फिल्म ‘जय मानवता’ सार्वजनिक
आइतबार, २५ साउन २०७७, १२ : ३५
काठमाडौं । फिल्म ‘जय मानवता’ सार्वजनिक भएको छ । युट्युव मार्फत सार्वजनिक फिल्मले हामी सबै नेपाली एक हौं र सबै धर्म एकै हुन् भन्ने सन्देश दिन खोजेको छ । लकडाउनका कारण विश्वनै ठप्प भैरहेको अवस्थामा दर्शकलाई मानसिक प्रभाव नहोस् भन्ने उद्देश्यका साथ सूचना, सन्देश र मनोरञ्जन दिनका लागि फिल्म अहिले सार्वजनिक गरिएको निर्माण युनिटले जनाएको छ ।
किशन बिसीको निर्देशन रहेको फिल्ममा सरिता विश्वकर्मा, थमनसिंह पुर्जा, चन्द्र विक, विशाल लोहनी, सुवोध घिमिरे, सुजता बस्याल, वर्षा बस्याल, युना पुन, वर्षा हमाल, रश्मी खत्री, सविता पुनलगायतका कलाकारको अभिनय समेटिएको छ ।
कथा तथा गीत चन्द्र विकको रहेको फिल्ममा संगीत मनोज चौंलागाई, छायाँकन रमेश रसाइली र मरुभूमी नारायणको रहेको छ । फिल्म होमबहादुर रामदाम, लक्ष्मी विक र मुना रामदामले निर्माण गरेका हुन् ।