बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाको जोखिम न्यूनीकरणका लागि ‘सुरक्षा’ कन्ट्याक्ट ट्रेसिङ एप

आइतबार, २५ साउन २०७७, १२ : ३०
आइतबार, २५ साउन २०७७

कोरोनाभाइरस (कोभिड–१९)को महामारी रोकथाम तथा नियन्त्रणका लागि गरिएको चार महिना लामो लकडाउन खुकुलो भएसँगै संक्रमितको संख्या ह्वात्तै बढ्यो । संक्रमणबाट बच्न र संक्रमण नियन्त्रण गर्न पुनः सरकारले उपत्यकामा अत्यावश्यक सेवा बाहेकका सम्पूर्ण सेवा बन्द गर्न निर्देशन दिईसकेको छ । यसैगरी देशका विभिन्न क्षेत्र पुनः लकडाउनमा गएका छन् ।

कोरोनाभाइरसको महामारी देशको अधिकांश भागमा फैलिइसकेको छ । यो अवस्थामा आफू कसरी सुरक्षित रहने र अरुलाई कसरी सुरक्षित राख्ने भन्नेबारे आम नागरिक सचेत हुनु अत्यन्त आवश्यक छ । महामारीबाट बच्ने एकमात्र उपाय भनेकै आफूले आफैलाई सुरक्षित राख्नु हो ।

नेपालमा संक्रमणको दर बढ्दै जाँदा ‘गोयल ग्रुप’ले संक्रमणको जोखिम न्यूनिकरणका लागि भन्दै कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने ‘सुरक्षा एप’को विकास गरेको छ । ‘सुरक्षा एप’ मोबाइल एप हो र यो सजिलै आफ्नो मोबाइलमा डाउनलोड गर्न सकिन्छ । ‘सुरक्षा एप’ यदि हामी कोरोना संक्रमितको सम्पर्कमा पुगेका छौं र कोरोनाको जोखिम क्षेत्रमा छौँ भने यसले हामीलाई जानकारी दिने काम गर्छ ।

हाम्रो हातहातमा प्रविधि छ, हामी हरेक सेकेण्ड प्रविधिसँग जोडिएका छौं । बालबालिकादेखि वृद्धवृद्धासम्म प्रविधिको पहुँचमा रहँदा यस्तो एप सहयोगी साबित हुन सक्छ । आफ्नो मोबाइलमा एप डाउनलोड गरी कोरोना माहामारीको जोखिमबाट मात्रै होइन, विभिन्न ठूला प्राकृतिक विपत्तिहरु (बाढी, पहिरो)बाट पनि बच्न सकिने गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल बताउँछन् । कन्ट्याक्ट ट्रेसिङ गर्न सक्ने यो एपलाई प्राकृतिक विपत्तिबारे पूर्वसूचना दिन सक्ने गरी विकास गर्दै गरेको उनले बताए ।

गोयल भन्छन्, ‘मुलूकमा कोरोनाभाइरसको जोखिम बढ्दै जाँदा आफ्नो संस्थाले जोखिम न्यूनिकणका लागि मोबाइल एपको विकास गरेको हो ।’ उनले ‘सुरक्षा एप’ नेपालको पहिलो कन्ट्याक्ट ट्रेसिङ एप भएको दावी गरे ।  ‘हामीले कसैलाई भेटेका छौं र उक्त व्यक्तिले को–कोसँग भेट गर्यो वा सम्पर्कमा आएको थियो भन्ने कन्ट्याक्ट ट्रेसिङको काम गर्छ,’ उनले भने, ‘यदि संक्रमित छ भने एपले जानकारी दिइहाल्छ । साथै, १४ दिनपछि पनि उक्त व्यक्तिमा कोरोना संक्रमण छ/छैन जानकारी दिन्छ ।’

विशेष गरेर विभिन्न कर्पोरेट हाउसहरु  जस्तोः बैंक, बीमा, वित्तीय संस्था, कम्पनीहरु जहाँ एकै स्थान (फ्लोर)मा थुप्रैजना सँगै काम गर्नुपर्ने हुन्छ, त्यस्तोमा जोखिमको संभावना पनि बढी हुन्छ । यस्ता स्थानमा कार्यरत कर्मचारीहरुले आफ्नो मोबाइलमा सुरक्षा एप राख्दा संक्रमणबाट जोखिन सक्छन् । कम्पनी आफैले सवै कर्मचारीको मोबाइलमा एप अनिवार्य गराउने हो भने संक्रमणबाट जोगिन सकिने गोयल बताउँछन् ।  

विज्ञहरुले विगतमा गरेको अनुमान अहिले सत्य सावित भइसकेको छ । साउन र भदौ महिनामा कोरोनाभाइरस संक्रमितको संख्या नेपालमा ह्वात्तै बढ्ने विज्ञहरुले यसअघिनै चेतावनी दिइसकेका थिए । लकडाउन खुलेसँगै उपत्यका भित्रिने र बाहिरिनेहरुको संख्या बढ्नु, भिडभाड बढ्नु अनि संक्रमितको दर पनि सँगसँगै बढ्नुले विभिन्न जिल्लामा मात्रै होइन, काठमाडौं उपत्यका महामारीको हटस्पट बन्ने विज्ञहरुले चेतावनी दिइसकेका छन् । यो अवस्थामा कन्ट्याक्ट ट्रेसिङ उत्तम विकल्प हुन सक्ने र यसका लागि सुरक्षा एपले वृहत्तर काम गर्न सक्ने गोयल बताउँछन् ।

संक्रमणको जोखिम र संक्रमित पत्ता लगाउने प्रविधि जोखिम कम गर्ने गतिलो अस्त्र बन्न सक्छ । प्रविधिको प्रयोग गर्न प्रेरित गर्ने र नियमलाई कडाइका साथ लागु गराउने हो भने संक्रमण दर घट्नुका साथै संक्रमितको पहिचान गर्न सहज हुने गोयलको भनाइ छ ।

विधि प्रालिसँग प्राविधिक सहकार्य गर्दैै विकास गरिएको ‘सुरक्षा एप’ले संक्रमणको दर घटाउन र संक्रमितको पहिचानमा टेवा मिल्ने विश्वास गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयलको छ । साथै गुगलको ‘कन्ट्याक्ट ट्रेसिङ’ को जस्तै ‘सुरक्षा एप’ को पनि फिचरहरु छन् । सुरक्षा एपले हामी कतिजनाको सम्पर्कमा आयौं र सम्पर्कमा आएकामध्ये कसैमा कोरोना संक्रमण छ, छैन अथवा हुन सक्ने सम्भावना छ/छैन सूचित गराउने भएकाले यो उपयोगी हुनेछ ।

कसरी हुन्छ ट्रेसिङ ?

–सवैभन्दा पहिला सुरक्षा एप आफ्नो मोबाइलमा डाउनलोड गर्ने ।

–एपमा दिइएको खाली ठाउँमा आफ्ना सम्पूर्ण विवरण भर्ने, जस्तोः नाम, उमेर, ठेगाना अनि मोबाइल नम्बर ।

–फारममा व्यक्तिगत स्वास्थ्य अवस्था, पछिल्ला ६० दिन भित्रको ट्राभल हिस्ट्री । साथै कोरोना संक्रमित व्यक्तिको सम्पर्कमा आए÷नआएबारे सम्पूर्ण विवरण भर्नुपर्छ ।

–यसरी फारम भरेसँगै एप प्रयोगकर्ताले आफ्नो मोबाइलको ब्लुटुथ र लोकेशन भने अन राख्नुपर्ने हुन्छ । ब्लुटुथ र लोकेशनको आधारमा संक्रमितसँगको सम्पर्क र कुन स्थानमा रहेकोबारे एपले ट्रेसिङ गर्न सक्छ ।

–एपले कुन मान्छेको सम्पर्कमा कोको र कति जना आएको छ, सूचित गराइदिन्छ र संक्रमितसम्म सजिलै र छिटो पुग्न सकिन्छ ।

–तपाईले सुरक्षा एप राख्नु भएको छ र तपाइसँग सम्पर्कमा आएको व्यक्तिले पनि सुरक्षा एप राखेको छ भने तपाई दृुवैजनाको जानकारी एक अर्काको मोबाइलमा आउँछ, जसले कोरोनाको जोखिम कति छ सजिलै पत्ता लाग्छ ।

विश्वका धेरै देशहरुले महामारीबाट बच्न एपको प्रयोग गर्ने गरेका छन् । यतिबेला संक्रमितहरु बढ्दै जाँदा सवैभन्दा बढी समस्या भनेको कन्ट्याक्ट ट्रेसिङ कै देखिएको छ । संक्रमण भएको पत्ता लागेसँगै कन्ट्याक्ट ट्रेसिङ गर्न सकिएमा छिटोभन्दा छिटो संक्रमितको पहिचान हुने र अन्यमा संक्रमण फैलिनबाट जोगाउन सकिने गोयल ग्रुपका कार्यकारी निर्देशक चिराग गोयल बताउँछन् ।

अफ्रिकामा इबोला महामारीको समयमा पनि गुगल ट्रेसिङ एपको विकास गरिएको थियो । संक्रमणको दर घटाउन उक्त एपले मद्दत गरेको थियो । गुगलले विश्वभर उपलब्ध गराएको ‘गुगल ट्रेसिङ एप’ फिचरको सहयोगमा ‘सुरक्षा एप’बनेको गोयल बताउँछन् ।

गोयलका अनुसार अहिले सुरक्षा एप एन्ड्रोइड फोनको प्लेस्टोरमा उपलब्ध गराइएको छ । त्यसैगरी, आइफोन प्रयोगकर्ताका लागि भने गुगलबाट डाउनलोड गर्न सकिन्छ ।

एप प्रयोगकर्ताले आफ्नो मोबाइलमा ब्लुटुथ र लोकेशन भने अन गर्न भुल्नु हुँँदैन । एपले ब्लुटुथमार्फत दुईदेखि छ मिटरसम्मको दुरीमा रहेका मानिसमा संक्रमणको जोखिम कति छ भन्नेबारेको जानकारी आफ्नो मोबाइलमा दिन्छ र आफ्नो मोबाइलको विवरण पनि उता जान्छ । त्यसैले एप डाउनलोड गर्दा सही विवरण हाल्नुपर्छ । यो एप जति धेरै डाउनलोड हुन्छ, उति नै प्रयोगकर्ताका लागि फाइदा मिल्ने गोयल बताउँछन् ।

धेरैभन्दा धेरैले सुरक्षा एप डाउनलोड गरेमा केरोनाबारे धेरै जानकारी पाउनुका साथै संक्रमित पत्ता लगाउन सहज हुने गोयल बताउँछन् । भारतलगायतका केही देशले त यस्तो एप मोबाइलमा राख्न अनिवार्य गरिसकेका छन् ।

गोयल भन्छन्, ‘प्रयोगकर्तामा आफ्नो मोबाइलनको डाटा सुरक्षाबारे खुल्दुली पनि हुन सक्छ । तपाईहरु ढुक्क हुन सक्नुहुन्छ कि सवैको मोबाइलको डाटा सुरक्षित हुन्छ । डाटा सुरक्षाका लागि हामी सजग र सचेत छौं ।’

उनी थप्छन्, ‘एप प्रयोगकर्ताको व्यक्तिगत विवरण गोप्य हुनुका साथै नामका ठाउँमा मोबाइल डिजिटल कोड रहन्छ र यो २५ दिनभित्र एपबाटै डिलिट पनि हुन्छ । त्यसैले, व्यक्तिगत जानकारी लिक हुने हो कि भन्ने डर हुँदैन । ’

एपको अर्को विशेषता भनेको कोही मानिस भेटेको १४ दिनमा फेरि पनि एपले उक्त मानिसमा कोरोनाको लक्षण छ या छैन देखाउँछ । साथै उक्त मानिसले कहाँ कति जनालाई भेट्यो त्यसको जानकारी पनि दिन्छ । यतिमात्र होइन कि एपमा विश्वभरको कोरोना संक्रमितको संख्या, अवस्था, कोरोना परीक्षण केन्द्र र आपतकालीन सेवा चाहिएमा सम्पर्क पनि उपलब्ध हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

टुना भट्ट
टुना भट्ट

टुना भट्ट रातोपाटी अनलाइन टिभीकी  संयोजक तथा समाचार प्रस्तोता हुन् ।

लेखकबाट थप