शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

नवप्रवेशीको आडमा शक्ति बढाउँदै देउवा, सिटौलाको विकल्पमा गच्छदार र थापा

देउवाको महाधिवेशनमुखी रणनीतिले संस्थापन इतर समूह चेपुवामा
शनिबार, २४ साउन २०७७, १७ : ५१
शनिबार, २४ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसमा कोरोनाभाइरसको महामारीका बीच १४ औं महाधिवेशनको मिति तय भएसँगै सुरु भएको महाधिवेशन लक्षित आन्तरिक रस्साकस्सी जारी छ । यही बीचमा काँग्रेस साउन १० गतेयता स्थानीय तहको पार्टी संगठन क्रियाशील सदस्यता वितरण र नवीकरणमा लागिपरेको छ ।

महाधिवेशनका लागि शक्ति सञ्चयको होडबाजी चल्दैगर्दा शीर्ष नेताहरुको कार्यकर्ता फकाउने आ–आफ्नै रणनीति छ । सभापति शेरबहादुर देउवाले पद बाँड्ने नीति अख्तियार गरेको पाइन्छ भने संस्थापन इतर पक्ष देउवालाई असफल सिद्ध गरेर महाधिवेशनमा आफूलाई विकल्पको रुपमा खडा गर्ने रणनीतिमा देखिन्छ ।


महाधिवेशनमको कार्यतालिका सार्वजनिक भएपछि देउवा संस्थापन इतर पक्षको विरोधको प्रवाह नगरी मनोनयनमा केन्द्रित छन् । पार्टीको जिम्मेवारीमा बस्न चाहने इतर निकट कार्यकर्ता र काँग्रेसमा नयाँ प्रवेशीलाई व्यवस्थापन गरेर शक्ति सञ्चय गर्ने देउवाको ध्येय छ । 

फागुन १९ गते देउवाले सर्लाही  जंगीलाल राय र  कर्णबहादुर बुढालाई केन्द्रीय सदस्य मनोनित गरेका थिए । यस्तै कैलालीका मोहनसिंह राठौर, सर्लाहीका शम्भुलाल श्रेष्ठ, कपिलवस्तुका अभिषेक प्रताप साह, लमजुङका दयाराम पाण्डे, डडेलधुराका जनकराज कलौनी, स्याङ्जाका भूमिबहादुर गुरुङलाई  आमन्त्रित केन्द्रीय सदस्यका रुपमा मनोनित गरका थिए ।

कलौनी तत्कालीन माओवादी केन्द्रबाट छोडेर काँग्रेस प्रवेश गरेका थिए भने जंगीलाल रायले राष्ट्रिय जनता पार्टी (राजपा) परित्याग गरी काँग्रेसमा आएका थिए । पूर्वमन्त्री समेत रहेका तत्कालीन एमाले नेता राठौर गएको आम निर्वाचनमा काँग्रेस प्रवेश गरेका थिए ।


सिंह पनि आम निर्वाचनको मुखमा उपेन्द्र यादव नेतृत्वको तत्कालीन संघीय समाजवादी फोरम छोडर काँग्रेस प्रवेश गरेका थिए । राज्य मन्त्री समेत रहेका श्रेष्ठले पनि आम निर्वाचन कै मुखमा तत्कालीन माओवादी केन्द्र परित्याग काँग्रेस प्रवेश गरका थिए । पाण्डे आफू नेतृत्वको अखण्ड नेपाल पार्टी समानान्तरसहति काँग्रेसमा प्रवेश गरेका थिए ।

गुरुङ तत्कालीन नयाँ शक्ति नेपालबाट काँग्रेसमा प्रवेश गरे थिए । बुढा राष्ट्रिय प्रजातन्त्र पार्टी सयुक्त परित्याग गरी सिंगो राप्रपाको डोल्पा जिल्ला कार्यसमिति सहित काँग्रेसमा गएका थिए ।  
पार्टीको विधान तथा नियमावलीको व्यवस्था बमोजिम देउवाले फागुन १७ गते केन्द्रीय कार्यसमितिको आमन्त्रित सदस्य दाङका कृष्णकिशोर घिमिरे, झापाका गोपालकुमार बस्नेत, झापाका सुधीरकुमार शिवाकोटी, धनकुटाका मनोहर नारायण श्रेष्ठ र  तनहुँका ध्रुव वाग्लेलाई मनोनयन गरेका थिए ।

