केन्द्रीय संस्करण

‘महानगरभित्रको एक पीडित, प्रताडित बिचरो गल्ली !’

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0

काठमाठौ महानगरपालिका । यहाँ नगरपालिका त यसैउसै महान् छ नै । यसै नगरमा महान्  सिंहदरबार र महान् बालुवाटार दरवारहरु पनि छन् । महान् शीतलनिवास दरबार पनि छ । मुलुकका महान् महान्  शासक प्रशासक मन्त्री हाकिम सवै यहाँ सरकारी प्रासादहरुमा ससम्मान राज गर्छन् । यो देशकै राजधानी । एक नम्बरको महानगर । अपरम्पार संस्कार संस्कृतिले सज्जित महानगर ।

 पुराण कालदेखि हालसालसम्म यस महानगरीको महिमा अपरम्पार छ । कुनै जमानामा यसलाई देवपत्तन अर्थात् देवताको नगरी पनि भनिन्थ्यो । मन्दिरैमन्दिरको शहर भनिन्थ्यो । अहिले पपिन यहाँ शहरलाई परिक्रमा गर्दै दगुर्ने घण्टापथ छ, चक्रपथ । शहरभित्रै पनि ठुलाठुला सडकहरु छन् । महँगा गाडीहरुमा शासक प्रशासकहरुको महिमाशाली सवारी चल्ने जीबन्त सडकहरु छन्  । त्यस्तै महिमाशाली ठुलाठुला महल र मलहरु छन् । यसै नगरीलाई हो कुनै जमानामा कवि भानुभक्तले अमरावती कान्तिपुरी नगरी भन्नुभएको थियो । प्रकृतिले त यसलाई अमरावती बनाउन चाहेकै हो भन्न सकिने आधारहरु  अभैm पनि नभएका होइनन् । छन् ।

अहिले काठमाडौमा ठुलो जनसंख्याको भीडभाड छ । देशीविदेशीका आलीशान महलहरु छन् । असामान्यदेखि सामान्यसम्मका र अझ सडकेसम्मका पसल र पसलेहरु छन् कर्मचारीहरु छन् । प्रहरीहरु छन् । ठेलगाडावालहरु र नाम्ले भरियाहरु छन् । अर्थात् पसिना बेची खाने श्रमदारहरु पनि यहाँ धेरै छन् । निरुद्देश्य नै भए पनि कोरोना नियन्त्रणका नाममा एक ताका सरकारले यस महानगरमा पनि बन्दाबन्दीको अभियान चलाएको थियो । त्यसताका सरकारकै पहलमा मिडियामा कोराना भाइरसको देशव्यापी कथाप्रवचन चलेको थियो । सडकतिर पानीका, प्रहरीका, र शासक प्रशासकका गाडी मात्र गुडेका देखिन्थे गल्लीबाट । यदाकदा नजिकै कतै ठुला सडकका पेटीतिर भाइरसनाशक औषधि छर्केको श्रव्यदृश्य सामाजिक सन्जालमा पनि एकाध मिनट देखिन्थ्यो । त्यसमा वडाअध्यक्ष स्वयम् पनि जनताको स्वास्थ्यप्रति करुणामय बनेर बोल्दै , चलायमान भाषण ठोक्दै सम्मिलित हुनु भएको श्रव्यदृश्य गल्लीवासीका मोबाइलमा समेत सार्वजनिक हुन्थ्यो । महिनौं चलेको बन्दाबन्दीमा गल्लीभित्रतिर नभए पनि बाहिर सडकतिर यस्तो पुण्यकार्य भएको शङ्खघोष एकाध पटक सुन्न र कान पवित्र बनाउन पाइएको थियो ।

 म बालाजुको गल्लीभित्र एउटा फुच्चे घरमा बस्छु । यस टोलमा स्थानीय बासीहरु, घरभाडाव्यवशायीहरु र म्यानपावर व्यापारीहरुका विशाल विशाल घरहरु छन् । यस गल्लीमा प्रायः मजदूरहरु बस्छन् । बसाइका दृष्टिले यो मजदूर टोल जस्तै छ ।

टोल पस्न निस्कन नौ दश फुटको बाटो छ । त्यस बाटोमा प्रयः डेरा सर्नेहरुको सामान ल्याउने लाने गाडी, पानी बेच्ने गाडी र स्थानीय एक दुई धनबान्का मूल्यवान् कारले कहिल्यै खाली हुन पाउँदैन ।

गल्लीका बीचमा एउटा किराना पसल छ । पसलवाला सपरिवार पसलमा खट्छन् । हट्ठाकट्ठा चलाख युवा दम्पति छन् । मिलनसार छन् । विहान बेलुकी त्यस पसलमा ग्राहकहरुको भीड लाग्छ । भीडमा नब्बे प्रतिशत मजदूरहरु नै हुन्छन् । तिनीहरुको उधारखाता पनि त्यस पसलमा हुन्छ । पसलका ग्राहकहरु प्रायः नियमित नै रहेका देखिन्छन् ।

बन्दाबन्दीताका यस गल्लीमा बिहान र अपराह्ण पसलमा ग्राहकहरुको भीड लाग्थ्यो । विशेषतः अपराह्णबाट साँझ ६।७ बजेसम्म पसलका दुईतिर गल्लीको छेउ लागेर पर परसम्म मानिसहरु बस्न मिलेसम्म बस्थे, नमिले उभिन्थे । गफ गर्थे । तीमध्ये मास्क लाउने एकाध हुन्थे र ती पनि च्यापुमा मात्र मास्क लाउँथे । अन्यत्रजस्तै यस गल्लीका बासिन्दाहरुमा पनि छाडा रुपमा खोक्ने, थुक्ने, छ्यूँ गर्ने चलनचल्तीको बानी बेहोरमा कुनै परिवर्तन देखिएको थिएन । आफ्ना अगाडिका सडकगल्लीको यो स्थिति देखेर पसले युवा दम्पतिलाई पनि असजिलो लाग्दोहो । यहाँ यस्तो स्थितिमा आधिकारिक व्यक्तित्व कोही आउन् र जनताका अगाडि उभिएर चेतनाका कुरा केही भनिदिउन् भनेर मैले कति पटक प्रहरीमा फोन गरेँ । वडा अध्यक्षकोमा फोन गरेँ । शायद वहाँ व्यस्त हुनुहुन्थ्यो । फोन उठेन । प्रहरीको फोन उठेर पनि मेरो अनुरोधले काम गरेन । यसरी बन्दाबन्दीको भयावहकाल जनतामा चेतना र सरकारी सद्व्यवहारको अनिकालमै बित्यो । यसबीच यस गल्लीमा सरकारी चेतनाका प्रतिमूर्तिहरु त छिरेनन् छिरेनन् नगरपालिकाको सरसफाइ र निर्मलीकरणका बाच्छिटा पनि छिरेन । साथै सरकारी खर्चमा फुकिएका जनचेतना प्रदायक आवाजको एक फिर्को पनि छिरेर यतातिर आइ नपुग्नु यस बिचरा गल्लीको निमित्त गुनासोकै विषय बनिदियो ।

महानगरभित्रको यो बिचरो गरीब गल्ली । यस गल्लीमा ठुला बडा शासकप्रशासकहरुको महिमाशाली निवासहरु छैनन् । महँगो गाडी छिराउने अनुकूलता नभएका यस्ता बिचरा गल्लीमा तिनका निवास हुनु पनि कसरी ? गल्ली यसै फोहर छ । हिँउँदमा धुलैधुलो र बर्सातमा हिलैहिलो । चिरिच्याट्ट पीच छैन । असारे विकासको पीचयोजना पनि यस गल्लीमा अद्यावधि सवारी भएको छैन । यस्तोमा आपैm हिँड्ने बाटोलाई थुकिहिँड्ने उन्नत  संस्कार संस्कृतिले विभूषित नरनारीहरुको निरन्तर आवागमन त गल्लीमा अविरल चलि नै रहेको छ । बीचबीचमा पानीका गाडी । स्थानीय धनाढ्यका गाडी । हरेक गाडीले गल्लीको बिचरो हैसियतहीन सडकलाई थप गिजोल्छ र वीभत्स बनाएर छोडिदिन्छ । गल्लीको यसै बाटोमा बुढाबुढीहरुहिँड्छन् । केटाकेटीहरु दगुर्छन् ।

बन्दाबन्दीपछि महानगरीमा अन्यत्रजस्तै यस गल्लीमा पनि तुलनात्मक रुपमा भीड बढेको छ । जताततै कोरोनाका संक्रमित बढेका खवर सुनिन्छन् । (यस गल्लीमा पनि संक्रमित आइपुगेका होलान् । अथवा नहोलान् । थाहा छैन । यतातिर थाहादायक परीक्षण आइपुगेकै छैन । जसरी चेतना आइपुगेको छैन ।) यसै गल्लीमा आहोरदोहार गर्नेहरु पनि कानमा मोबाइल त टाँसिरहेका देखिन्छन् । मोबाइल टाँसेका अनुपातमा नाकमुखमाथि मास्क भने टाँसिरहेका देखिँदैैनन् । आज पनि गल्लीमा मास्क लगाएका भन्दा नलाएका बढी देखिन्छन् । श्रीमान् काममा बाहिर निस्कने र आफू निस्कनु नपर्ने कति महिलाहरु समय काट्नकै लागि पनि यदाकदा गल्लीको हिले सडकमा निस्कन्छन् । आपसमा गफिन्छन् । तिनीहरु पनि प्रायः मास्क लाउँदैनन् । कसैले लाइहाले पनि बोल्दा तिनीहरुको च्यापुले मात्र मास्क लाउँछ । धेरैजसो गृहिणीहरु र गृहपतिहरु पनि बिनामास्क नै ठाडै गल्लीमा निस्कन्छन् । यिनीहरु कहिल्यै प्रहरीका अगाडि पर्दैनन् । यस अभागी गल्लीमा प्रहरीहरु कहिल्यै प्रकट नै हुँदैनन् त यहाँका  बासिन्दाहरु कसरी अगाडि परुन् । कसरी सामयिक चेतनासित यिनीहरुको पनि जम्काभेट होओस् । भेटै हुँदैन ।

लाग्न त लाग्छ नि यस गल्लीमा पनि महानगरपालिकाका महिमाशाली व्यक्तित्वहरु आक्कलझुक्कल नै भने पनि झुल्किउन् , बाटोमा जथाभावी नथुक्न, फोहर नगर्न यहाँका जनसामान्यहरुलाई पनि  सल्लाह दिउन् । बाटो हिँड्दा कसरी खोक्ने, कसरी छ्यूँ गर्ने र आपूm अरुका लागि खतरनाक कसरी नबन्ने भन्ने बारेमा बुझिने र घैँटामा घाम लाग्ने गरी सल्लाह दिउन् । कोरोनाबाट जोगिन जोगाउन जनजनलाई स्वास्थ्यकर जानकारी दिउन् सल्लाह दिउन् । यस अभागी गल्लीले पनि महानगरका तर्पmबाट आक्कलझुक्कल सफाइ र निर्मलीकरणको सौभाग्य भेटोस् । जीवनरक्षाको स्वास्थ्यकर संस्कार संस्कृतिको गन्ध यस गल्लीमा पनि छिरोस् । लाग्न त लाग्छ नि । किन लाग्दैन ? लागेर के गर्ने ? महानगरका महान्हरुलाई यस्तो मामूली गल्लीमा छिर्ने, हेर्ने बुझ्ने र आवश्यक चेतना छर्ने फुर्सद नै कहाँ ?

गल्लीभित्र बस्ती बाक्लो छ । भाडामा एउटा कोठा लिएर बस्ने परिवारहरुको वाहुल्य छ यस गल्लीमा । को कहाँबाट कति बेला गल्लीमा पस्छ र कुन घरमा बस्छ थाहा कसले कसलाई दिने ? सूचना र व्यवस्थापनको अन्योल छ । नगरपालिका र सुरक्षानिकायले आएर गल्लीका घरघरले सुन्ने गरी सम्झाउनु पर्ने र जिम्मेवारीप्रति सावधान बनाउनु पर्ने आवश्यकता टडकारो छ । गल्ली । निरीह गल्ली । बिचरो न दरबारहरुले सुन्ने गरी बोल्न सक्छ , न ठुलाबडा शासक प्रशासकहरुका आँखामा पर्न सक्छ । असाधारण सत्तासीनहरुका अगाडि जनसाधारणजस्तै पीडित, प्रताडित छ यो बिचरो गल्ली !

बालाजु, कामपा– १६  

   

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.