शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

गोंगबु हत्याकाण्ड : ‘दुईदिन आउँदिन’ भन्दै महिलाको कोठामा गएका थिए मृतक

विष खुवाएर मारेपछि शव व्यवस्थापन
सोमबार, २६ साउन २०७७, २१ : ५१
सोमबार, २६ साउन २०७७

काठमाडौँ । गोंगबु चोकबाट केही मिटरभित्रको नवज्योती मार्गमा रहेको चारतले घर । त्यो घर किरण बस्नेतको हो । आसपासका स्थानीयले उनलाई ‘झापाली दाई’ भनेर चिन्थे । शनिवार राती उनकै घरमा दाङका कृष्ण बहादुर बोहराको हत्या भयो ।

आइतबार विहान घरबाट ५० मिटर पर सुटकेशमा प्याक गरेको अवस्थामा कृष्ण बहादुरको शव भेटियो । शव फेला परेको २ सय मिटरको दुरीमा जेब्रा झोलामा प्याक गरेर छाडेको टाउको र दुईवटा खुट्टा भेटियो । 

घनावस्तीको बिचमा फेला परेको शव पहिचान गर्न प्रहरीलाई हम्मे परेको थियो । जब, सञ्चारमाध्यममा मृतकको फोटो सार्वजनिक भयो, त्यसपछि कृष्णबहादुरका मामा महानगरीय प्रहरी वृत महराजगञ्जमा पुगे । उनले भने– ‘मृतक मेरा भाञ्जा हुन् ।’ 

कृष्ण बहादुर नयाँबजारस्थित एक गार्मेन्टमा काम गर्थे । सोही क्लूको आधारमा प्रहरी हत्या भएको घरसम्म पुगेको थियो ।

किरण बस्नेतको घरको तेस्रो तल्लामा बस्थिन् कल्पना शाही र उनका दुई बच्चा । एक छोरा र एक छोरीसँगै बस्थे । उनकी एउटी छोरीको विवाह भैसकेको छ । कल्पनाकै कोठामा कृष्णबहादुरको इहलिला समाप्त पारियो । 

हत्यामा संलग्न कल्पनालाई चितवनबाट पक्राउ गरिएको छ । हत्याको कारण खुलिसकेको छैन्, त्यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।   

साँझ कृष्णबहादुरको इन्ट्री
कृष्ण बहादुर बोहरा पछिल्लो एक महिनादेखि गोंगबु मित्रनगरस्थित नर्सिङ धाम गेष्ट हाउसमा बसेका थिए । शनिवार गेष्ट हाउस सञ्चालकसँग ‘दुई दिन आउँदिन है’ भनेर उनी निस्किएका थिए । 

गेष्टहाउसबाट निस्किएर उनी कल्पनाको कोठामा गएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । कल्पनाले २ वटा कोठा, किचन र बाथरुम भाडामा लिएकी थिईन् । 

एउटा कोठा र बाथरुममा रगत देखिएको छ । कृष्णबहादुरलाई पहिले विष खुवाएर मारेपछि घाँटी र खुट्टा काटेको अनुसन्धानमा संलग्न एकजना प्रहरी अधिकृतले बताए । मृतकको पोष्टमार्टम रिपोर्ट आउन बाँकी छ । 

बाथरुममा मृत शरीर टुक्रा पारेर शव व्यवस्थापन गरेपछि कल्पनाले काठमाडौँ छाडिन् । ‘आइतबार साँझ मात्रै उनी काठमाडौँबाट हिँडेको देखिन्छ’ अनुसन्धानमा संलग्न एक अधिकृत भन्छन्– ‘उनलाई चितवनको टाँडीबाट पक्रेर काठमाडौँ ल्याउँदैछौं ।’ 

हत्या कल्पना एक्लैले गरिन् वा कसैले सहयोग गरेका थिए भन्ने खुलिसकेको छैन् । 

तर, कसैले थाहा पाएन !
०७६ फागुन १ बाट एकजना महिला किरण बस्नेतको घरमा डेरा सरिन् । उनको डेरा दोस्रो तल्लामा थियो, अर्थात हत्या भएको फ्ल्याट भन्दा ठिक तल्लो । 

मध्यराती मान्छे मारेर काटेको आवाज पक्कै सुनिनुपर्ने हो । तर, उनले त्यस्तो आवाज आफूले नसुनेको बताइन् । रातोपाटीसँगको कुराकानीमा उनले भनिन्– ‘म ६ बजे घर छिरिसकेको थिएँ, राती कुनै आवाज मैले सुनिनँ ।’ 

घरधनी बस्नेतले पनि आफूले केही थाहा नपाएको प्रहरीलाई बताएका छन । प्रहरीले उनको घरको तेस्रो तल्लामा रहेको बन्द कोठाको ताला फुटाएर घटनास्थल पहिचान गरेको थियो । शव व्यवस्थापनपछि कोठामा ताला लगाएर कल्पनाले काठमाडौँ छाडेकी थिईन् । 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप