बस्ने इल्ताफका दुई श्रीमती छन् । जेठी सविना मुस्लिम हुन् । यस्तै काभ्रेकी राधिका भण्डारीसँग उनले दोस्रो विवाह गरेका छन् । राधिका बनेपामा बस्छिन् ।

नक्कली भारतीय रुपैयाँ कारोबारका मुख्य नाइके हुन् डी कम्पनीका दाउद इब्राहिम । इल्ताफमाथि तिनै दाउन र पाकिस्तानी गुप्तचर निकाय आईएसआईका सहयोगीको रुपमा काम गर्दै आएको आरोप लाग्ने गरेको छ ।

इल्ताफलाई दाउद र आईएसआईको सम्पर्कमा युनुसले लगेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

नोट कारोबारमा संलग्न इल्ताफ दोहोरो भूमिकामा देखिने गरेका छन् । एजेन्सीको एजेन्टको रुपमा काम गर्ने इल्ताफ कहिले जाली नोटको सूचना दिने, त कहिले आफै काम गर्ने गर्थे ।  


चार युनिटले खोज्दै

सुन्धाराबाट स्कोर्पियो हुँइक्याएर भागेका इल्ताफको खोजीमा प्रहरीको चारवटा युनिट लागिपरेको छ । केन्द्रीय अनुसन्धान व्यूरो, विशेष व्यूरो, महानगरीय अपराध महाशाखा र काठमाडौं प्रहरीले उनलाई खोजिरहेका छन् ।

तर, आफ्नो नाममा भएको ९८५५०... नम्बरको मोबाइल बारामा छाडेर हिँडेपछि प्रहरी अलमलिए । सो नम्बर उनले प्रहरीलाई झुक्याउनका लागि सधैँ बारामै छाड्ने गरेको पाइएको छ ।

जाली नोटको कारोबारी इल्ताफ भारत भाग्ने अवस्था भने छैन । उनी, भारतीय प्रहरीको ‘मोस्ट वान्टेड’ सूचीमा छन् । बारामा उनको पेट्रोल पम्प छ । उनको नाममा फ्युल ट्यांकर, कालो रंगको बुलेट मोटरसाइकल र बा.६च ५५१९  नम्बरको स्कार्पियो गाडी उनको नाममा देखिएको छ । यसअघिका अपराधमा पनि उनले सो स्कोर्पियो प्रयोग गर्ने गरेको बताइएको छ ।  


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप