शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

विवादित बन्यो विभागको निर्णय : पानीमा भएको मूल्य वृद्धिको चर्को विरोध

यी कम्पनीलाई सरकारले तोकेको एमआरपी लागु नहुने !
बुधबार, २८ साउन २०७७, १७ : २१
बुधबार, २८ साउन २०७७

काठमाडौं । सरकारले बजारमा बिक्रीवितरण हुने पिउने पानीको आधिकतम् खुद्रा मूल्य (एमआरपी) तोकिदिएको छ । पहिलो पटक वाणिज्य, आपूर्ति तथा उपभोक्ता हित संरक्षण विभागले प्रशोधित पानीको खुद्रा बजार मूल्य प्रतिजार अधिकतम ५० रुपैयाँ र प्रतिबोटल १६ रुपैयाँ तोकिदिएको छ । तर, विभागको यो निर्णय व्यापारीको स्वार्थमा भएको भन्दै विवादमा तानिएको छ । 

विभागकै नेतृत्वमा गठन भएको प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलको प्रतिवेदनपछि मूल्य निर्धारण भएको थियो । तर उक्त मूल्य सार्वजनिक हुन नपाउँदै यसलाई लिएर बजारमा सरकारको चर्को विरोध भएको हो । 

यसअघि बजारमा सदरदर ३० रुपैयाँ प्रतिजार पाइने पानीको मूल्य सरकारले व्यवसायीहरुसँगकै मिलेमतोमा वृद्धि गरेको उपभोक्ताकर्मीहरुको आरोप छ । ‘सरकारले व्यवसायीहरुकै मिलेमतोमा पानीको मूल्य वृद्धि ग¥यो,’ उपभोक्ताकर्मी कन्जुमर आई नेपालका महासचिव रन्जन खनालले भने, ‘अन्य उपभोग्य वस्तुको बजार मूल्य तोक्नु नपर्ने, अनि पानीको चाहिँ पर्ने ?’

महासचिव खनालका अनुसार व्यवसायीकै प्रभावमा परेर विभागका कर्मचारीहरु पानीको मूल्य निर्धारण गर्न उद्यत भएका हुन् । यसरी व्यवसायीहरुको चंगुलमा परेर उपभोक्ताहरुको ढाड सेक्ने अधिकार विभागसँग नभएको भन्दै सो निर्णय अविलम्ब फिर्ता लिन र उपभोक्ताको हितमा काम गर्न उनले विभागलाई आग्रह गरे ।

‘अहिले पानीको कुनै समस्या छैन । बजारमा खासै मूल्यको कुरा पनि उठेको छैन । तर एक्कासी पानीको मात्र मूल्य तोक्न विभागलाई के को हतारो भो ?’ खनालले भने, ‘व्यवसायीहरुसँगको मिलेमतोमा बढाइएको पानीको मूल्य उपभोक्ताहरुलाई किमार्थ मान्य छैन, उक्त निर्णय अविलम्ब फिर्ता लिइयोस् ।’

पानीको मूल्य वृद्धिप्रति तीव्र आक्रोस पोखेका महासचिव खनालले मूल्य निर्धारण गर्नभन्दा पनि बरु बजारमा पानीको शुद्धता परीक्षण गर्न विभागलाई चुनौती दिएका छन् । 
तर मूल्य निर्धारक विभाग भने पानीको मूल्य वृद्धि होइत बरु घटाइएको दावी गर्दैछ । बजारमा प्रतिजार ७० रुपैयाँमा कारोबार भइरहेको पानीलाई ५० रुपैयाँमा झार्ने काम गरेको विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदी बताउँछन् ।
‘हामीले बजारलाई व्यवस्थित गर्दै पानीको शुद्धता र मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरेका हौं’ रातोपाटीसँग उनले भने, ‘अहिले पानीको मूल्य वृद्धि भएको होइन, बरु मूल्य घटाइएको हो । सोही जारको पानी बजारमा ७० रुपैयाँसम्म एमआरपी (खुद्रा बिक्री मूल्य) राखेर बेचेको पाइयो । फेरि त्यस्ता उत्पादक कम्पनीहरुले गुणस्तरको मापदण्ड समेत पुरा नगरी अफु खुशी मूल्य निर्धारण गरेर बिक्रीवितरण गर्ने गरेको पाइयो ।’ यस्तो अवस्थामा पानीको गुणस्तरलाई पनि कडाइ गर्ने र पानीको मूल्य समेत समायोजन गर्ने उद्देश्यले विभागले अधिकतम ५० रुपैयाँ कायम गर्ने गरी पानीको मूल्य तोकेको उनको भनाइ छ ।

विभागकै भनाइलाई थप जोड दिँदै पानी उत्पादक संघ नेपाल बोटल्ड वाटर ईन्डष्ट्रिज एशोसिएशनले समेत अहिले पानीको मूल्य वृद्धि नभई बरु मूल्य घटाइएको दावी गरेको छ । बोटल्ड एशोसिएशनका अध्यक्ष सुवास भण्डारीले रातोपाटीसँग भने, ‘पहिलेको अव्यवस्थित बजारलाई व्यवस्थित गर्दै मूल्यमा एकरुपता ल्याउन मूल्य निर्धारण गरिएको हो ।’ जसमा विभाग, उत्पादन संघ र उपभोक्ताहरुको समेत सहमति रहेको उनको दाबी छ ।
‘अहिले बजारमा पानीको मूल्य बढाइयो भनेर अनावश्यक हल्ला चलाइएको छ । यो गलत हल्ला हो । बरु पहिलेको तुलनामा मूल्य घटाइएको चाहिँ हो,’ भण्डारीले भने, ‘बजारमा ६०–७० रुपैयाँसम्म प्रतिजार पानीको एमआरपी रहेकोमा ५० मा झारेका हौँ । फेरि यो विभागकै नेतृत्वमा हामी उत्पादकहरु र उपभोक्ता हितकर्मीहरुकै सहमतिमा कायम गरिएको मूल्य हो ।’

भण्डारीका अनुसार २०७३ सालतिर विभागले नै मोटामोटी प्रतिजार ७० रुपैयाँ कायम गरेको पानीको मूल्य उपभोक्तावादीहरुले उत्पादक र उपभोक्ता बीचमा मूल्यअन्तर धेरै भयो भन्ने गुनासाका बीच विभागले मूल्य पुनः मूल्याङ्कन गरेको हो । मूल्य निर्धारण समितिमा विभागको साथसाथै उत्पादक, वितरक र उपभोक्ताको समेत प्रतिनिधित्व रहेको उनको भनाइ छ ।  अहिलेको पानीको मूल्य निर्धारण उत्पादन लागत, ढुवानी र बजारको तहलाई आधार मानेरै निर्धारण गरिएको विभाग र उत्पादन संघको स्पष्टोक्ति छ । 

तर पानीको मूल्य निर्धारणप्रति बजारमा तीव्र आलोचना भएपछि विभागले थप स्पष्ट पार्दै पानीको जारको एमआरपी प्रतिजार रु ५० तोकिएता पनि प्रतिस्पर्धी बजारमा गुणस्तर कायम गरी खुद्रा मूल्य हाल बजारमा प्रचलित ३० देखि ४० रुपैयाँसम्म वा सोभन्दा कममा समेत बिक्रीवितरण गर्न सकिने जनाएको छ ।

विभागको मूल्य विशिष्ट पानीमा लागु नहुने
विभागले पानीको अधिकतम बजार मूल्य (एमआरपी) तोके पनि सो मूल्य सबै पानीमा भने लागु नहुने देखिएको छ । यसरी तोकिएको मूल्य साना तथा कमसल, आधारभूत मापदण्डसमेत पुरा नगरेका र गुणस्तरहीन देखिएका पानीहरुका लागिमात्र लागु हुने गरी तोकिएको देखिन्छ ।

त्यसो त अहिलेको मूल्य सबै पानीमा लागु नहुने विभाग स्वयंले बताइसकेको छ । बजारमा विशिष्ट मानिएका र तारे होटल तथा विशिष्ट व्यक्तित्वहरुको घर, डेरामा पुग्ने उच्च क्वालिटीका पानीमा भने यो मूल्य लागु नहुने विभागका महानिर्देशक सुवेदी बताउँछन् ।

‘हामीले अघिनै प्रष्ट पारिसकेका छौं । यो मूल्य बजारमा सर्वत्र बिक्रीवितरण हुने पानीका लागि लागु गरेका हौं । यी बाहेक पनि बजारमा उत्कृष्ट गुणस्तरका पानी छन्, तिनलाई पनि व्यवस्थित गर्न हामी लागेका छौं ।’ 
सुवेदीले भने, ‘ती विशिष्ट कम्पनीहरुलाई पनि छिट्टै बोलाएर हामी छलफल गर्छौँ । त्यसपछि के–कसरी मूल्य निर्धारण गर्न सकिन्छ, बजारमा एकरुपता हुने गरी गर्छौँ,’ उनले भने । 
विभागका अनुसार हाल बजारमा ९० प्रतिशतभन्दा बढी सर्वसुलभ पानी छन् भने १० प्रतिशतको हारहारीमा मात्र विशिष्ट (प्रिमियम ब्राण्ड)का पानी छन् ।

तोकिएको मूल्य विशिष्टलाई चाहिँ किन लागु नहुने ?     
महानिर्देशक सुवेदीका अनुसार ती विशिष्ट कम्पनीहरुको उत्पादन नै विशिष्ट भएकाले र लागत नै उच्च रहेकाले सो मूल्य ती विशिष्ट कम्पनीहरुमा लागु हुँदैन । पानीको विशेषता, पिउरिफिकेशन, बोटल र बिर्कोको क्वालिटीका कारण यी पानीहरु महँगो पर्ने सुवेदीको भनाइ छ । 

‘उत्पादनमा नै महँगो पर्ने भएपछि प्रोडक्टको मूल्य त बढी पर्ने नै भयो नि ! जहाँसम्म मूल्यको कुरा छ, हामीले जानकारी पाएसम्म ती विशिष्ट उत्पादनहरुको उत्पादन लागत, पिउरिफिकेशन (शुद्धता), पानीको जार–बोटलको क्वालिटीका कारण महँगो पर्न गएको हो,’ उनले भने, ‘यी पानी विशिष्ट होटल तथा रेष्टुरेन्ट र विशिष्ट व्यक्तिहरुको घरहरुमा मात्र प्रयोग हुन्छ । तर हामीले यी पानीहरुलाई समेत व्यवस्थित र मूल्यमा एकरुपता गराउने कोशिस गरेका छौं । अब छिट्टै यी कम्पनीहरुसँग पनि हामी छलफल चलाउछौं ।’

हाल बजारमा चलेका विशिष्ट पानीहरुमा रसुवा ब्राण्ड, एक्वा हन्ड्रेड, एचटुओ, नेपाल स्प्रिन, म पानी, पतञ्जलीको दिव्य जल, फोर्प स्प्रिन, अक्वा फा लगायतका एक दर्जन बढी विशिष्ट ब्राण्डहरु छन् । 
यी पानीको सरदर बजार मूल्य प्रतिजार १५० रुपैयाँ हारहारीमा छ । यिनै ब्राण्डमध्येको अहिले बजारमा चलेको र महँगो पानी एक्वा हन्ड्रेड पनि हो । हाल बजारमा एक्वा हन्ड्रेडको खुद्रा बजार मूल्य (एमआरपी) प्रतिजार १३५ रुपैयाँ छ । त्यस्तै प्रतिलिटर बोटलको पानीको मूल्य अधिकतम ३० रुपैयाँ छ ।

अरुको भन्दा भिन्न विशेषता र क्वालिटीकै कारण एक्वा हन्ड्रेड महँगो पर्न गएको उत्पादक रविन श्रेष्ठ बताउँछन् । ‘बजारमा हामी २७/२८ वर्षदेखि छौं । हाम्रो उत्पादन र विशेषताकै कारण हामीलाई उपभोक्ताहरुले माया गरिरहनु भएको छ । एक्वा हन्ड्रेडमा गुनासो गर्नुपर्ने र असन्तुष्टि गर्नुपर्ने ठाउँ नै छैन ।’ एक्वा हन्ड्रेडको गुडविल नै काफी रहेको उनको भनाइ छ ।

‘जहाँसम्म मूल्यको कुरा छ, हाम्रो प्रोडक्ट नै अरुभन्दा भिन्न र विशिष्ट छ । हामीले हाम्रो पानीमा पोलिकार्मोनेट जार प्रयोग गरेका छौं,’ उनले भने, ‘यसको उत्पादन नेपालमा हुँदैन । बाहिरबाट ल्याउनु पर्छ । फेरि यो जारलाई ७० डिग्री सेल्सियसमा समेत उमाल्न सकिन्छ ।’

बजारमा अन्य जार यति तापक्रममा सफा गर्नै मिल्दैन । किनकी बजारमा पाइने अधिकांश जार ‘पेट जार’ हुन् । ‘पेट जारलाई पुनः प्रयोग (रि–युज) गर्न मिल्दैन,’ उनी भन्छन्, ‘तर गरिरहेका हुन्छन् । यही कारण हाम्रो पानी अरुभन्दा केही महँगो हुनु स्वाभाविक हो । फेरि हाम्रो पानी उत्कृष्ट पनि छ नि ।’

त्यतिमात्र होइन, उत्पादन विशिष्ट हुँदाहुँदै पनि आफूहरुको बजार नीति अरु भन्दा फरक रहेको उनले बताए । ‘बजारमा हाम्रा कुनै पनि डिलरहरु छैनन्,’ उनले भने, ‘हामी सिधै उपभोक्ताको किचनमा पानी डेलिभरी गर्छौँ ।’
त्यसो त एक्वा हन्ड्रेडभन्दा महँगो पानी पनि बजारमा छ । अहिलेसम्मकै महँगो पानी रसुवा ब्राण्ड मानिएको छ । यो ब्राण्डले हिमालको पानी प्रशोधन गरेर बजारमा ल्याएको हो । रसुवा ब्राण्डको पानीको मूल्य प्रतिजार नै २०० रुपैयाँ हाराहारी पर्छ ।रसुवाको धुन्चेमा उत्पादन गरिएको यो पानी नेपालसहित विदेशमा समेत निर्यात हुने गर्छ ।

हाल उपत्यकामा १६५ भन्दा बढी पानी उत्पादक कम्पनी छन् भने उपत्यका बाहिर पनि सोही संख्यामा कम्पनीहरु रहेको अनुमान छ । विभागद्वारा गठित प्रशोधित पानीको जार तथा बोटलको पानी मूल्य निर्धारण कार्यदलले भने उपत्यकाभित्रका विभिन्न २१ वटा कम्पनीको स्थलगत निरीक्षण गरेर प्रतिवेदन तयार गरेको हो । सोही प्रतिवेदनको आधारमा विभागले पानीको अधिकतम बजार मूल्य तोकेको हाे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

प्रयास श्रेष्ठ
प्रयास श्रेष्ठ

प्रयास श्रेष्ठले आर्थिक क्षेत्रमा कलम चलाउँछन् ।

लेखकबाट थप