बिहीबार, १३ वैशाख २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

सदस्यहरुको संख्या नतोकिँदासम्म आचारसंहिता लाग्दैनः  कांग्रेस नेता महत

आइतबार, २५ साउन २०७७, १७ : १७
आइतबार, २५ साउन २०७७

काठमाडौं । नेपाली काँग्रेसका सह-महामन्त्री प्रकाशशरण महतले क्रियाशील सदस्यहरुको संख्या नतोकिँदा सम्म महाधिवेशनसम्बन्धी आचारसंहिता नलाग्ने बताएका छन् । पार्टी सभापति शेरबहादुर देउवाले केही विभागमा नेतृत्व गठन गरेसँगै विभिन्न नेताहरुले आचारसंहिताको कुरा उठाएका छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षले निर्वाचनको प्रक्रिया सुरु भइसकेकाले आचारसंहिता लागू हुने तर सभापति देउवाले विभागको नेतृत्व गठन गरेर आचारसंहिता विपरित काम गरेको आरोप लगाएको छ । सोही विषयमा कुराकानी गर्दै सह-महामन्त्री महतले वडाहरुले सदस्यहरुको नामावली बुझापछि सभापतिले सार्वजनिक नगर्दासम्म आचारसंहिता नलाग्ने बताएका हुन् ।

उनले नामावली सार्वजनिक भएपछि मात्रै अचारसंहिता लाग्ने प्रष्ट पारे । उनले भने– ‘अहिले त समायोजन नै सकिएको छैन जुन निर्वाचन समितिले जिम्मेवारी दिएको थियो अझै सकिएको छैन । सक्रिय सदस्यता टुंगो लागेकै छैन । वडाले दिएर केन्द्रीय छानविन समितिले छानविन गरेर टुंगो लगाएर पार्टी सभापतिले सही गरेर सार्वजनिक गरेपछि बल्ल मतदाता नामावली सार्वजनिक हुन्छ । राष्ट्रिय निर्वाचनमा मतदाता नामावली नै नआइकन आचार संहिता लाग्छ ? लाग्दैन । त्यसकारण यो आचारसंहिताको कुरा हुँदै होइन र कहिले पनि पार्टीमा त्यो किसिमले आचारसंहिताको कुरा उठेको थिएन् ।’ 

नेता महतले पार्टी सभापति देउवा कुनैपनि किसिमले निरंकुश नभएको समेत प्रष्ट पारे । विधानमा भएको व्यवस्था अनुरुप नै सभापतिले विभाग गठन गरेको बताए । कसैलाई नसोधी, केन्द्रीय समतिमिा पनि छलफल नगरी विभागहरुको गठन गर्ने अधिकार सभापतिसँग भएपनि नेताहरुको समझदारी नभइकन बनाउँदिन भन्दा ढिलो भएको बताए । सबैको समझदारी नभइकन गठन नगर्ने बताउने नेतालाई निरंकुश मान्न नसक्ने उनले बताए ।

उनले भने- ‘पार्टी सभापति शेरबहादुर देउवा निरंकुश भयो भन्ने कुरा कसैले पार्टीभित्र पनि बाहिर पनि पत्याउँदैनन् । किनभने विधानमा स्पस्ट व्यवस्था छ पार्टी सभापतिले विभाग बनाउने । त्यसमा कसैलाई सोध्नुु पर्दैन, केन्द्रीय समितिमा पनि ल्याउनुपर्दैन । उहाँले सबै नेताहरुको समझदारी सबैले नाउँ नदिइकन म बनाउँदिन सबैलाई चित्त बुझाउँछु भनेर गर्नुभएन भनेदेखि उहाँ निरंकुश हुनुभयो भन्ने कुरामा कुनै आधारमा छैन, बरु उहाँलाई के भन्न सक्छौं भनेदेखि पार्टी सभापतिले सबै सहमति विधानले कतिपय कुरा पार्टी सभापतिलाई गर्न दिएको छ कतिपय केन्द्रीय समितिबाट पारित गर्नुपर्छ । कतिपय महासमिति महाधिवेसनमै जानुपर्छ त्यसकारण पार्टी सभापतिले आफुले पाएको अधिकार पनि प्रयोग नगरेर सहमति खोज्ने नाउँमा समयमै निर्णय नगरेर यी विभागहरु समयमै बनेको भए जुन पार्टीको आन्तरिक गतिविधिले गति लिन्थ्यो, त्यो गर्नुभएन त्यसमा बरु उहाँलाई दोष दिन सक्छौं तर उहाँ निरंकुश हुनुभयो भन्ने चाहिं दोष दिन सक्दैनौं ।’

उनले विभाग गठनमा कुनै विवाद गर्नुपर्ने अवस्था नभएकाले यसलाई अधिवेशन लागेको भनेर बुझ्नुपर्ने तर्क गरे । सबै पक्षको सहभागिता हुनेगरी नाम दिएमा चुनावको लागि प्रभाव पर्ने केही पनि कुरा नहुने उनले बताए । पार्टीमा नचिनेको कार्यकर्ता र नचिनेको नेता कोहीपनि नभएकाले कुनै एउटा विषयवस्तुलाई अतिशक्तिपूर्ण रुपमा प्रस्तुत गर्न नुहने बताए । 

बैठकमा केही विषय नउठाउने तर बाहिर चर्को भाषण गर्दै हिँडने प्रवृति पार्टीका केही नेताहरुमा देखिएको महतले बताए  । त्यसैले यो विषयलाई ठूलो विषय बनाउने भन्दा पनि सबै एकीकृत भई राष्ट्रिय विषयहरुमा एकमत भए सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा एकजुट भएर नेतृत्व चयन गर्नेतर्फ केन्द्रीत हुनुपर्नेमा उनले जोड दिए ।

उनले भने– ‘कतिले केन्द्रीय समितिमा मत नै नराख्ने बाहिरचाहि विषयवस्तुहरु उठाउने पनि हामी देखिराखेका छौं । जहाँ नीति निर्माणको ठाउँ छ त्यहाँ उच्चारण गरेको देखिन्न् । यी तमाम कुराहरु छन् त्यसकारण मलाई लाग्छ यसलाई ठुलो बहसको विषय बनाउनुभन्दा हामी सब एकीकृत भएर राष्ट्रिय विषयहरुमा पनि एकमत भएर सरकारको बदमासीलाई पर्दाफास गर्ने र आन्तरिक रुपमा पनि एकजुट भएर फेरि एउटा प्रक्रियाबाट अधिवेशनबाट नेतृत्व चयन गर्ने हाम्रो प्रक्रिया छ त्यसलाई सफल बनाउने तिर हामी सबै केन्द्रीत हुनुपर्छ ।’

उनले कोभिड १९ संक्रमणको उच्च जोखिमको अवस्थामा पनि निर्वाचनलाई उच्च प्राथमिकतामा राखेर फागुनमा महाधिवेशन गर्ने समय निर्धारण गरिएको बताए ।  फरक प्रसंगमा कोरोना रोकथाम तथा नियन्त्रणका लागि सरकारले प्रभावकारी काम गर्न नसकेको कांग्रेसले ठहर गरेको उनले बताए ।

सरकारले लकडाउन गर्ने कुरालाई नै उपलब्धीको रुपमा लिएकाले अहिलेको स्थिति आएको महतले बताए । उनले भने, ‘सरकारले लकडाउन गर्ने भन्दियो त्यसलाई नै उपलब्धि ठान्यो । लकडाउनको अवधिलाई तयारीको अवधिमा लिनुपर्ने समयको रुपमा प्रयोग गर्नुपर्ने सरकारले त्यो गरेन । त्यो गरेको भए अहिलेको यो स्थिति संक्रमण विस्तारित हुने स्थिति आउँदैन थियो ।’ विदेशबाट सीमा मार्फत आउने नेपालीको व्यवस्थापन गर्न नसक्दा समुदायमा संक्रमण फैलने स्थिति आएको उनले बताए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप