शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

संक्रमित बढेसँगै स्वास्थ्य पूर्वाधारको अभाव

कस्तो छ काठमाडौँमा आईसीयू र भेन्टिलेटरको अवस्था ?
बुधबार, २८ साउन २०७७, १२ : ०३
बुधबार, २८ साउन २०७७

काठमाडौं । काठमाडौं उपत्यकामा कोरोना संक्रमितको संख्या बढ्न थालेसँगै कोभिड अस्पतालहरूमा बिरामीको चाप बढ्दै गएको छ । लकडाउन खुकुलो भएलगत्तै कोरोना प्रभावित क्षेत्रबाट उपत्यकाका विभिन्न नाका हुँदै राजधानी भित्रिने मानिसको ओइरो लागेपछि राजधानीमा संक्रमणले रफ्तार बढाएको हो ।

राजधानीमा दैनिक रुपमा कोरोना संक्रमित बढ्दै गएका कारण अस्पतालका शैय्या भरिन थालेका छन् । राजधानी लगायत देशका अन्य क्षेत्रमा यही रफ्तारमा संक्रमितको संख्या बढ्दै गएको खण्डमा स्वास्थ्य पूर्वाधारले धान्न नसक्ने चेतावनी जनस्वास्थ्यविद्हरूले दिँदै आएका छन् ।

संक्रमितको संख्या बढ्दा अस्पतालमा बिरामी राख्ने ‘बेड’को अभाव हुन थालेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतम बताउँछन् ।

अगामी दिनमा यो अवस्था अझ बढेको खण्डमा अस्पतालहरुकै अवस्था अझ भयावह हुन सक्छ । यसका लागि लक्षणसहितका संक्रमितलाई मात्र अस्पतालमा राख्ने व्यवस्था गर्न सकिने प्रवक्ता गौतम बताउँछन् । लक्षणविहीन संक्रमितले तोकिएको मापदण्ड पालना गरेर घरमै रहेर पनि स्वास्थ्यलाभ गर्न सक्ने उनले बताए ।

हालसम्म कोरोना संक्रमितको उपचारका लागि औषधि पत्ता नलागेकाले लक्षणविहीन संक्रमितले सावधानीपूर्वक आफ्नो ख्याल गर्नुपर्ने विज्ञहरुको भनाइ छ । यसो गर्दा अस्पतालमा चाप कम हुने र स्वास्थ्योपचार अति आवश्यक भएका बिरामीहरुले समयमै उपचार पाउन सक्ने उनीहरु बताउँछन् ।

मन्त्रालयलाई स्वास्थ्य पूर्वाधारको व्यवस्था गर्न निर्देशन

उपत्यकाका लगायत देशका विभिन्न भागमा लक्षणसहितका कोरोना संक्रमित धमाधम भेटिन थालेपछि मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले लक्षणविहीन संक्रमितहरूलाई राख्न आवश्यक ‘बेड आइसोलेसन सेन्टर’ तयार गर्न स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलाई निर्देशन दिएको छ ।

संक्रमितको संख्या बढिरहेको क्षेत्रमा अस्पतालको क्षमता अध्ययन गरी लक्षण भएका संक्रमितहरूको उपचारका लागि आवश्यक स्रोतसाधनको व्यवस्था मिलाउन पनि स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिइएको छ । यस्तै, निजी अस्पताल तथा शिक्षण अस्पतालहरूलाई प्रयोग गर्न सक्ने गरी वैकल्पिक व्यवस्था मिलाउन समेत मन्त्रिपरिषद्को बैठकले निर्देशन दिएको छ ।

बैठकले वर्तमान समयमा संक्रमितको दर बढेका तथा संक्रमणको उच्च जोखिममा रहेका स्थानहरूमा स्वास्थ्यकर्मीको अभाव भएमा स्वास्थ्य मन्त्रालयबाट तत्काल आवश्यक जनशक्ति खटाएर स्वास्थ्य सेवालाई प्रभावकारी बनाउन समेत जोड दिएको छ ।

देशभर आईसियु र भेन्टिलेटर कति ?

मंगलबारमात्रै उपत्यकामा १ सय ३४ जनामा संक्रमण पुष्टि भयो । योसँगै उपत्यकामा कोरोना संक्रमितको संख्या १ हजार ३ सय १४ जना पुगेको छ । देशभर  संक्रमितको संख्या २३ हजार ९ सय ४८ पुगेको छ ।

स्वास्थ्य मन्त्रालयले उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालमा बेडको समस्या हुने सक्ने आँकलन गरिसकेको छ । हालसम्म उपत्यकामा २ सय २४ संक्रमित होम आइसोलेशनमा बसेको मन्त्रालयले जनाएको छ ।

हाल देशका विभिन्न अस्पतालमा ८२ जना कोरोना संक्रमितलाई आईसियूमा राखेर उपचार भइरहेको छ भने ३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

कोभिड संक्रमितका लागि देशभरका अस्पतालमा १ हजार १ सय ३४ आईसियु बेड तयारी अवस्था राखिएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए । देशभर ५ सय ७६ वटा भेन्टिलेटर रहेको पनि उनले बताए ।

उपत्यकामा स्वास्थ्य पूर्वाधारको अवस्था यस्तो छ

उपत्यकामा संक्रमितको संख्या बढ्न थालेपछि कोभिड–१९ को उपचारका लागि छुट्याइएका अस्पताल भरिभराउ हुन थालेका छन् ।

उपत्यकामा संक्रमितको उपचारका लागि १० वटा सरकारी अस्पतालमा ३ सय ५१ आइसोलेशन बेड छन् भने १ सय ६३ आईसियु बेड र ८७ भेन्टिलेटर रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको उपचारको लागि उपत्यकाका सरकारी अस्पतालमा आइसोलेशन, आईसियू र भेन्टिलेटरको विवरण 

निजी अस्पतालमा कोरोना संक्रमितका लागि यस्ता छन् स्वास्थ्य पूर्वाधार

उपत्यकाका निजी अस्पताल र मेडिकल कलेजहरूमा १ सय ९४ आइसोलेशन, २ सय ९१ आईसियू बेड  कोरोना संक्रमित बिरामीको उपचारका लागि छुट्याइएको छ ।

यस्तै, १ सय ३६ भेन्टिलेटर पनि कोरोना संक्रमितको उपचारका लागि छुट्याइएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

कोरोना संक्रमितको उपचारका लागि निजी अस्पतालहरूमा रहेका आइसोलेशन, आईसियु र भेन्टिलेटरको विवरण

उपत्यकाका विभिन्न सरकारी तथा निजी अस्पतालहरूमा ५ सय ४५ आइसोलेशन बेड तयारी अवस्थामा राखेको छ । यस्तै  ४ सय ५४ आईसियु बेड तयारी अवस्था राखेको छ भने २ सय १४ भेन्टिलेटर पनि तयारी अवस्थामा राखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

माया श्रेष्ठ
माया श्रेष्ठ

श्रेष्ठ राताेपाटीका लागि समसामयिक विषयमा रिपाेर्टिङ गर्छिन् ।

लेखकबाट थप