केन्द्रीय संस्करण

जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरौँ: मुख्यमन्त्री पोखरेल

person explore access_timeसाउन २८, २०७७ chat_bubble_outline0
file photo

रुपन्देही । प्रदेश नं ५ सरकारका मुख्यमन्त्री शङ्कर पोखरेलले कुनैपनि जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गर्न आग्रह गरेका छन् । विजयोत्सवको रुपमा मनाइँदै आएको पाल्पाको रणउजीरेश्वरी भगवती जात्राका अवसरमा आज शुभकामना दिंदै उनले भगवती जात्रा मनाउँदा यस वर्ष विगतमा भन्दा फरक ढङ्गले सामाजिक दूरी कायम गरी मनाउन अपिल गरे ।

“जात्रा र पर्व मनाउँदा सामाजिक दूरी कायम गरी मनाऔं, आफू पनि जोगिऔं, अरुलाई पनि जोगाऔं । कोरोनाविरुद्धको अभियानलाई सार्थक बनाऔं”, शुभकामना सन्देशमा भनिएको छ, “कोभिड—१९ को महामारीलाई जितेपछि भगवती जात्रालाई हामीले विगतमा झै ठूलो जनसहभागितामा भव्य ढङ्गले मनाउने नै छौँ ।”

पाल्पामा मनाइँदैँ आएको भगवती जात्राले राष्ट्रिय स्वाधीनता र राष्ट्रिय हितको बाटोमा हिंड्न प्रेरित गरेको उल्लेख गर्दै मुख्यमन्त्री पोखरेलले पुर्खाको देशभक्तिको गौरवपूर्ण लडाइँलाई सम्झदै सत्मार्गमा हिँडेर मुलुकको सार्वभौमसत्ताको रक्षा गर्दै अविचलित रुपमा अघि बढ्न आग्रह गरे । “भगवती जात्रा पुर्खाले राष्ट्रिय स्वाधीनताका लागि लडेको गौरवपूर्ण इतिहास सम्झाउने उत्सव हो । दुई शताब्दीदेखि निरन्तर चलिरहेको जात्राले नयाँ पुस्ताका लागि पुर्खाको वीरता–धीरता गाथाको स्मरण गराउँछ”, मुख्यमन्त्री पोखरेलले उल्लेख गरेका छन् । 

विसं १८७१—७२ को नेपाल-अङ्ग्रेज युद्धका क्रममा नेपाली सेनाका अमर योद्धा उजिरसिंह थापाको नेतृत्वमा जीतगढीमा विजय हासिल गरिएको चर्चा गर्दै मुख्यमन्त्री पोखरेलले जीतगढीको लडाइँ मोर्चामा आफ्नो पराक्रम साहस र रणकौशलका साथ पाल्पा हुँदै अन्ततः नेपाल कब्जा गर्ने अङ्ग्रेजको योजनालाई उनले विफल बनाइदिएको बताएका छन् । मुख्यमन्त्री पोखरेलले अङ्ग्रेज फौजलाई परास्त गरी विजय हासिल गर्ने कर्णेल उजिरसिंहसहित सबै योद्धाप्रति उच्च सम्मान व्यक्त गरेका छन् । 

“कर्णेल उजिरसिंहकै अदम्य साहस र सफलताको खुशीयालीमा विसं १८७७ देखि पाल्पामा हरेक वर्ष भाद्र कृष्ण नवमीका दिन भगवती रथयात्राको आयोजना गरिँदै आएको छ । जात्रालाई निरन्तर रुपमा आयोजना गर्न खट्ने सबैप्रति पनि सम्मान व्यक्त गर्दछु” शुभकामना सन्देशमा भनिएको छ । यस वर्षदेखि प्रदेश सरकारले भगवती जात्राको दिन पाल्पामा सार्वजनिक बिदा दिने निर्णय गरेको छ । 
 

रातोपाटीको अंग्रेजी, हिन्दीग्लोबल संस्करणका साथै अनलाइन टिभी पनि सञ्चालित छ । एप्सबाट सिधै समाचार पढ्न एन्ड्रोइडका लागि यहाँ र आइफोनका लागि यहाँ क्लिक गर्नुहोस् । फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ ।

कमेन्ट

कमेन्ट गर्नुहोस्

info_outline

तपाईको ईमेल गोप्य राखिनेछ

This site is protected by reCAPTCHA and the Google Privacy Policy and Terms of Service apply.