शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

मसालको आकस्मिक बैठकः शुद्धिकरण कार्यक्रमबारे दस्तावेज पारित

बुधबार, २८ साउन २०७७, १३ : २२
बुधबार, २८ साउन २०७७

काठमाडौं । नेकपा (मसाल)को साउन २५ र २६ गते बसेको आकस्मिक बैठकले पार्टीको तात्कालिक सङ्गठनात्मक अवस्था र शुद्धिकरण कार्यक्रमबारे विभिन्न दस्तावेजहरू पारित गर्नुका साथै महत्वपूर्ण निर्णयहरू गरेको छ । महामन्त्री मोहनविक्रम सिंहले बुधबार विज्ञप्ति जारी गर्दै केन्द्रीय समितिको बैठकमा पार्टीमा असामान्य रूपमा देखापरेको सङ्गठनात्मक वा अनुशासनको अवस्था र शुद्धिकरण कार्यक्रमबारे छलफल गर्दै दस्तावेज पारित गरेको जनाएका छन् । 

‘केन्द्रीय समितिले यो ठहर गरेको छ कि पार्टीको अहिलेको सङ्गठनात्मक र अनुशासनको अवस्था असामान्य प्रकारको छ । महाधिवेशनको बेलामा पार्टीमा तीव्र प्रकारको अन्तरसङ्घर्ष चलेको थियो । तर त्यो एउटा जीवन्त पार्टीको लक्षण थियो र त्यसले हाम्रो पार्टीमा भएको उच्च जनवादलाई बताउँछ’, सिंहद्धारा जारी विज्ञप्तिमा भनिएको छ । 

‘महाधिवेशनपछि पार्टीमा अराजकता वा अनुशासनविहिनताका प्रवृत्तिहरू कैयौँ रूपमा देखा पर्दै गए । हाम्रो पार्टीभित्र कायम भएको अनुशासन र एकताको तुलनामा त्यो गौण पक्ष थियो । तैपनि त्यो पार्टीको माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताको सिद्धान्तका विरुद्धको कुरा हो’ विज्ञप्तिमा भनिएको छ,‘त्यसकारण त्यसले पार्टीभित्रको अनुशासन र एकता कमजोर पार्ने र पार्टीका राजनीतिक वा सङ्गठनात्मक जिम्मेवारीहरूलाई पूरा गर्न बाधा पुर्याउने कुरा स्पष्ट छ । त्यसैले त्यसमाथि विचार गर्न र त्यो अवस्थामा सुधार गर्न तथा माक्र्सवादी–लेनिनवादी सङ्गठनात्मक प्रणाली र जनवादी केन्द्रीयताअनुसार पार्टीभित्रको अनुशासन र एकतालाई सुदृढ पार्न बसेको केन्द्रीय समितिको आकस्मिक बैठकले कैयौँ महत्त्वपूर्ण निर्णयहरू गरेको छ ।’

सो पार्टीले शुद्धीकरण कार्यक्रमको मुख्य उद्देश्य पार्टीमा देखापरेको अराजकता वा अनुशासनविहिनताको अवस्थामा सुधार गर्नु र पार्टीको सङ्गठनात्मक अवस्थालाई सुदृढ गर्नु भएको जनाएको छ । 
केन्द्रीय समितिले पारित गरेका प्रस्ताव र निर्णयहरुपछि सार्वजनिक गर्ने मसालले जनाएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप