शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

बुधबार पाल्पामा सार्वजनिक विदा

मङ्गलबार, २७ साउन २०७७, २२ : ३३
मङ्गलबार, २७ साउन २०७७

पाल्पा । धार्मिक धरोहर भगवती मन्दिरमा मेला लाग्ने दिन बुधबार प्रदेश नं  ५ सरकारले पाल्पा जिल्लामा सार्वजनिक बिदा दिएको छ । जिल्लाको ऐतिहासिक रणउजिरेश्वरी भगवती मन्दिरमा विजयोत्सवका रुपमा मनाइँदै आएको रणउजिरेश्वरी भगवती जात्रा राष्ट्रिय स्वाधीनताका लागि लडेको  गौरवपूर्ण इतिहासको उत्सव रहेको प्रदेश ननं ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले बताएका छन् ।

मुख्यमन्त्री पोखरेलले आज शुभकामना सन्देश दिँदै दुई शताब्दीदेखि निरन्तरचलिरहेको जात्राले नयाँ  पुस्ताका लागि पुर्खाको वीरता गाथाको स्मरण गराउने बताए । उनले कोभिड –१९ विरुद्धको सङ«घर्षमा रहेका बेला विगतभन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरेर जात्रा मनाउन आग्रह गरे ।

मन्दिरका अध्यक्ष राजेश्वर उदयले पाल्पाको तानसेनमा युद्धमा जानुअघि कर्णेल उजिरसिंह थापाले तानसेनको भगवतीको पाउ छोएर युद्धमा विजयी भएमा मन्दिर बनाई सिन्दूरजात्रा गर्ने भाकल गरेको र भाकल पूरा भएपछि गजूरसहितको तीनतले मन्दिर निर्माण गरेको इतिहास उल्लेख भएको बताए । उनका अनुसार जात्रामा तानसेन नगरपालिका परिक्रमा गर्ने चलन भए पनि यस पटक मनाइने २०२ औंँ जात्रा शृङ्खलामा  सीमित व्यक्तिको सहभागिता हुने छ ।

आज जाग्राम बसी बुधबार बिहान ११ बजेसम्म सर्वसाधारणका लागि पूजाको व्यवस्थापन मिलाएर पुनः मन्दिरमा स्प्रेले सफा गरेपछि जात्रा निकालिने समितिले जनाएको छ । विसं १८७१–७२ मा नेपाल अङ्ग्रेज युद्धका क्रममा  नेपाली सेनाका अमर योद्धा उजिरसिंको नेतृत्वमा जीतगढी विजय हासिल गरेको र सोको खुशीयालीमा विसं १८७६ देखि भाद्रकृष्ण नवमीका दिन भगवती रथयात्रा गर्ने प्रचलन छ ।

मन्दिरमा हरेक वर्ष भाद्र कृष्णपक्षको नवमीको दिन भगवती जात्रा हुँदै आएको छ । मन्दिरमा लाग्ने जात्राका बेला यस वर्षदेखि पाल्पामा सार्वजनिक बिदा दिने प्रदेश नं ५ सरकारले निर्णय गरेको छ । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप