बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

कोरोना कहर : ६ जिल्लामा पूर्ण र ७ जिल्लामा आंशिक निषेधाज्ञा

बुधबार, २१ साउन २०७७, १५ : ११
बुधबार, २१ साउन २०७७

काठमाडौं । कोरोना संक्रमितको ‘हट स्पट’ बनेपछि पर्साको वीरगञ्ज महागरपालिकाबाट सुरु गरिएको निषेधाज्ञा अहिले जिल्लाभर लागू गरिएको छ । पर्सामा हालसम्म कोभिड–१९ बाट १७ जनाको मृत्यु भएको छ । पर्साका सहायक प्रमुख जिल्ला अधिकारी ललितकुमार बस्नेतका अनुसार हालसम्म ६०४ जनामा संक्रमण पुष्टि भएको छ । 

जिल्ला सुरक्षा समितिको निर्णय अनुसार साउन १० मा महानगर क्षेत्रमा जारी निषेधाज्ञा साउन १९ देखि जिल्लाभर लागु गरिएको छ ।  स्थानीय प्रशासन ऐन ०२८ को दफा ६ (३) र संक्रामक रोग ऐन २०२० अनुसारको अधिकार प्रयोग गरे प्रमुख जिल्ला अधिकारीले निषेधाज्ञा र कर्फ्यू आदेश जारी गर्न सक्छन् ।

पर्सासहित बारा, सप्तरी, स्याङ्जा सर्लाही र बाँके जिल्लाभर स्थानीय प्रशासनले निषेधाज्ञाको निर्णय गरेका छन् । मन्त्रिपरिषद्ले लकडाउन खुलाउने निर्णय गरेपनि संक्रमण बढेपछि ती जिल्लामा निषेधाज्ञा गर्नुपरेको प्रमुख जिल्ला अधिकारीहरु बताउँछन् । 

महोत्तरीमा एकजनाको मृत्यु भएपछि स्थानीय प्रशासनले जलेश्वर नगरपालिका र महोत्तरी गाउँपालिकाका ३ र ५ नम्बर वडामा जारी गरेको निषेधाज्ञाको समय सकिएको छ । 
अब, फेरि निषेधाज्ञा जारी गर्ने कि नगर्ने भन्नेबारे छलफल भइरहेको जिल्ला प्रशासन कार्यालय महोत्तरीका प्रजिअ कृष्ण बहादुर कटुवालले जानकारी दिए । महोत्तरीमा संक्रमितको संख्या ९१६ पुगेको छ । 

महोत्तरीमा जस्तै, उपत्यका बाहिरका ७ जिल्लामा सिमाना तोकेर निषेधाज्ञा जारी गरिएको छ । धनुषा, मोरङ, नुवाकोट, झापा, सुनसरी, बझाङ र दार्चुलामा सीमाना तोकेर निषेधाज्ञा जारी गरिएको गृह मन्त्रालयका सहप्रवक्ता उमाकान्त अधिकारीले जानकारी दिए । 

बझाङको केदारस्यूँ गाउँपालिकाको ६ र ७ नम्बर वडा तथा थलाराको ५ नम्बर वडामा निषेधाज्ञा जारी गरिएको प्रजिअ कमलराज भण्डारीले बताए । उनले भने, ‘संक्रमितको संख्या धेरै भएका ठाउँमा जोखिम कम गर्ने उद्धेश्यले निषेधाज्ञा जारी गरेका छौँ ।’ बझाङको बुंगल नगरपालिकामा मृत्युपछि स्वाव संकलन गरिएको ६२ वर्षीय पुरुषमा कोरोना पोजेटिभ देखिएको छ । संक्रमण पुष्टि भएका २६७ मध्ये १६६ जना निको भएर घर फर्केका छन् । 

झापाको विर्तामोड नगरपालिका र अर्जुनधारा नगरपालिकामा निषेधाज्ञा जारी गरिएको छ । धनुषाको जनकपुर उप–महानगर र क्षीरेश्वरनाथ नगरपालिकामा पर्ने केही भागमा निषेधाज्ञा जारी गरिएको छ । मोरङ र नुवाकोट जिल्लाका केही क्षेत्रमा निषेधाज्ञा जारी गरिएको छ । 

सुनसरीको बराहक्षेत्र नगरपालिकाका वडा नम्बर ६, ७ र ८ मा निषेधाज्ञा जारी गरिएको छ । दार्चुलाको मार्मा गाउँपालिकामा निषेधाज्ञा जारी गरिएको छ । स्थानीय प्रशासन ऐन अनुसार निषेधाज्ञा जारी गरिएको क्षेत्रमा भेलाजम्मा हुन पाइँदैन, तोकिएको अत्यावश्यक सेवाबाहेक सवारी आवागमन र पसल खोल्न पाइँदैन । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप