बिहीबार, ०६ वैशाख २०८१
ताजा लोकप्रिय

फिल्मको कथाजस्तो गोंगबु हत्याकाण्ड, आरोपीले डेराबाट नियालिरहिन् ‘अप्रेशन जोजो’

मङ्गलबार, २७ साउन २०७७, १९ : १७
मङ्गलबार, २७ साउन २०७७

काठमाडौँ । गोंगबुको नवज्योती मार्गमा शनिवार राती दाङका कृष्णबहादुर बोहोराको हत्या भयो । रोल्पा रुन्टीगढीका बोहरा पछि दाङ झरेका हुन् । 

आइतबार विहान सुटकेशमा शव भेटियो । टुक्रा–टुक्रा पारिएको थियो । हत्या गरिएको घरबाट ५० मिटरको दुरीमा शव फेला परेको थियो । जुन शवलाई हत्या गरिएको ठाउँबाट चियाएर हेर्न सकिन्थ्यो ।

नवज्योती मार्गमा बिहानै प्रहरीको ठूलो फौज पुग्यो । छुट्टिएको शवको टाउको पत्ता लगाउन नेपाल प्रहरी कुकुर तालिम विद्यालय, महाराजगञ्जबाट ‘जोजो’ नामको कुकुर ल्याइयो । जोजोले छिनभरमै शवको टाउको र खुट्टा भेट्टायो ।

हत्यारा खोज्न आइतबार दिनभर सादा पोशाकका प्रहरी सो क्षेत्रमा खटिए । अप्रेशनको नाम राखियो– ‘अप्रेशन जोजो ।’ शंकास्पद घर र होटलमा सर्च अप्रेशन चल्यो । तर, ५० मिटरको दुरीमा रहेको निलो रंगको किरण बस्नेतको घरमा हत्या भएको कसैले चाल पाएन ।

ट्रयाकर डग ‘जोजो’को एक्सन र प्रहरीको अप्रेशन दुवै नियालिरहेकी थिइन्, ३७ वर्षीया कल्पना मुडभरी (पौडेल) । उनी, जुन डेराको झ्यालबाट प्रहरी अपशन चियाइरहेकी थिइन्, त्यहि डेरामा कृष्णबहादुरको हत्या भएको थियो । त्यो हत्या आफैंले गरेकी थिइन् । 

दिनभर प्रहरी अप्रेशन नियालेरहेकी कल्पनाले बेलुकामात्र नवज्योती मार्ग छाड्नि । त्यो पनि सिन्को झरेको पनि नियालेर बसेका काविल अफिसरहरुकै अगाडिबाट टाप ठोकिन, एम्बुलेन्सको साइरन बजाउँदै । 

‘हत्याको भोलिपल्ट दिनभर कोठामा बसेर साँझ ६ बजेतिर आरोपी कोठामा ताला लगाएर निस्केको खुल्यो,’ अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले भने– ‘बाहिरको हो–हल्ला र शव बरामद गरेको दृश्य उनले हत्यास्थलबाटै नियालिरहेकी थिइन् ।’ 

 


आइतबार साँझमा उनले चिनेको एम्बुलेन्स चालकलाई फोन गरिन् । ‘चितवन जानुपर्ने भयो’ भनेर आफ्नै डेरामा बोलाइन् । फोन गरेको आधा घण्टामा एम्बुलेन्स कल्पनाको लोकेशनमा आइपुग्यो । आफ्ना दुईजना बच्चा लिएर उनी चितवन हुँइकिइन् ।

एम्बुलेन्सलाई ९ हजार भाडा दिएको एम्बुलेन्स चालकले प्रहरीसँग बताएका छन् । ‘उनी हतास मनस्थितिमा थिइन्,’ एम्बुलेन्स चालकले अनुसन्धान अधिकृतसँग भनेका छन् । मकवानपुरको हेटौंडाबाट पक्राउ परेको एम्बुलेन्स चालकको हत्यामा कुनै संलग्नता नदेखिएपछि प्रहरीले उनलाई छोडेको छ । 

नागढुंगाबाट साँझ साढे ६ बजेतिर क्रस गरेकी कल्पनाले मनकामना पुगपछि पानी किनेकी थिइन् । क्रुर तरिकाले कृष्णबहादुरको हत्या गरेकी कल्पना राती १० बजे चितवन नारायणगढ पुगेको प्रहरी अनुसन्धानबाट थाहा भएको छ ।

चितवनको कालिका नगरपालिका–९ शक्तिखोर उनको माइती हो । उनी, माइत गएर बसिन् । एकरात माइतीमा बसिन् । तर, दोस्रो दिन कल्पनालाई खोज्दै प्रहरी माइतीघरमै पुग्यो । 

सोमबार साँझ चितवन प्रहरीले पक्रेर रातारात काठमाडौँ पठायो । मंगलबार बोहोराको हत्यामा संलग्न कल्पनालाई प्रहरीले पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको छ । 

उनैले सुनाइन् हत्या कथा 
मंगलबार बिहान कल्पनालाई प्रहरीले गोगंबुस्थित डेरामा लग्यो । जुन डेरा सोमबार साँझ नै फुटाएर प्रहरीले सर्च गरिसकेको थियो । अनुसन्धान अधिकृतहरुलाई उनले त्यहाँ ‘यसरी हत्या गरेँ’ भनेर फिल्मी कहानी सुनाइन् । 

‘महिला एक्लैले त्यस्तो क्रुर हत्या गरिन् भनेर पत्याएका थिएनौं,’ अनुसन्धानमा संलग्न एक अधिकृतले रातोपाटीसँग भने– ‘जब उनले कथा सुनाइन हामी चकित भयौं ।’  

नशालु पदार्थ खुवाएर बोहोस पारेपछि अण्डकोषमा ह्यामरले हानेर कृष्णबहादुरको हत्या गरियो । अनि, बाथरुपममा लगेर घाँटी र गोडा काटेर कल्पनाले शव व्यवस्थापन गरेकी थिइन् । 

हत्यामा प्रयोग गरेको दाउ र ह्याम्मर प्रहरीलाई उनले नै देखाइन् । उनले प्रहरीसँग भनेकी छिन्– ‘मरेपछि घिसार्दै बाथरुममा लगेर टाउको र गोडा काटेर सुटकेशमा प्याक गरेँ ।’ सिंगो शरीर सुटकेशमा नअटाउने भएपछि काट्नुपरेको कल्पनाले प्रहरीसमक्ष बयान दिएकी छिन् । उनले भनेकी छिन्– ‘सुटकेशमा बोरा नाम्लो लगाएर बोकेर सडकमा फालेँ ।’ 


खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

सुजन पन्त
सुजन पन्त

पन्त सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप