शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

बार्गेनिङको हतियार बन्दै ‘वैवाहिक बलात्कार’ !

वास्तविक पीडित ओझेलमा
बुधबार, २८ साउन २०७७, १३ : ४५
बुधबार, २८ साउन २०७७

काठमाडौं । चन्द्रागिरी बस्ने दम्पत्ति आपसमा छुट्टेको करिब ६ महिना भएको थियो । पारपाचुके भैसकेको थिएन, छुट्टै बस्थे । कपिल (नाम परिवर्तन)लाई एकदिन पुलिसको फोन आयो । फोन गर्ने प्रहरी अधिकारीले भने– ‘तपाईंको नाममा एउटा निवेदन परेको छ, टेकुमा आउनुहोस् ।’

कपिल टेकु पुगे । त्यहाँ पुग्दा पो थाहा भयो, जाहेरी दिने उनकै श्रीमती थिइन् । जाहेरीको ब्यहोराको सारांश थियो– ‘श्रीमानले मेरो इच्छा विपरीत पटक–पटक बलात्कार गरे !’

श्रीमतीले भनेजत्ति पैसा पाए जाहेरी फिर्ता लिने बताइन् । तर, प्रहरीले मानेन । ०७७ असारको घटना हो, श्रीमती बलात्कार आरोपमा कपिलको हातमा हत्कडी लाग्यो !

कपिल दम्पत्ति प्रतिनिधी पात्र हुन् । आजभोलि ‘वैवाहिक बलात्कार’ का घटना एकपछि अर्कोगरी बढ्दै छन् । प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अुनसार ०७६ असारदेखि ०७७ साउनसम्ममा २६ वटा वैवाहिक बलात्कारका घटना भएका छन् ।

अर्को उदाहरण यस्तो छ : लामो समय केटा र केटी लिभिङ टुगेदरमा थिए । पछि दुइजनाको बीचमा मनमुटाव भयो, केटीले भनिन्– ‘मलाई किन छाड्न खोजेको, अब बलात्कारको मुद्दा हाल्छु ।’ विवाद कालिमाटीस्थित महिला सेलसम्म पुग्यो ।

अन्तमा, ‘वैवाहिक बलात्कार’को ‘कानूनी प्रावधान’को प्रयोग गरेर केटीले केटालाई गल्न बाध्य बनाइन् । जाहेरी दिइनन्, पर्दा पछाडी कुरा मिल्यो ।

मुलुकी ऐन–२०२० को जबरजस्ती करणीको महलको दफा–३ अनुसार लोग्नेले स्वास्नीलाई जबरजस्ती करणी गरेमा तीनदेखि पाँच वर्षसम्म कैद सजाय हुने व्यवस्था छ । मुलुकी अपराधसंहित ०७४ को दफा ११९ (४)मा वैवाहिक सम्बन्ध कायम रहेको अवस्थामा पतिले पत्नीलाई जवरजस्ती करणी गरेमा पाँच वर्षसम्म कैद हुने व्यवस्था छ ।

तर, त्यो कानुन धेरैले दुरुपयोग गरेर ‘बार्गेनिङको हतियार’ बनाउने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।

वास्तविक पीडित बाहिर आउँदैनन्

समाजमा ‘वैवाहिक बलात्कार’ नभएको होइन, छ । तर, वास्तविक पीडितहरु खुलेर बाहिर आउन चाहँदैनन् । अपराध विश्लेषक दिपेश केसीका अनुसार ‘सिन्दुरको रक्षा र परिवारको इज्जतका लागि’ वास्तविक पीडित खुलेर आउन सक्दैनन् ।

‘कतिपय अवस्थामा वैवाहिक बलात्कार समाजमा देखिन्छ’ अपराध विश्लेषक केसी भन्छन्– ‘तर, वास्तविक पीडित बोल्न सक्दैनन्, निहित स्वार्थमा लाग्नेहरुले चाहिँ कानुनको सो प्रावधानलाई हतियारको रुपमा प्रयोग गरेको उदाहरण भेटिन्छ ।’

दम्पत्तिबीच मनमुटाव हुँदा, अन्य व्यक्तिसँग श्रीमतीको सम्बन्ध भएको श्रीमान्ले थाहा पाउँदा वा श्रीमान्लाई छाड्न चाहेपछि वैवाहिक बलात्कारसम्बन्धी कानुनको दुरुपयोग हुने गरेको पाइएको छ । श्रीमानले अंश नदिएमा पनि अन्य बाटो छाडेर श्रीमतीले सो कानुनलाई दुरुपयोग गर्न सक्ने देखिन्छ ।

नेपाली समाजले विवाहपछि श्रीमानसँगको यौन सम्पर्कलाई मान्यता दिन्छ । तर, श्रीमतीको इच्छाविपरीत हुने जबर्जस्ती यौन सम्बन्धलाई वैवाहिक बलात्कार मानिन्छ । लोग्ने र स्वास्नीबीचमा पनि सहमति नभइ यौन सम्बन्ध राख्न नपाइने कानुनी व्यवस्था छ । ०६३ मा बनेको वैवाहिक बलात्कारसम्बन्धी कानुनलाई ०७२ मा संशोधन गरेर ‘पतिले इच्छा विपरित पत्निलाई जबर्जस्ती करणी गरे पाँच बर्ष कैद सजाय हुने’ व्यवस्था गरिएको थियो ।

तथ्याङ्कक यस्तो छ

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार हरेक वर्ष वैवाहिक बलात्कारका घट्ना बढ्दै गएको देखिन्छ । आर्थिक बर्ष ०७४–७५ मा देशभर ११ घटना दर्ता भएका थिए । ०७५–७६ मा सो संख्या बढेर २८ पुग्यो । ०७६ असार देखि ०७७ साउनसम्ममा २६ वटा बैवाहिक बलात्कारका घटनामा प्रहरीले अनुसन्धान गरेको छ ।

तथ्यांक स्रोत : प्रहरी प्रधान कार्यालय

वास्तविक पीडा दर्दनाक

निहीत स्वार्थ राख्नेहरुले वैवाहिक बलात्कारलाई दुरुपयोग गरेपनि वास्तविक पीडितहरुको कथा भने दर्दनाक छ । यो उदाहरण हेरौं ः लकडाउनको समय थियो । गत जेठमा दाङमा वैवाहिक बलात्कार भयो । मादक पदार्थ सेवन गरेर आएका श्रीमानले श्रीमतीलाई बलात्कार गरे । अनि, श्रीमतीको योनीमा २ फिट ६ इन्च लम्बाईको चिरान काठ छिराएर भिडियो समेत बनाए ।

निहीत स्वार्थ राख्नेहरुले कानुनको दुरुपयोग गरेपनि वैवाहिक जीवनमा भएका समस्याको कारण डिभोर्ससम्म हुने गरेको बताउँछिन मनोविद् करुणा कँुँवर ।

‘वास्तविक समस्या भोग्नेहरुको कथा निकै पिडादायी छन्’ मनोविद् कुँवरले रातोपाटीसँग भनिन्– ‘वैवाहिक बलात्कारलाई बार्गेनिङको हतियार बनाएको घटना पनि होलान्, तर त्योभन्दा धेरै महिलाहरु बैवाहिक वलात्कारको शिकार बन्ने गरेको वास्तविक पीडा पनि छ ।’

प्रमाण जुटाउन समस्या

लकडाउनपछि बिराटनगरमा एक पुरुषमाथि श्रीमतीलाई वैवाहिक बलात्कार गरेको आरोप लाग्यो । ०७७ वैशाख ११ मा श्रीमतीले विद्युतीय माध्यमबाट प्रहरीलाई घटनाको जानकारी गराइन् । दम्पत्ति बस्दै आएको कोठामा बलात्कार भएको थियो । अहिले उनीहरुको मुद्दा अदालतमा पुगेको छ ।

बैवाहिक बलात्कारका घटनामा उजुरी आएपछि प्रमाण जुटाउन समस्या हुने गरेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् । दम्पतीको बिचमा हुने यौनसम्बन्ध राजीखुसीका साथ वा त्यहाँ जबर्जस्ती गरियो भन्ने प्रमाणित गर्नका लागि दसी प्रमाणहरु जुटाउन सहज छैन । महिला वैवाहिक बलात्कारको शिकार भएकी हुन् वा राजीखुसीसाथ यौन सम्पर्क भएपछि मनमुटाव हुँदा महिलाले वैवाहिक बलात्कारको ‘कानूनी उपाय’को सहारा लिएकी हुन् भन्ने खुट्याउन फलामको च्युरा चपाउन जत्तिकै कठिन हुने गरेको अनुभव अनुसन्धान अधिकृतहरुको छ । ‘सँगै बस्ने कोठा र विस्तारालाई अदालतले दह्रिलो प्रमाण मान्दैन्’ वैवाहिक बलात्कारबारे अनुसन्धान गरिरहेको एक प्रहरी अधिकृतले भने–‘वैवाहिक बलात्कारका घटनामा प्रमाण जुटाउनै समस्या हुन्छ ।’

प्रहरी प्रधान कार्यालयको तथ्याङ्क अनुसार २५ देखि ४० बर्ष उमेर समुहमा ‘वैवाहिक बलात्कार’को समस्या देखिएको छ । जाहेरी लिएर प्रहरीकहाँ पुग्ने शिक्षित परिवारका धेरै भेटिएका छन् । गाउँमा वैवाहिक बलात्कारको समस्या लिएर आउने संख्या न्यून छ । शहरी क्षेत्रमा सो समस्या बढी रहेको प्रहरी प्रधान कार्यालय महिला तथा बालवालिका सेवा निर्देशनालयका एक प्रहरी अधिकृतले रातोपाटीलाई जानकारी दिई् ।

बलात्कारका अन्य घटनामा प्रहरीले मिलापत्र गराउँदैन् । तर, वैवाहिक बलात्कर भने मिलापत्रबाट टुङ्ग्याउने प्रयास हुन्छ । ‘दम्पत्तिको बीचमा सामान्य मनमुटाव हुँदा पनि त्यस्तो उजुरी आउने हुनाले हामी मिलापत्र गराउने प्रयास गर्छौँ,’ अनुसन्धामा संलग्न एक प्रहरी नायव उपरिक्षक (डिएसपी)ले भने–‘सम्बन्धबिच्छेद नगरेको अवस्थामा बालवालिकाको भविष्य हेरेर मिल्नका लागी सुझाउँछौँ, दम्पत्तिको बीचमा सहमती नभए मात्र मुद्दा अगाडी बढाउँछौँ ।’

वैवाहिक बलात्कार मुद्दामा पीडितको जाहेरी मात्रै दह्रिलो प्रमाण हो । साक्षीले गर्ने कागज र स्वास्थ्य परीक्षण रिपोर्ट प्रभावी  हुँदैन । जाहेरी बाहेक सरकारी वकिल कार्यालयमा पीडितले गर्ने बयानको आधारमा वैवाहिक बलात्कारका मुद्दा अदालतमा पुग्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

राजेश भण्डारी
राजेश भण्डारी

भण्डारी रातोपाटीका लागि सुरक्षा/अपराध बिटमा रिपोर्टिङ गर्छन् ।

लेखकबाट थप