शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

कोरोनाले बैंकको वितरणयोग्य नाफामा गम्भीर धक्का

बुधबार, २८ साउन २०७७, १६ : ०६
बुधबार, २८ साउन २०७७

 कोरोनाभाइरस (कोभिड–१९)का कारण भएको लकडाउनले अन्य क्षेत्रजस्तै बैंकहरु पनि प्रभावित बनेका छन् ।  गत आर्थिक वर्ष (२०७६/७७) को चौथो त्रैमासको वित्तीय विवरण प्रकाशन गर्न थालेका केही बैंकको वित्तीय अवस्थाले बैकिङ क्षेत्रमा कोरोनाको गम्भीर धक्का परेको देखिएको छ । कोरोनाका कारण भएको लकडाउनले नाफामा ठुलो असर गरेको प्रष्ट हुन्छ ।  

उनीहरुको नाफा घटेको छ भने सेयरधनीलाई राम्रो लाभांश दिन नसक्ने अवस्थामा बैंकहरु पुगेका छन् । बैंकहरुको प्रतिसेयर आम्दानी घटेको छ भने खराब कर्जा बढेको छ । उनीहरुको वितरण गर्न योग्य नाफामा धक्का लागेको छ । 
यसले बैंकहरु राम्रो लाभांश दिएर आफ्ना लगानीकर्तालाई खुसी बनाउन सक्ने अवस्थामा देखिँदैनन् । गत चैत ११ देखि लकडाउन भएर साउन सात गतेदेखि हटेको भएपनि कोरोनाको माहामारी झन झन बढ्दै गएपछि अहिले सरकारले  पुनः कडाइ गर्न थालेको छ । यसको असर अझै पनि बैंकिङ क्षेत्रमा रहन्छ । सोमबारको मन्त्रिपरिषद् बैठकले त ‘वर्क फ्रम होम’ लाई जोड दिएको छ ।

अधिकांश बैंकहरुको वितरणयोग्य नाफा ऋणात्मक देखिने निश्चित जस्तै भएको छ । जसकारण गत आर्थिक वर्षको नाफाबाट यो आर्थिक वर्षमा लगानीकर्ताले लाभांश नपाउने देखिन्छ । बैंकर एसोसियसनका अध्यक्ष भुवन दाहाल बैंकहरुको नाफामा धक्का लाग्नुमा कोभिड र त्यसबाट सिर्जित विभिन्न कारणहरु रहेको बताउँछन् । 

यस्तै अर्का एक बैंकरले कोभिडका साथसाथै राष्ट्र बैंकको केही कदमले पनि बैंकमा असर देखिएको प्रतिक्रिया दिए ।  ‘राष्ट्र बैंकले फ्ल्याटमा राहतको प्याकेज ल्यायो, जसका कारण सक्नेहरुले पनि सावाँव्याज तिरेनन् जसले बैंकमा असर परेको छ’, ती बैंकरले भने । सरकार र राष्ट्र बैंकले कोरोना प्रभावितलाई बैंकमार्फत सहुलियत दिएको तर बैंकको समस्या नहेरेको ती बैंकरहरुको आरोप छ । ‘सरकारले सबै क्षेत्रलाई हेर्यो तर बैंकहरुलाई बेवास्ता गर्यो’, उनको गुनासो छ । 

सरकारी बैंक नेपाल बैंकले यो पटक सबैभन्दा पहिले वित्तीय विवरण प्रकाशित गर्यो ।  तर उसको प्रतिवेदनमा अधिकांश सूचक ओरोलो लागेको देखिन्छ । अघिल्लो वर्ष भन्दा १.५५ प्रतिशतले नाफा खुम्चिएको छ । बैंकको हालको नाफा २ अर्ब ५५करोड रुपैयाँ छ । अघिल्लो बर्ष २ अर्ब ५९ करोड रुपैयाँ थियो । 

बैंकको खुद ब्याज आम्दानी र वितरणयोग्य नाफा समेत प्रभावित भएको छ । खुद ब्याज आम्दानीबाट ५ अर्ब ६१ करोड रुपैयाँ कमाएको छ । यो गत वर्ष भन्दा ९.२१ प्रतिशत कम हो । वितरणयोग्य  नाफा ३५.९५ प्रतिशतले खुम्चिएको छ । बैंकको वित्तरण योग्य नाफा २ अर्ब ५५ करोड ६४ लाख  रुपैयाँ छ । 

यता सिद्धार्थ बैंकको हालत पनि उस्तै छ । सिद्धार्थ बैकको नाफा ७.३० प्रतिशतले खुम्चिएको छ । यस बैंकको वित्तरण योग्य नाफा ४५.५४ प्रतिशतले घटेको छ । बैंकको प्रतिसेयर आम्दानी, प्रतिसेयर नेटवर्थ समेत घटेको छ । अहिले बैंकको प्रतिसेयर आम्दानी २१ रुपैयाँ ३८ पैसा पुगेको छ । जबकि अघिल्लो बर्ष २६ रुपैयाँ ५९ पैसा थियो । यसको खराब कर्जा बढेर १.५६ प्रतिशत पुगेको छ । अघिल्लो वर्ष ०.७५ प्रतिशत थियो । 
यस्तै आज भर्खर मात्रै वित्तीय विवरण सार्वजनिक गरेको बैंक अफ काठमाण्डुको खुद नाफा पनि २२.२१ प्रतिशतले खुम्चिएको छ । बैंकको नाफा १ अर्ब ४७ करोड ५ लाख रुपैयाँ छ । 

सञ्चालन नाफा र खुद ब्याज आम्दानी पनि घटेको छ भने खराब कर्जा बढेको छ । जसले बैंकको नाफा प्रभावित भएको छ । बैंकको खराब कर्जा २.३५ प्रतिशत पुगेको छ । यसअवधिमा वितरणयोग्य नाफा पनि ३२.२५ प्रतिशतले घटेको छ ।

बैंकको वित्ररण योग्य नाफा ८८ करोड ७ लाख ८६ हजार रुपैयाँ छ ।  अघिल्लो बर्ष यसको वितरणयोग्य नाफा १ अर्ब ३० करोड रुपैयाँ थियो । बैंकको प्रतिसेयर आम्दानी समेत प्रभावित बनेको छ भने प्रतिसेयर आम्दानी ६ रुपैयाँ २३ पैसाले घटेर १७ रुपैयाँ २६ पैसामा झरेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एलिजा उप्रेती
एलिजा उप्रेती

एलिजा उप्रेती राताेपाटीका लागि आर्थिक बिटमा रिपोर्टिङ गर्छिन् । 

लेखकबाट थप