शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

उद्योगीहरुका लागि विदेशी कामदार ल्याउने बाटो खुल्यो

सोमबार, २६ साउन २०७७, १८ : ३२
सोमबार, २६ साउन २०७७

काडमाडौं । स्वदेशी उद्योगहरुले आवश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने भएका छन् । उद्योग मन्त्रालयले विदेशी कामदार सम्बन्धि एक निर्णय गर्दै आवश्यकताका आधारमा उद्योगहरुले प्राविधिक जनशक्ति विदेशबाट पनि ल्याउन पाउने गरि बाटो खोलिदिएको हो । 

सोमबार एक सूचना जारी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले सो बारे जानकारी दिएको छ । उद्योगहरुको मेशिनरी मर्मत संभार, स्तरोन्नति र प्रविधि जडान सम्बन्ध कार्य गर्न नेपाली प्राविधिक उपलब्ध नहुने अवस्थामा त्यस्ता अत्यावश्यक प्राविधिक जनशक्ति विदेशबाट ल्याउन पाउने गरि मन्त्रालयले सहजिकरण गर्ने भएको हो । 

स्वदेशी उद्योगहरुमा आवश्यक प्राविधिकको अभाव रहेको र त्यसको परिपूर्ति हुन नसकेको अवस्थामा मात्र प्रक्रिया पुर्याएर विदेशबाट प्राविधिक जनशक्ति ल्याउन पाइने गरी व्यवस्था गरेको मन्त्रालयले जनाएको छ ।  सो निर्णय उद्योगीहरुको मागकै आधारमा सम्बोधन गरिएको मन्त्रालयको भनाई छ । तर कोभिड–१९ को संक्रमण कायमै रहेको अवस्था विदेशी कामदार ल्याउनु पर्दा उद्योगीले र विदेशी कामदारले अनिवार्य स्वास्थ्य सुरक्षा तथा कोभिड–१९ रोकथाम सम्बन्धि नियम पालना गरेर मात्र ल्याउनु पर्ने मन्त्रालय बताएको छ । 

यसरी ल्याइने कामदारहरुको नेपाल आउनुपूर्व अनिवार्य कोभिड–१९ परीक्षणको प्रमाण पेस गर्नुपर्ने र नेपाल आइसकेपछि पनि तीन दिनमा पुनः परीक्षण गर्नुपर्ने मन्त्रालयले बताएको छ । त्यसैगरी विदेशबाट ल्याइने कामदारले आफ्नै वा कम्पनीको निजी सवारी साधनको प्रयोग गर्नुपर्ने र नेपाल बस्दाको सम्पूर्ण व्यवस्था स्वहेम कम्पनीले जिम्मेवारी लिनुपर्ने मन्त्रालयले जनाएको छ ।

तर, यसरी ल्याइने कामदारको सम्पूर्ण विवरण र बस्ने अवधिसहित कामदारले गर्ने कार्यसमेत खुलाई कामदार आउनु पूर्वनै मन्त्रालयबाट स्वीकृति लिनुपर्ने उद्योग मन्त्रालयको बताएको छ ।  यसअघि औद्योगिक क्षेत्रमा स्वदेशी कामदारहरुलाई नै पहिलो प्राथमिकता दिनुपर्ने भन्दै मन्त्रालयले विदेशी कामदारहरुको आगमनलाई रोक्ने नीति लिँदै आएको थियो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप