बिहीबार, १५ चैत २०८०
ताजा लोकप्रिय

तिलाठी कोइलाडीको छुट्टै आइसोलेशन

बिहीबार, २९ साउन २०७७, १३ : ४२
बिहीबार, २९ साउन २०७७

सप्तरी । कोरोना भाइरसका सङ्क्रमितलाई व्यवस्थापन गर्न सप्तरीको तिलाठी कोइलाडी गाउँपालिकाले  आइसोलेशन केन्द्र निर्माण गरी  सञ्चालनमा ल्याएको छ ।  तिलाठी कोइलाडी–२ लौनियामा तीव्ररूपमा सङ्क्रमण फैलिएसँगै राजविराजस्थित आइसोलेशन केन्द्रमा सङ्क्रमित व्यवस्थापनमा समस्या हुन थालेपछि गाउँपालिकाले आफ्नो तहको आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको हो ।

नौ नगरपालिका र नौ गाउँपालिका रहेको सप्तरीमा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याउने तिलाठी कोइलाडी गाउँपालिका एकमात्र स्थानीय तह हो । जिल्लास्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रमा दुईपटक निर्णय भए पनि अन्य स्थानीय तहले आइसोलेशन सञ्चालनमा चासो नदिएपछि बुधबार पुनःबसेको बैठकमा समेत अन्य स्थानीय तहले छुट्टै आइसोलेशन सञ्चालन गर्न रुचि देखाएनन् ।
    
बैठकले छुट्टै आइसोलेशन सञ्चालनमा ल्याउने रुचि नदेखाए पनि जिल्लामा थप एक स्थानमा न्यूनतम १०० श्ययाको आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय भने गरेको छ । सोका लागि पाँच दिनभित्र उपयुक्त स्थान खोजी गर्न एक समिति गठन गरिएको बैठकमा सहभागी नेकपाका सुखराम यादवले जानकारी दिए। स्थानीय तहले बिरामीको अनुपातमा खर्च बेहोर्ने तर व्यवस्थापनको जिम्मेवारीमा नअल्मलिने अडान राखेपछि आइसोलेशन सञ्चालन हुने ठाउँको स्थानीय तहले व्यवस्थापनको जिम्मा लिने तर खर्च सबै स्थानीय तहले बेहोर्ने गरी निर्णय भएको छ ।  
    
अन्य स्थानीय तहले छुट्टै आइसोलेशन सञ्चालनमा नल्याए पनि तिलाठी कोइलाडी गाउँपालिकाले वडा नं २ स्थित पब्लिक उच्च माध्यमिक विद्यालय लौनियामा आइसोलेशन केन्द्र सञ्चालनमा ल्याएको गाउँपालिका अध्यक्ष सतिषकुमार सिंहले जानकारी दिए । हाल उक्त आइसोलेशन केन्द्रमा ३४ जना सङ्क्रमितलाई राखिएको छ ।
    
गाउँपालिकाका विपद् व्यवस्थापन अधिकृत राजेश झाकाअनुसार ५० श्ययाको आइसोलेशन केन्द्रमा अहिले ३४ जना सङ्क्रमितलाई दुई जना स्वास्थ्य सहायकको निगरानीमा राखिएको छ । तातो पानी पिउन हरेक कोठामा इलेक्ट्रिक जग राखिएको आइसोलेशन केन्द्रमा नियमित सरसफाइ हुने गरेको जानकारी दिँदै उनले सो क्षेत्रलाई सुरक्षा प्रदान गर्न नेपाली सेनाका ११ जना खटिएको बताए । सङ्क्रमितलाई बिहान ८ बजे एक पोका बिस्कुट, एक गिलास दूध र दुई वटा अण्डा, ११ बजे सादा खाना, ३ः३० बजे नास्ता र राति ८ बजे सादा खाना, दुई वटा अण्डा र एक गिलास दूध दिने गरिएको उनले बताए ।
    
सङ्घीय सरकारले क्वारेन्टिन व्यवस्थापनको जिम्मा स्थानीय तह र आइसोलेशनको जिम्मा प्रदेश सरकारको हुने कार्यविधि बनाएको थियो । सङ्क्रमितको सङ्ख्या बढ्दै गएपछि राजविराजमा रहेको एकमात्र साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेशन केन्द्रमा व्यवस्थापन गर्न समस्या देखिएपछि जिल्लास्तरिय कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्रको बैठकबाट सबै स्थानीय तहले आइसोलेशन केन्द्र सञ्चालन गर्ने र सोका लागि राजनीतिक दलका जिल्ला नेताले पहल गर्ने निर्णय भएको थियो । 
    
राजनीतिक दलका नेताको प्रयाससमेत असफल भएपछि अब जिल्लाको कुनै एक वा दुई स्थानमा सबै स्थानीय तहले खर्च बेहोर्ने गरी न्यूनतम १०० श्ययाका आइसोलेशन सञ्चालनमा आउने भएको छ । अधिकांश स्थानीय तहका प्रमुखले आइसोलेशन सञ्चालनको जिम्मेवारी सङ्घीय र प्रदेश सरकारको भएको भनी पन्छिँदै आएका थिए ।

कोरोना सङ्क्रमित बढ्ने सम्भावना देखिएपछि लक्षण नदेखिएका सङ्क्रमितलाई स्थानीय तहको आइसोलेशन केन्द्रमा र लक्षण देखिएका सङ्क्रमितलाई राजविराजस्थित आइसोलेशन केन्द्रमा राख्ने योजना भए पनि तिलाठी कोइलाडीबाहेक अन्य स्थानीय तहले आइसोलेशन सञ्चालन नगरेपछि पुनःसबै स्थानीय तहका प्रमुखसमेत बसेर छुट्टै निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय, सप्तरीका प्रशासकीय अधिकृत एवं सूचना अधिकारी आनन्द ठाकुरले जानकारी दिए ।

शहरका सम्पन्न परिवारमा होम आइसोलेशनमा बस्ने व्यवस्था भए पनि गाउँघरमा होम आइसोलेशनको सम्भावना न्यून रहेकाले सङ्क्रमितलाई निगरानीका साथ आइसोलेशन केन्द्रमा राख्नुपर्ने आवश्यकताबमोजिम थप आइसोलेशन केन्द्र सञ्चालन गर्ने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी शङ्करहरि आचार्यले जानकारी दिए ।
    
“आइसोलेशनको र श्याको अभाव हुँदा सङ्क्रमित सडकमै रहनुपर्ने वा परिवारमा घुलमिल भएर बस्ने अवस्था देखियो”, नेकपाका प्रदेश कमिटी सदस्य यादवले भने, “यसले सङ्क्रमण फैलिएर समुदाय थप असुरक्षित बन्ने अवस्था आएकाले उपयुक्त स्थानमा आइसोलेशन केन्द्र थप गर्न राजनीतिक दल र स्थानीय तहका प्रमुख सहमत भएका हौं ।’ । सङ्क्रमित आइसोलेशनमा भर्ना हुन नपाउँदा परिवार र समुदाय नै त्रसित बन्नुपरेको बताउनुहुँदै नेपाली काँग्रेस सप्तरीका सभापति दिनेश यादवले जटिल अवस्थाको हल गर्न तीनै तहको सरकार जिम्मेवार र सक्रिय हुनुपर्ने बताए ।
    
“शैक्षिक संस्थामा सञ्चालन गरिएको सबै क्वारेन्टिन तत्काल हटाउनसक्ने अवस्था छैन्”, प्रशासकीय अधिकृत ठाकुरले भने, “राजविराजस्थित आइसोलेशन केन्द्र भरिँदै गएकाले सङ्क्रमितलाई व्यवस्थापन गर्न समस्या भएपछि थप आइसोलेशन केन्द्र सञ्चालन गर्नुपर्ने अवस्था छ ।” 

राजविराजस्थित आइसोलेशन केन्द्रमा हाल १० महिला र ७३ पुरुष गरी ८३ जना सङ्क्रमित रहेका छन् । सो आइसोलेशन केन्द्रबाट ४२ महिलासहित ४२४ जना निको भई घर फर्किएको डाक्टर रणजीतकुमार झाले जानकारी दिए । निको भई घर पठाउन थालिएको बताए । सप्तरीमा सङ्क्रमितको सङ्ख्या ६१६ जना पुगेकामा तीन जना पुरुषको मृत्यु भएको छ । सबैभन्दा बढी १४२ जना सङ्क्रमित राजविराज नगरपालिकाका पुगेका छन् । त्यसपछि तिलाठी कोइलाडी गाउँपालिकामा ८९ र हनुमाननगर कङ्कालिनी नगरपालिकामा ६६ जना सङ्क्रमित पुष्टि भएका छन् । 

परीक्षणमा ढिलाइ     
सप्तरी र सिरहा जिल्लामा स्वाब सङ्कलनको तुलनामा परीक्षण ढिलो हुँदा एकहजार ४२ जनाको  रिपोर्ट आउन बाँकी रहेको छ । स्वास्थ्य कार्यालय सप्तरीको तथ्यांकअनुसार एक हजार ४२ जनाको रिपोर्ट आउन बाँकी छ भने स्वास्थ्य कार्यालय सिरहाको तथ्यांकअनुसार ५२४ जनाको रिपोर्ट आउन बाँकी रहेको छ ।

सप्तरीमा हालसम्म १० हजार २१२ जनाको स्वाब सङ्कलन भएकोमा ९ हजार १७० जनाको स्वाब परीक्षण भएको छ । ती मध्ये ८ हजार ५९४ जनाको रिपोर्ट नेगेटिभ र ५७६ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख दुनियालाल यादवले बताए ।

यसैगरी सिरहामा हालसम्म ५ हजार ५२ जनाको स्वाब संकलन भएकोमा ४ हजार ५२८ जनाको स्वाबको पीसीआर परीक्षण भएको छ । यसमा ४ हजार ३०३ जनाको रिपोर्ट नेगेटिभ र २३३ जनाको रिपोर्ट पोजिटिभ आएको स्वास्थ्य कार्यालय सिरहाका निमित्त प्रमुख कृष्णदेव यादवले जानकारी दिए ।

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा प्रयोगशाला स्थापना हुनु अघि सप्तरीबाट सङ्कलन गरिएको स्वाब बि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा र सिरहा जिल्लाबाट संकलन गरिएको स्वाब परीक्षणका लागि जनकपुर र काठमाडौं पठाइने गरिएको थियो । कोशी अस्पताल विराटनगर, वि।पी। कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान र प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरधामको प्रयोगशालामा केही स्वाव पठाइने गरे पनि राजविराजमा प्रयोगशाला सञ्चालनमा आएपछि सप्तरी र सिरहाको अधिकांश स्वाबको परीक्षण राजविराजमा नै हुने गरेको छ । 

अस्पतालको प्रयोगशालाका प्राविधिक स्वास्थ्यकर्मी राति अबेरसम्म खटेर पीसीआर परीक्षण गरिरहेको जानकारी दिनुहुँदै अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट चिकित्सक रणजितकुमार झाले औसतमा दैनिक तीन सय भन्दा बढीको स्वाब परीक्षण भइरहेको जानकारी दिए । स्वाव परीक्षणको तुलनामा साउन महिनामा सङ्कलन बढी हुन थालेको छ । नयाँ संक्रमितहरु फेला परे पछि ट्रयाकिङ्ग र ट्रेसिङ्ग गर्दै पिसिआर परीक्षणमा तिब्रता दिनु परेकोले स्वाबहरु बढी सङ्कलन भएको स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले जानकारी दिए।

 चिकित्सक झाले क्वारेण्टिनमा बसेका तथा ट्रयाकिङ्ग र ट्रेसिङ्गबाट सङ्कलन गरिएका स्वाव बाहेक आइसोलेशनमा बसेकाहरु र उपचारमा संलग्न स्वास्थ्यकर्मीहरुको पनि पटक–पटक पीसीआर परीक्षण गर्नु परेको बताए । पिसिआर परीक्षणको रिपोर्टमा ढिलाइ हुँदा क्वारेण्टिनमा बसेकाहरू थप जोखिम र सकसमा परेको शम्भुनाथ नगरपालिका–२ का ३४ वर्षीय बसिर हुसेनले बताए । स्वाब परीक्षण भन्दा संकलन बढी भएकाले रिपोर्ट आउन ढिलाइ भएको स्वास्थ्य कार्यालयले जनाएको छ ।

“हामीले स्वाब संकलन गरी पीसीआरका लागि पठाएका १०४२ जनाको रिपोर्ट आउन बाँकी छ” स्वास्थ्य कार्यालय सप्तरीका निमित्त प्रमुख यादवले भने, “लामो समय क्वारेण्टिनमा बस्दा थुप्रै गुनासो र दवाब आउने गरेको छ, बाहिर वरिपरीको धरान, विराटनगर र जनकपुरको प्रयोगशालामा समेत पीसीआर परीक्षण गराउने चाप भएकाले पठाउन पाएका छैनौ ।” उनका अनुसार, थ्रोट स्वाब नमूना सङ्कलनलाई क्रमशः बढाउँदै लानु पर्ने आवश्यकता छ । रिपोर्ट ढिलो आउँदा सङक्रमण बढ्ने सम्भावना रहेकोले पिसिआर मेशिन र जनशक्ति थप्नु पर्ने स्वास्थ्यकर्मी सन्तोष सिंह बताउँछन् ।

सप्तरीको १८ स्थानीय तहका ४२ क्वारेण्टाइनमा हाल भारत र बाहिरबाट आएका ३६० जना छन् । सप्तरीमा ५८२ सङ्क्रमित पुगेकोमा दुई  पुरुषको मृत्यु भइसकेको छ । अहिले राजविराजस्थित साइकृष्ण हस्पिटल एण्ड मेडिकल कलेजको आइसोलेशन केन्द्रमा ८५, तिलाठी कोइलाडी गाउँपालिका–२ स्थित पविमाविको लौनियामा ३४  र होम आइसोलेशनमा ३७ जना गरी १५६ जना आइसोलेशनमा छन् । राजविराजस्थित प्रयोगशालामा आज पुनः सप्तरीको हनुमाननगर कंकालिनी नगरपालिकाका ४, डाक्नेश्वरी नगरपालिका र तिलाठी कोइलाडी गाउँपालिकाका १÷१ जना पुरुष गरी ६ जना सङ्क्रमित थप भएको अस्पतालले जनाएको छ ।  

यस्तै सिरहाको १७ ओटा स्थानीय तहमा सञ्चालिन विभिन्न क्वारेण्टिनमा २५ महिलासहित ५४१ जना र होम क्वारेण्टिनमा १५ महिलासहित २७६ जना रहेका छन् । सिरहामा २३३ जना सङ्क्रमित पुगेकोमा एक पुरुषको मृत्यु भएको छ । सिरहा अस्पतालमा १२ र महेन्द्र गेनाइ अस्पतालको आइसोलेशनमा सात जना सङ्क्रमित छन् । राजविराजस्थित प्रयोगशालामा आज पुनः सिरहा सुखीपुर नगरपालिकाका आठ जनामा सङ्क्रमित देखिएको अस्पतालले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रासस
रासस

राष्ट्रिय समाचार समिति नेपालकाे  सरकारी समाचार संस्था हाे ।

लेखकबाट थप