देउवाले तत्कालीन फोरम लोकतान्त्रिकबाट विजयकुमार गच्छदारलाई उपसभापति १२ जनालाई केन्द्रीय कार्यसमितिमा समेटिसकेका छन् । 
रामजनम चौधरी, मोहम्मद नसिर सिद्धिकी, भारतेन्दुकुमार मल्लिक, हेमराज तातेड, गोपाल दहित, हरिप्रसाद न्यौपाने, मंगलप्रसाद थारु, योगेन्द्र चौधरी, सुमित्रा थरुनी, कल्पना चौधरी र पवनकुमार सारडा केन्द्रीय कार्यसमितिमा रहेका छन् ।


निर्वाचनताका तत्कालीन माओवादी परित्याग गरी काँग्रेस प्रवेश गरेका नन्दनकुमार दत्त, अखण्ड पार्टी काँग्रेसमा विलय गराएका कुमार खड्का, नरेन्द्रकुमार चौधरी र हसन अन्सारीलाई देउवाले विभिन्न समयमा केन्द्रीय कार्यसमिति मनोनित गरिसकेका छन् ।

देउवा पक्षले उनीहरुलाई आगामी महाधिवेशनमा शक्ति स्रोत मानेको छ । किनभने तत्कालीन लोकतन्त्रिक फोरमबाट काँग्रेसमा प्रवेश गरेका विजयकुमार गच्छदार समूहलाई २५ हजार क्रियाशील सदस्यता दिइएको छ । तत्कालीन एमाले, माओवादी केन्द्र, राजपा र राप्रपाबाट आएर केन्द्रीय सदस्य बनाइएका नेताहरुको नाममा पनि क्रियाशील सदस्यता दिने तयारी छ ।

यस्तै गत साउन १३ गते काँग्रेस प्रवेश गरेका सुनिल थापाको समूहलाई सहमहामन्त्रीसहित ५ जना केन्द्रीय सदस्य र २ जना आमन्त्रित सदस्य दिने देउवाको तयारी छ । आगामी दिनमा बस्ने केन्द्रीय समिति बैठकमा देउवाले उनीहरुलाई केन्द्रीय सदस्यको जिम्मेवारी दिने बुझिएको छ । थापालाई भने देउवाले पार्टी प्रवेश कार्यक्रमा सहमहामन्त्री दिइने घोषणा गरेका थिए ।


यस्तै ५ हजार क्रियाशील सदस्य दिने देउवाको तयारी छ । सुनिल थापा समूहबाट ५०÷६० जना महाधिवेशन प्रतिनिधि थप्ने देउवाको रणनीति देखिन्छ । 

केन्द्रीय पदाधिकारी र केन्द्रीय सदस्यहरू महाधिवेशनको स्वतः मतदाता हुने विधानमा व्यवस्था हुँदा देउवाले संस्थापन इतरको विरोधका बाबजुत थापा सामूहबाट केन्द्रीय सदस्य ७ जना मनोनित गर्दैछन् । अब काँग्रेसको केन्द्रीय समितिमा आकार बढेर १ सय २५ सदस्यीय कार्यसमिति बन्न पुगे देखिएको छ ।

काँग्रेसको १३ औं महाधिवेशन (२०७२ फागुन) देखि हालसम्म आउँदा देउवाले पार्टीमा करिब तीन दर्जन नवप्रवेशीलाई केन्द्रीय सदस्यको जिम्मेवारी सुम्पिएका छन् । 
१३ औँ महाधिवेशनमा कृष्णप्रसाद सिटौला समूहबाट मिलेको शक्ति नवप्रवेशीबाट प्राप्त गर्ने देउवाको रणनीति छ । गत निर्वाचनपछि देउवाबाट टाढिएका सिटौलाको क्षतिपूति गच्छदार र सुनिल थापा सहितका नवप्रवेशीबाट उठाउने देउवाको तयारी देखिन्छ । १४ औँ महाधिवेशनमा पनि त्रिपक्षीय प्रतिस्पर्धा हुने संकेत देखिएपछि देउवाले नव प्रवेशीको आडमा आफ्नो समूह बलियो बनाउन ध्यान केन्द्रित गरेको काँग्रेसभित्र चर्चा हुने गरेको छ ।

देउवाले महाधिवेशनका मुखका नवप्रवेशीलाई केन्द्रीय समितिमा समेटेपछि संस्थापन इतर सशंकित छ । अहिलेसम्म गच्छदारसहित नवप्रवेशीहरु देउवा कित्तामै उभिएको पाइन्छ । त्यसैले पनि अन्य पार्टीबाट आएकाहरुको नाममा हजारौंको सख्यामा क्रियाशील सदस्यताको फारम वितरण गरेकोमा पौडेल समूहले आपत्ति जनाएको छ ।

देउवाको महाधिवेशनमुखी रणनीतिले संस्थापन इतर समूह चेपुवामा परेको छ । विरोध गरौँ पार्टीमा प्रवेश गरेकाहरु चिढिने, न गरौँ महाधिवेशनमा शक्ति सञ्चय रोक्नुछ ।
१३ औं महाधिवेशनमा आफूले पाएको मतलाई देउवा पक्षले आधार बनाएर महाधिवेशनमा आफ्नो बर्चश्व कायम गर्ने रणनीति बनाएको देखिन्छ ।

महाधिवेशनमा संस्थापन पक्षमा लागेका महामन्त्रीका उम्मेदवार अर्जुननरसिंह केसी र केन्द्रीय सदस्य चन्द्र भण्डारीबाहेक कसैले पनि देउवाको साथ छाडेका छैनन् । 
देउवा समूहबाट दुई नेता बाहिरिए पनि संस्थापन इतर पक्षबाट आठ जना केन्द्रीय सदस्य देउवा क्याम्पमा पुगेका छन् । 

देउवाले पौडेलसमूहबाट हालसम्म केन्द्रीय सदस्य फरमुल्लाह मन्सुर, आनन्दप्रसाद ढुंगाना, गोविन्द भट्टराई, श्यामकुमार घिमिरे, चिनकाजी श्रेष्ठ, बालकृष्ण पाण्डेय, कृष्णकिशोर घिमिरेलाई आफ्नो समूहमा लगिसकेका छन् ।
पछिल्लो समय नेविसंघका पूर्व अध्यक्ष रञ्जित कर्ण पनि देउवा क्याम्पमा प्रवेश गरेको बुझिएको छ । विभाग गठन र विस्तारमा तम्सिएका देउवाले संस्थापन इतर पक्ष केही नेता कार्यकर्ता आफ्ना समूहमा ल्याउने तयारी जारी राखेका छन् । जनविश्वास गुमाएका देउवाले महाधिवेशनका भने शक्तिको स्रोत थप्दै लगेको पाइन्छ । 

सरकार र पार्टी नेतृत्वको परीक्षणमा असफल देखिएका देउवासँग सार्वजनिक रूपमा अपिल गरेर पार्टीका मतदातालाई आकर्षित गर्ने मुद्दा छैन । सरकार र पार्टीको नेतृत्वमा देउवा रहेका बेला गएको आम निर्वाचनमा पार्टीले लजस्पद पराजय भोग्यो । 

पार्टी सञ्चालनमा पनि सन्तोष गर्ने ठाउँ छैन । नियमिति कार्यकाल सकिएर थप गरिएको पनि ५ महिना भइसक्दा पार्टीका अधिकांश संरचना गठन हुन सकेको छैन ।
अधिकांश भ्रातृसंस्था महाधिवशन गर्न नसकेर तदर्थ समितिमा सीमित छन् । पार्टी र भ्रातृ संस्था लथालिङ्ग गुज्रिएको अवस्था छ । तर पनि पार्टी केन्द्रीय तहमा देउवाको शक्ति कमजोर छैन । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

लोकेन्द्र भट्ट
लोकेन्द्र भट्ट

भट्ट रातोपाटीका लागि राजनीति तथा समसामयिक विषयमा रिपोर्टिङ गर्छन् । 

लेखकबाट थप