बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

रुसको कोरोना भ्याक्सिनमा डब्ल्यूएचओलाई शंका किन ? बताए यस्तो कारण

बुधबार, २१ साउन २०७७, ०९ : ०२
बुधबार, २१ साउन २०७७

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले मंगलबार रुसको भ्याक्सिनको विषयमा शंका जताएको छ । रुसले अक्टोबर महिनादेखि कोरोना भाइरसको भ्याक्सिनको उत्पादन गर्दैछ ।

विश्व स्वास्थ्य संगठनले भ्याक्सिन उत्पादनका लागि दिशानिर्देश बनाएको छ । विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिंडमियरलाई यूएन पत्रकार सम्मेलनको क्रममा यदि कुनै भ्याक्सिनको तेस्रो चरणको ट्रायल नगरीकनै त्यसको उत्पादनका लागि लाइसेन्स जारी गरिन्छ भने के संगठनले यसलाई खतरनाक मान्छ ? भन्ने प्रश्न सोधियो ।

रुसका स्वास्थ्यमन्त्रीले शनिबार उनको देशले अक्टोबर महिनादेखि कोभिड–१९ विरुद्ध ठूलो स्तरमा भ्याक्सिन अभियान सुरु गर्ने तयारी गरिरहेको जानकारी दिएका थिए । रुसका स्वास्थ्यमन्त्री मिखाइल मुराश्कोले पत्रकारसँगको कुराकानीमा भ्याक्सिनको कुनै शूल्क नलिइने र सबैभन्दा पहिले डाक्टर र अध्यापकलाई दिइने बताए ।

रुसी स्वास्थ्यमन्त्रीले उत्पादनका साथै भ्याक्सिनको क्लिनिकल ट्रायल पनि जारी रहने र यसलाई उत्कृष्ट बनाउने कोसिस गरिने जानकारी दिए ।

विश्व स्वास्थ्य संगठनका प्रवक्ता क्रिस्टियन लिन्डमियरले भने, ‘जब यस्तो खबर आउँछ वा यस्तो कदम उठाइन्छ तब हामी सावधान रहनुपर्छ । यस्ता खबरको तथ्यको अनुसन्धान सतर्कताका साथ गर्नुपर्छ ।’

क्रिस्टियन लिन्डमियरले भने, ‘अनुसन्धानकर्ताले कुनै कुराको खोजी गरेको जुन साँच्चै नै असाध्यै राम्रो भएको दाबी गर्छन् । तर केही खोजी गरेको दाबी गर्नु वा भ्याक्सिन प्रभावकारी भएको संकेत पाउनु वा क्लिनिकल ट्रायलको सबै चरणबाट गुज्रनुमा निकै ठूलो अन्तर हुन्छ । हामीले आधिकारिक रुपमा त्यस्तो केही पनि देखेका छैनौं । यदि आधिकारिक रुपमा केही भएको भए युरोपका हाम्रा अफिसका सहयोगीले यो कुरामा पक्कै पनि ध्यान दिने थिए ।’

विश्व स्वास्थ्य संगठनका प्रवक्ताले भने, ‘एक सुरक्षित भ्याक्सिन बनाउनका लागि थुप्रै नियम बनाइएको छ र यसका लागि दिशानिर्देश पनि छन् । यसको पालना गर्नु आवश्यक छ किनभने यसो गरे मात्रै भ्याक्सिन वा कुनै पनि उपचार केमा असरदार छ र कुन रोगविरुद्धको लडाईंमा मद्दत गर्छ भन्ने बारे पत्ता लाग्न सक्छ । ’

उनले भने, ‘दिशानिर्देशको पालना गरेपछि कुनै उपचार वा भ्याक्सिनको साइड इफेक्ट छ वा कतै यसको फाइदाको साटो हानी त बढी छैन भन्ने पनि पत्ता लाग्छ ।’

विश्व स्वास्थ्य संगठनले आफ्नो वेबसाइटमा क्लिनिकल ट्रायलसँग गुज्रिरहेको २५ वटा भ्याक्सिनलाई सूचीबद्ध गरेको छ जबकी १ सय ३९ भ्याक्सिन अहिले पनि प्रि–क्लिनिकल स्टेजमा छ ।

स्रोतः बीबीसी

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप