केन्द्रीय संस्करण

राजनीतिक दाउपेच र स्थिर सरकार

person explore access_timeसाउन २२, २०७७ chat_bubble_outline0

सत्तामा पुग्नका लागि प्रत्येक राजनीतिक दल आफ्ना सबै रणनीतिको प्रयोग गर्छ । विपक्षी दलसँग मात्र होइन आफ्नै पार्टीभित्र उपल्लो शक्ति प्रप्त गर्न विभिन्न विभिन्न गुट उपगुटको निर्माण गर्छ  । विपक्षीलाई तल झार्न र सत्ताबाट बाहिर निकाल्न धेरै किसिमा हथकण्डा अपनाउँछ । विशेषगरी सत्ता आफ्नो पोल्टामा पार्न पक्ष विपक्ष यसरी अपनाउँछन् हथकण्डा : पहिलो चरण ललकार्ने, दोस्रो चरण धम्क्याउने, तेस्रो चरण सताउने, चौथो चरण थकाउने, पाँचौँ चरण फकाउने, छैटौँ चरण, छकाउने, सातौँ चरण सिध्याउने, आठौँ चरण – सँगसँगै जाने । यसरी नै राजनीति अघि बढेको देखिन्छ । सङ्क्षेपमा हेरौँ :
ललकार्ने–
जब विद्रोह हुन्छ, विरोध गर्छन्, आन्दोलन गर्छन् तब शक्तिमा बस्नेले केही होइनझैँ गरी ललकार्ने बेवास्ता गर्ने, नगन्ने गर्दै जान्छ । त्यसैगरी विद्रोही पक्षले हरेक विषय र गौँडामा धावा बोल्दै जान्छ तब शान्ति खलबलिन्छ । अनि बल्ल बिउँझदा जनतामा रोष आक्रोश बढ्दै गएको हुन्छ । काफी मात्रामा यो बेला दुवैतर्फ वक्तव्यबाजी, पर्चा प्रचार बाजी धेरै हुन्छ । त्यसपछि बल्ल सरकार वा शक्तिमा हुनेले शक्तिको ताउर माउर गर्न थाल्छ । केही होइन भन्ने उसको सोचमा चोट लागेर केही हो भन्ने भइसकेको हुन्छ । त्यसैले शक्तिको भरमा रोकथाम गर्नतिर लाग्छ । एउटाले अर्कोलाई ललकारी रहन्छन् । 
धम्क्याउने—
गन्दै नगनेकाबाट ठाउँठाउँबाटै अवरोध आएपछि शक्तिको धम्की दिन सुरु गर्छ । थर्काउने र धम्क्याउने सोचको सहारामा सरकारी शक्ति पक्ष जान्छ । त्यसको बराबरीमा विद्रोही पक्ष उत्रिन्छ । ऊ पनि धम्किदिने र थर्काउन उद्दत हुन्छ । बाकयुद्ध धेरै चल्छ । 
सरकारी पक्षले धरपकड गर्ने, थुन्ने, थुनाउने दबाउने प्रयत्न गर्न थाल्छ । अनि दोहोरो थुन्ने अपहरण गर्ने र चर्को वक्तव्यबाजी हुन्छ । तँ छाड म छाडले उग्ररू पलिँदै जान्छ । एउटाले अर्कोलाई काउन्टर दिने काम हुन्छ । कारबाही गर्ने धम्की दिँदै दुःख दिएर सताउनतिर लाग्छन् । 
सताउने–
 विभिन्न प्रकारको नाकाबन्दी लामो बन्द गर्ने, एकले अर्कोलाई सताउने छेक्ने, थुन्दिने, अपहरण, अवरोध हानाहान सीमाभन्दा परको भनाभन हुनेगर्दछ । जसरी हुन्छ एकपक्षले अर्को पक्षलाई सताउँछन् । बन्द हड्ताल, नारा जुलुस, धर्ना दिने, लुट्ने आदिबाट थर्काउनतिर विद्र्रोही पक्ष लाग्छ । त्यसैगरी थकाएर आफ्नो विद्रोहलाई अरू सशक्त दबाउनतिर सरकारी पक्ष पनि आफ्नो ठाउँबाट लाग्छ । यसरी एउटाले अर्कोलाई सताएर थकाउने दिशातिर लागेको देखिन्छ । 
थकाउने-
 चौथो चरणको विद्रोहमा पुग्दैगर्दा दमन र प्रतिकार जोडतोडले चलिरहेकै हुन्छ । यस बीचमा सरकार र राज्यपक्ष हरकदममा सशक्त दमन गरेर थकाउनतिर हर हतकण्डा प्रयोग गर्दै जान्छन् । जतिजति बल थिच्यो उत्ति उफ्रिन्छ भनेझैँ राज्य पक्षलाई थकाउनमा विद्रोहीले पनि आन्तरिक र बाह्य हर हतकण्डा प्रयोग गर्छ । त्यसमा बारुदीको प्रयोग विष्फोट गराएर भए पनि तर्साएर थकाउनमा यो चौथो चरण सकेको गर्न पुग्छन् । दुवै पक्षको यस्तो हिंसात्मक क्रियाकलापबाट नागरिक समाज अधिकारकर्मी र जनता पीडित हुन पुग्छन् र विरोध गरी वार्ताका माध्यमबाट समस्या समाधान गर्न दबाब दिन सुरु गर्छन् । दुई पक्ष नै यतिखेर थकाउनमै व्यस्त देखिन्छन् । 
फकाउने– 
दुवैले एकअर्कोलाई थकाएको अनुभूति गर्छन् तर आआफैँ थाकिसकेका हुन्छन् । यति बेला विकल्पको खोजी भित्रभित्रै गर्छन् । त्यसैले समन्वयकारी सङ्घसंस्थाको आह्वानलाई सकारात्मक रूपमा लिएको टिप्पणी गर्छन् र एउटा अर्कोलाई समाधानको दिशामा जान नचाहेको दोषारोपण गर्छन् । तर दुवैथरी आआफ्नो नाक बचाएर सेफ ल्यान्डिङको खोजीमा हुन्छन् । दुवैतर्फबाट सर्त अगाडि सार्छन् । जसलाई हेर्दा यो फकाउने चरणहो भन्न सकिन्छ । विद्रोहीले तिनका यी यी कुरा बन्द गरेमा राज्य पक्षबाट यी कुराहरूमा वार्ता गर्न सकिन्छ भन्छ । यतिखेरै दुवै पक्षको स्थिति बुझेर समन्वयकर्ता सङ्घसंस्थाले वार्ताको टेवुलमा ल्याउने कोसिस गर्छन् । यी दुवै पक्ष पनि युद्ध बिराम गर्न राजी हुन्छन् । यो थाकेको सङ्केत पनि हो । फकाउने अवसरका रूपमा सदुपयोग गर्न उद्दत हुन्छन् । एक पक्षले अर्को पक्षलाई सकेको हतकण्डा प्रयोग गरी फकाउँछन् किनकि त्यही मौकाको फाईदा उठाएर छक्याउन सुरुवात गरिरहेका हुन्छन् । 
छक्याउने–
 एकले अर्कालाई कसरी छक्याउने भनेर जमर्को मात्र गर्दैनन् विद्रोही पक्षले शान्तिपूर्ण प्रदर्शनका क्रियाकलापका साथै गोष्ठी सेमिनार भेटघाट र सञ्चारलाई भरमग्दूर धेरै भन्दा धेरै फाइदा लिने प्रयत्न गर्छन् भने अर्कोतिर राज्यले विश्वासमा लिन पनि उत्तिकै चालबाजी चालिरहेको हुन्छ । आफ्नो पक्षलाई झुक्याउँछ कि भनेर बडो सतर्कता दुवै पक्षले अपनाइरहेका पनि हुन्छन् । 

सकेको दुहुन विद्रोही पक्ष लाग्छ भने सकेसम्म खिचेर दिएझैँ गरी छक्याउन राज्यपक्ष लाग्छ । जहाँ द्वैधअर्थ लाग्ने शब्दमा, माग पूरा गर्ने अवधिमा, सकेसम्म लिङ्गरिङ गरेर टार्नमा, नसक्नेकुरामा आफ्नो अडान राखेर छक्याउनतिर प्रयत्नशील हुन्छ । विद्रोही पक्ष तत्कालै हातहाती जस्तै गर्ने र पूरा नगरेका सर्तमा जहिले पनि युद्धबिराम भङ्ग गरेको दोष राज्यलाई दिएर युद्धमा जाने लुपहोल राख्नमा चनाखो हुन्छ । यसैमा छक्याउने चरण पूरा हुन्छ । तर को कति, को कुनमा छक्किए छक्याए भन्ने परिणाम शान्तिवार्ता पूरा गरेर कार्यान्वयन हुन थाल्छ अनि मात्र देखिँदै जान्छ । तर यो चरण भने मिलन बिन्दुको प्रारम्भिक चरण हो । 
सिध्याउने– 
सातौँ चरण सिध्याउने सकिने चरण हो । यो चरणमा एकअर्कोलाई र विद्रोह पनि सिध्याउने प्रयत्न हुन्छ । अर्थात वार्ताको अन्तिम चरण यहीँ हुन्छ । सन्धि सम्झौता यसैमा गरिन्छ । विद्रोही र राज्य पक्षबिच एकअर्को सिध्याउने खेल त छैटौँ चरणमा छक्याउने प्रयासमै थालनी भएको हुन्छ । त्यसको परिणाम राजनीतिक, सामाजिक, सांस्कृतिक, प्रशासनिक र व्यावहारिक क्षेत्रमा भएको कार्यान्वयन र परिणामले देखाउँदै लाने हो । आठौँ चरणमा जब राजनीतिक प्रतिस्पर्धामा दलहरू उत्रन्छन् तब कसले कसलाई छक्यायो, सिध्यायो सबै परिणाम दगलगत निर्वाचनमा देखिन्छ । सायद विश्वमै नेपाल मात्र एउटा त्यस्तो देश हो जसमा माओवादी विद्रोहीले सत्ता बाहिरको पार्टीसँग दलगत आधिकारिक सम्झौता गरी संयुक्त जनआन्दोलनपछि विद्रोही पक्ष र मेनस्ट्रिम पक्षबीच फेरि त्यही बाह्रबुदेमा टेकेर शान्ति वार्ता भै विद्रोही मूलधारमा आएको । यो सातौँ चरण सुषुप्त चरण हो । सम्झौताको दस्ताबेजमा दुवै पक्षको हस्ताक्षर सम्मति स्वरूप हुन्छ । समन्वयकर्तालाई पनि रोहबर गरी अन्तिमरूप दिइन्छ । 
सँगसँगै जाने—
 यस्तो रूप बहुदलीय प्रतिस्पर्धात्मक पद्धतिमा मात्र देख्न भोग्न सकिन्छ । किनकि विद्रोही र राज्यपक्षको दलबीच सँगैसँगै आवधिक निर्वाचनमा जानुपर्छ । राजनीतिक विद्रोहको सम्झौता हो भने त्यतिखेर नीति पद्धति नेतृत्व प्रक्रिया पात्र सबै नै फेरिएको अवस्थामा निर्वाचनको मैदानमा दलीय नेताहरू हुन्छन् । आआफ्ना घोषणापत्र र कार्यक्रम जनतासामु लिएर जान्छन् । जानै पर्छ । तब जनता मतको निर्णयबाट को कति सकिने सिध्दिने र स्थापित हुने परिणाम देखिन्छ । तर पनि पद्धतिमा सँगसँगै जानै पर्छ । यदाकदा हामी गर्ने भन्ने एउटा गरिदेखाउने अर्कै अर्थात कथनी र करणी अलग अलग पाइने गरेको छ । जनताको आन्दोलनले नै नबोलेको कुरा पनि यहाँ राज्य र विद्रोही हैन जनता छक्याएर जबर्जस्ती लादिएको जनगुनासोलाई अझै रत्तिभर गनिएको छैन । 

समग्रमा भन्नुपर्दा जजसका बीचमा विवाद र विद्रोह हुन्छ लोकतन्त्रमा तिनै दल र विचारका बीच जनमतका लागि प्रतिस्पर्धा हुने गर्दछ यो नै लोकतन्त्रको सुनौलो पक्ष हो । 
 प्रत्यक चरणका उपमा मैले यो संक्षेपमा अ‍ैले राखिन तर नेपालकै विद्रोह आन्दोलन र सङ्घर्षका ईतिहासबाट पटापट लिन सकिन्छ तर अन्तरदल सम्मको पनि लिन र मिल्न सक्छ तर दलभित्रको भने अलि फरक हुन्छ किनकि वर्तमानमा नेकपाभित्र चलिरहेको शक्ति हत्याउने वा बाँड्ने भित्री सुनामी राजनीति अलि मिल्दैन वार्ता गर्ने भन्ने नटुङ्ग्याउने केवल छल्ने छक्याउने सताउने थर्काउने सबै चरण चलिरहेको छ ‘राजनीतिक हथकण्डा’को । तर राज्य पक्ष र विद्रोही पक्षको जस्तो निखारेर हिसाब नेकपामा कहिल्यै भएकै छैन, हुंदा पनि हुन्न हुने लक्षण पनि देखिँदैन । किनकि पूर्ण कसरत दुवै पक्षको एकले अर्कालाई फकाउने, छक्याउने र सिध्याउनेमै सीमित छ । नयाँ योजना, कार्यक्रम, नीति, थिति, पद्धति, प्रवृत्ति जनतासँगको सवाल एउटा पनि कत्ति पनि छैन, मात्र अहिले पात्र फेरिने साँघुरो सुरुङको कुरा मात्र छ । 

त्यस्तोमा त जसले सक्यो उसैले छक्याउने त हो नि । तर पद्धतिको दुई तिहाइलाई बीचमा तुहाउन कदापि हुन्न फेरि पनि पद्धति कमजोर हुन्छ । सरकार अस्थिर हुन्छ जनविश्वास गुम्छ । अनि मुलुक अस्थिर हुन्छ । मुलुक सही दिशामा जान सक्दैन । जो भयो २००७ देखि हालसम्म त्यही भयो । नेताहरूको निजी स्वार्थमा मुलुक सधैँ अनिर्णयको र अस्थिरताको बन्दी बन्यो । 

समग्र रूपमा हरेक पक्षमा व्यवस्थि तहुन सकेन, नेताको नितान्त व्यक्तिगत स्वार्थमा संस्थागत सौदाबाजी गरिए । परिणाममा जति पद्धति फेरे पनि मुलुक अधोगतिमै रूमलिरह्यो । सुस्पष्ट दिशालिएर अगाडि बढ्ने त कुरै भएन । त्यसैले स्थिर सरकार दीर्घकालीन सुस्पष्ट समग्र विकासको योजनाबद्ध खाका आउनै सकेको छैन । त्योबिना मुलुकको समग्र विकासको सम्भावना छैन । जिम्मेवार नेता भए बेलैमा सोच्ने हो कि ?

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.